Comments Add Comment

एक हप्तादेखि एक्लै ‘लकडाउन’मा रेखा थापा

चिनमा कोरोनाको संक्रमण सुरु भएसँगै नायिका रेखा थापाको मनमा चिसो पसेको थियो । सिमाना जोडिएको देश भएकाले नेपालमा पनि यो संक्रमण आउन सक्ने डरले गर्दा सावधानी अपनाइरहेकी थिइन् ।

अहिले सरकारले पुर्णरुपमा नेपाललाई ‘लकडउन’ गरेको छ । रेखा भने आफैं केही दिनदेखि लकडाउन थिइन् । उनी भन्छिन्, ‘सरकारले भन्नुभन्दा ३–४ दिन पहिलादेखि नै म लकडाउनमा छु ।’

रेखाले आफ्नो सहयोगीलाई भनेर आफूलाई घरभित्र चाहिने सम्पूर्ण सामानहरु जम्मा गरिसकेकी छिन् । स्वास्थ्यवद्र्धक खानेकुरा उनको फ्रिजमा जम्मा भएका छन् । रेखा भन्छिन्, ‘यस्तो हुन्छ भन्ने थाहा पाएर नै मैले दिदीलाई सामान ल्याउन लगाएको थिएँ । र, उहाँलाई बिदा दिइसकेको थिएँ ।’

रेखा अहिले घरमा एक्लै छिन् । आमा विराटनगर पुगेकाले रेखा एक्लै छिन् । तर, पनि पटक्कै बोर नभएको बताउँछिन् ।

‘हामी कहिल्यै पनि एक्लो छैनौँ । हामीभित्र अर्को व्यक्ति लुकेको हुन्छ । त्यसैसँग मन्थन गरेर बस्न सकिन्छ’, उनी भन्छिन् ।

रेखाले ‘गीता’ पढेकी छिन् । त्यसले उनलाई आफैसँग मन्थन गर्न सिकाएको छ । आफ्नो जीवनको विषयमा चिन्तन र मनन गर्ने अनि प्रकृतिको विषयमा सोच्ने उत्तम समय यही भएको उनी बताउँछिन् ।

रेखाको एउटा बानी पहिल्यैबाट थियो, अत्यावश्यक काम बाहेक घरबाट निनिस्कने । त्यो बानी अहिले काम लागेको उनी बताउँछिन् ।

दिन कसरी बितिरहेको छ उनैलाई पत्तो छैन । बिहान उठेर कोठा सफा गर्छिन् । एकैछिन शारीरिक व्यायाम । अनि खाना बनाएर खायो, भाडा माझ्यो । रेखाको समय यसैमा बितिरहेको छ । उनी भन्छिन्, ‘अहिले आफ्नो लागि आफैँ काम गरिरहेकी छु । काम गर्न थालेपछि त त्यसैमा दिन बितिहाल्छ । कसरी दिन काट्ने भनेर सोच्न परेको छैन ।’

रेखाले सामाजिक संजाल हेर्न भने छोडेकी छैनन् । के समाचार आयो भनेर उनी अपडेट भइरहेकी हुन्छिन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु सेयर गर्छिन् ।

सामाजिक सञ्जालमा आएका भ्रमक समाचारबाट भने रेखाको पारो तातेको छ । यस्तो दुःखको घडीमा पनि मजाक गर्नेहरुसँग उनको चित्तदुखाइ छ ।

‘यसै त सबैको मनोवल कमजोर भइरहेको छ । त्यसमाथि यस्ता समाचारहरुले कतिलाई त्रसित र भ्रमित बनाउँछन्,’ रेखा भन्छिन्, ‘समाचार लेख्नेहरुले पनि अलिकति मानवताको ख्याल गर्नु नि !’

लकडाउनको समयमा बाहिर हिड्नेहरुसँग पनि उनलाई रिस उठेको छ । ‘मान्छेहरु किन बुझ्दैनन् कि यो हामी आफ्नै लागि हो भनेर’, क्रोधित बन्दै भन्छिन्, ‘यो कुनै पार्टी वा संघ-संस्थाले गरेको त होइन नि । आफ्नै स्वास्थ्यलाई ख्याल गरेर घरमा बस्नुस् भन्दा पनि मानिसहरु बाहिर हिँडिरहेका छन् । उनीहरुले कहिले बुझ्लान् खै !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment