Comments Add Comment

होम क्वारेन्टाइनमा धुर्मुस : रंगशालाको झझल्को, मजदुरको चिन्ता

१२ चैत, काठमाडौं । ६ वर्ष भएको थियो सिताराम कट्टेल धुर्मुसले ढुक्कसित परिवारसँग समय बिताउन नपाएको । सामाजिक कार्यको व्यस्तताले गर्दा घर बसेर छोरी खेलाउने अवसर गुमाएको भनेर उनी आफैंले भन्दै आएका छन् । अहिले त्यस्तो दुर्लभ ‘अवसर’ आएको छ ।

यतिबेला परिवारसँगै छन् धुर्मुस । कुसुन्तीमा रहेको घरको कम्पाउन्डबाट उनी बाहिर ननिस्केको ३ दिन भयो । चितवनबाट आइतबार राति ११ बजे काठमाडौं फर्किएका उनी त्यसयता ‘होम क्वारेन्टाइन’ मा बसेका हुन् । सरकारले हिजोबाट देशव्यापी ‘लकडाउन’ घोषणा गरेपछि त झन् बाहिर निस्कने कुरै आएन ।

तर, परिवारसँग भए पनि ढुक्कले, आनन्दले रमाउँदै बस्ने अवस्था भने नरहेको धुर्मुस बताउँछन् । कोरोनाको प्रकोप बढ्यो भने होला भन्ने त्राश र चिन्ता अरु नेपालीजस्तै उनमा पनि छ ।

‘यतिबेला हामी सबैले धैर्यधारण गर्नुपर्ने अवस्था छ,’ धुर्मुस भन्छन्, ‘अहिले केही कष्ट सहेर घरभित्रै बस्यौं भने आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सक्छौं ।’

धुर्मुस र उनकी पत्नी कुञ्जना घिमिरे (सुन्तली) का दुई परिवार अहिले सँगै लकडाउनमा बसेका छन् । धुर्मुसका आमा–बुवा, दुई भाइ, एक बहिनी र छोरी छन् भने सुन्तलीका आमा–बुवा, भाइ, दिदी–भिनाजु पनि त्यहीँ छन् । यसरी १३ जनाको एउटै छानोमुनि बस्दा एक–अर्कालाई आडभरोसा हुनुका साथै समय व्यतित गर्न पनि सजिलो भएको धुर्मुस बताउँछन् ।

‘कोरोनाको त्राश र कोलाहलको समय भएकाले सबैजना सँगै बसौं भन्ने सल्लाह भएको हो,’ उनले भने, ‘धेरै जना सँगै बस्दा डर र चिन्ता कम हुन्छ भने समय बिताउन पनि सजिलो हुन्छ ।’

धुर्मुसको घरभित्र अहिले दिनभर थरिथरि क्रियाकलाप हुन्छन् । कहिले टिभीमा फिल्म हेर्ने, कहिले लुँडो खेल्ने, कहिले योगा–ध्यान गर्ने आदि । फिल्म हेर्दा सबैजना एकसाथ हुन्छन् । खेलहरु चाहिँ आ–आफ्नो रुचीअनुसार खेलिन्छ ।

‘हिजो यूट्यूवमा झोला हेरेका थियौं, आज चाहिँ पशुपतिप्रसाद हे¥यौं,’ धुर्मुसले सुनाए, ‘फिल्म सकिएर कोठाबाहिर निस्कँदा त हल छुटेजस्तै हुन्छ ।’

लक डाउनको पहिलो दिन त घरभित्रै सचेतना दोहोरी गीत खेलिएको थियो । एउटा समुहको नेतृत्व धुर्मुसले र अर्को समुहको नेतृत्व सुन्तलीले गरेका थिए । यसरी दोहोरी खेलेको भिडियो उनीहरुले सामाजिक सञ्जालमा पनि हालेका छन् । मनोरञ्जनात्मक तवरले कोरोनाविरुद्ध सचेतना जगाउन यस्तो गरेको धुर्मुसले बताए । उनीहरुले ‘जाइफुलको बासना, सबैजना क्वारेन्टाइनमा बसौंन’ भन्दै दोहोरी गाएका थिए ।

धुर्मुसको घरभित्र कोरनाबाट बच्न कडा अनुशासन कायम गरिएको छ । यसको नियमन र नियन्त्रण सुन्तलीले गर्छिन् । उनले घरबाट कोही पनि बाहिर ननिस्किन फर्मान जारी गर्दै मुलगेटमै ताल्चा ठोकिदिएकी छन् । सावुन–पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने कुराहरुलाई पनि उनले कडाइका साथ पालना गराएकी छन् ।

‘अहिले त ५ वर्षकी छोरीले पनि सबै कुरा जानिसकिन्, कहिलेकाहीँ मलाई नै सिकाउन खोज्छिन्,’ धुर्मुसले सुनाए ।

चितवनमा रंगशाला निर्माणमा व्यस्त हुँदा धुर्मुसको विहान ५ बजे उठ्ने सेड्यूल हुन्थ्यो । अहिले त्यो सेड्यूल बिथोलिएको छ । हिजो ५ बजे ब्यूँझिए पनि उनी ९ बजेसम्म मोबाइल हेर्दै ओछ्यानमै गुडुल्किए । आज चाहिँ उनले ७ बजे सबै परिवारका सदस्यलाई भेला पारेर योगा गराए । यसलाई हरेक विहान निरन्तरता दिने उनको योजना छ ।

घरभित्र बस्दा–बस्दा दिक्क लाग्यो भने छतमा उक्लिन्छन् धुर्मुस । यसो वरिपरीको वातावरण र परिवेश नियाल्छन् । सबैतिर मुर्दाशान्ति जस्तो देखिन्छ । मन खिन्न पार्दैै तल झर्छन् ।

रंगशालाको झझल्को

केही समयदेखि धुर्मुसको दिनचर्या चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालामा नै बित्दै आएको थियो । बिहानदेखि रातिसम्म उनी निर्माणस्थलमै खटिएका हुन्थे । एकाएक यसरी निस्क्रिय बस्दा उनलाई बेचैनी पनि भइरहेको छ ।

‘हामीले अस्ति शनिबारसम्म निर्माण कार्य जारी राखेका थियौं । निर्माणस्थल कोरनाबाट सुरक्षित राख्न विभिन्न सावधानीहरु अपनाएका थियौं । केही दिनदेखि बाहिरबाट आगन्तुकहरुलाई प्रवेश गराउन बन्द गरिएको थियो । तर, त्राश बढ्दै गयो र सरकारले पनि २५ जनाभन्दा बढि भेला नहुनु भन्यो । त्यसपछि काम रोक्ने निर्णय लिएका हौं,’ धर्मुसले भने ।

रंगशाला निर्माणस्थलमा ३ सय जनाभन्दा बढि कार्यरत थिए । निर्माणको काम युद्धस्तरमा अगाडि बढिरहेको थियो । प्याराफिटको जग खन्ने काम ९० प्रतिशत सकिएको थियो भने र पिल्लरको पिसीसी ढलान ७० प्रतिशत सम्पन्न भएर जाली बुन्ने काम धमाधम चलिरहेको थियो । अब पिल्लर उठाउने तयारी थियो । यो हप्ताबाट दोहोरो सिफ्टमा काम गर्ने निर्णय गरिएको थियो । तर, २ दिनपछि काम स्थगित भयो । आइतबार सबै कर्मचारी–मजदुरलाई बिदा गरेर उनी काठमाडौं फर्के ।

‘यहाँ आइसकेपछि रंगशालाकै झल्को आइरहेको छ । एक मनले सोच्दा त काठमाडौंभन्दा त्यहीँ सुरक्षित थियो । संक्रमणको डर त बरु यहाँ पो छ,’ उनी भन्छन् ।

धुर्मुसलाई लकडाउनमा ज्यालादारी मजदुरहरुको चिन्ता छ । दैनिक कमाएर खानुपर्नेहरुले यो लकडाउन अवधिमा कसरी गुजारा गर्लान् भन्ने प्रश्नले उनको मनमा डेरा जमाइरहेको छ । उनीहरुलाई कुनै न कुनै तवरबाट सरकारले संरक्षण दिनुपर्ने धुर्मुस बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment