Comments Add Comment

अत्यावश्यक सामाग्री भित्र्याउन चीनतर्फको नाका खोल्ने तयारी

१२ चैत, काठमाडौं । सरकारले अत्यावश्यक सामाग्री आपूर्तिका लागि चीनतर्फको नाका खुला गर्न सरकारले गृहकार्य सुरु गरेको छ । हाल नाका बन्द हुँदा स्वास्थ्य, खाद्य वस्तु लगायतका अतिआवश्यक सामाग्रीहरु रोकिएको भन्दै सरकारले नाका खुलाउन तयारी गरिएको हो ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले नाका बन्द हुँदा विशेष गरेर स्वास्थ्य सामाग्रीहरु समेत आउन नपाएको भन्दै खुलाउने तयारी गरिएको बताए । कोरोनाको महामारी फैलिँदै गर्दा यसको रोकथाम र नियन्त्रण गर्ने सामाग्री समेत आउन नपाएका कारण नाका खोल्न खोजिएको दाहालले बताए ।

तर नाका खुला गरे पनि उच्च स्वास्थ्य सतर्कता अपनाएर मालसामाग्रीहरु आयात गरिने उनको भनाइ छ । नाका खुले मास्क, स्यानिटाइजर लगायतका सामाग्रीहरुको समस्या धेरै समाधान हुने उनले बताए ।

अहिले केरुङ नाकामा मात्रै करिब ४ सय कन्टेनर सामान अडि्कएका छन् । नाकामा सामाग्री अडि्कँदा यहाँ अभाव  देखिएको छ । यस्तो समस्या समाधानका लागि सरकारले नाका खोल्ने तयारी गरेको हो ।

नाका खोलेपछि सकेसम्म कम जनशक्ति प्रयोग गर्ने, चीनबाट आएका सामाग्रीहरु केहि दिन क्वारेनटाइनमा राख्ने, डिसइन्फेक्सन गर्ने लगायतका सुरक्षा सतर्कता अपनाएर काठमाडौं ल्याउने सरकारको तयारी छ ।

नाका खुल्नु अगावै सरकारले नाकामा कडा हेल्थ डेक्स स्थापना गर्ने दाहालले बताए । चीनले कोरोना फैलिन थालेपपछि बन्द गरेको नाकापछि नेपाल सरकारले घोषणा नै गरेर नाका बन्द गरेको थियो ।

नाका खुलाउने विषयमा विभागले छलफल गरी रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वको कोभिड-१९ रोकथाम समितिमा प्रस्ताव समेत गरिसकेको छ । समितिले खुलाउने निर्णय गरे नाका सञ्चालनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment