Comments Add Comment

बारामा लकडाउन अवज्ञा गर्ने ५ जना पक्राउ

१२ चैत, वीरगञ्ज । बारामा लकडाउनको अवज्ञा गर्ने ५ जना पक्राउ परेका छन् । अवज्ञा गरी चलाइएका ८४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले लकडाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिएको हो ।

लक डाउनको अवज्ञा गरी चलाईएका ८४ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

‘कोभिड-१९ भाइरसको जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाराबाट निषेधाज्ञा जारी भएको छ । औषधी पसल, खाद्यान्न लगायत अति आवश्यक वस्तु बाहेकका अन्य पसल, हाट बजार बन्द गरिएको छ । अनावश्यक काममा मानिस र सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको छ,’ उनले भने, ‘तर कतिपयले अवज्ञा गरेर सवारी साधन चलाउने र नगर्न भनिएका क्रियाकलाप गरेको पाईयो, उनीहरुलाई नियन्त्रणमा लिएका हौं ।’

कतिपय मोटरसाइकल नै कतिपयको साँचो र कागजपत्र नियन्त्रणमा लिएर राखिएको उनले बताए ।

लकडाउनको पहिलो दिन बारामा प्रहरीले ३ वटा ट्रिपर, ९ वटा ट्रक, २० वटा ट्याक्टर, ५ वटा जीप, ६ वटा बोलेरो, २ वटा स्कर्पियो, १ सय ६० वटा मोटरसाईकल गरी जम्मा २ सय ५ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो । सवारी साधनका धनीलाई आवश्यक कारबाही एवं सचेत गराएर बेलुका सवारी फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment