Comments Add Comment
स्थलगत रिपोर्ट :

कोरोना जाँच्न पाटन अस्पताल जाँदा के हुन्छ ?

१२ चैत, काठमाडौं । बुधबार अपरान्ह ललितपुरस्थित पाटन अस्पतालमा पुगेर हामीले दुई घण्टा बितायौं । यहाँ भर्खरै बनेको नयाँ भवनलाई कोरोना विशेष उपचार केन्द्रका रुपमा छुट्याइएको छ ।

हामी साँझ ५ बजेसम्म बस्दा त्यहाँ एकैजना पनि कोरोना आशंकित बिरामी आएनन् । टेकु अस्पतालमा मात्रै कोरोनाको उपचार हुने सुनेकाले प्रायः मानिसहरु उतै जाने गरेको चिकित्सकले बताए ।

बुधबार बिहान चाहिँ दुईजना बिरामी पाटनमा कोरोना जाँच्न पुगेका रहेछन् । चिकित्सकका अनुसार बिहानै एक व्यक्ति ज्वरो आएको भन्दै अस्पतालमा पुगेका थिए । उनी एक साताअघि अष्ट्रेलियाबाट काठमाडौं आएका थिए । मंगलबारदेखि ज्वरो आएपछि बुधबार बिहानै पाटन अस्पताल पुगिहाले ।

अर्का व्यक्तिचाहिँ काठमाडौंमै बस्ने हुन् । रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशंकामा उनी परीक्षणका लागि पाटन पुगेका रहेछन् ।

चिकित्सकका अनुसार उनीहरु दुबैको नमूना परीक्षणका लागि रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । र, उनीहरुलाई बेडमा भर्ना लिइएको छ । उनीहरुलाई आइसोलेसनमा भने राखिएको छैन । एक चिकित्सकले भने, ‘कोरोना पुष्टि नभएसम्म हामी भुइँ तल्लामा राख्छौं, अहिलेसम्म रिपोर्ट आएको छैन ।’

बुधबार दिनभरिमा उनीहरु २ जना बाहेक अन्य व्यक्तिहरु भने कोरोना परीक्षण गराउन पाटन अस्पतालमा पुगेनन् । यसको विपरीत टेकु अस्पतालमा भने स्वास्थ्य परीक्षण गराउन जानेहरुको संख्या बढ्दो छ ।

निजी अस्पतालहरुले कोरोना आशंका भएका बिरामीहरुलाई उपचारसमेत गराउन इन्कार गरेको गुनासो बिरामीहरुले गर्दै आएका छन् । जसको प्रभाव शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा घुइँचो बढेको हो । भर्ना हुनैपर्नेजस्तो देखिएका बिरामीलाई बेडको अभावका कारण टेकु अस्पतालले भर्ना गर्न सकेको छैन । तर पाटनमा पनि जाँदा हुन्छ भन्ने बिरामीहरुमा सूचना पुगेको देखिएन ।

यस्तो छ पाटनको तयारी

कोरोनाको आशंका भएका बिरामीलाई चेकजाँच गराउनका लागि पाटन अस्पतालको नयाँ भवन तयारी अवस्थामा राखिएको छ । ज्वरो, रुघाखोकी साथै स्वास-प्रस्वास (कोरोना भाइरस) लगायतका समस्या आएका बिरामीहरुलाई उपचार गर्नका लागि भनेर नयाँ भवन अस्पतालले छुट्याएको छ ।

भवन चार तल्लाको छ ।

भुई तल्लाको प्रमुख प्रवेशद्वारमा ३ जना चिकित्सक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर हातमा थर्ममिटर (तापक्रम नाप्ने यन्त्र) लिएर बसेका छन् । अगाडिको टेवलमा  हृयाण्ड स्यानिटाइजर राखिएको छ । भवन बाहिर सुरक्षाकर्मी खटिएका छन् । बिरामी आउँदा उनले परैबाट भित्र पस्न सुझाउँछन् ।

अस्पतालको मुख्य द्वारमा ४ वटा धारा छन् । हात धुनका लागि साबुन पनि राखिएको छ । अस्पताल प्रवेश गर्नेहरुलाई सुरक्षा गार्डहरुले सावुन पानीले हात धुन सुझाउँछन् । संक्रमणबाट जोगिन डिस-इन्फेक्सन स्प्रे पनि बेलाबेलामा अस्पताल वरिपरि छर्कने गरिएको छ ।

हामी अस्पताल पुग्दा पनि अस्पतालका कर्मचारी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर स्प्रे गरिरहेका थिए ।

अस्पतालले दिएको जानकारी अनुसार कोही आशंका गरिएका व्यक्ति आए ज्वरो नापजाँच गरेर भुइँ तल्लामा राखिन्छ । उनीहरुको नमूना परीक्षणका लागि टेकु अस्पताल पठाइन्छ । संक्रमण पुष्टि भए भवनको माथिल्लो तलामा आइसोलेसन बेड तयारी अवस्थामा छ ।

‘पहिलो, दोस्रो र तेस्रो तीनै तल्लामा आइसोलेसन बेड हुन्छन्’ त्यहाँ भेटिएका एक चिकित्सकले भने, ‘अहिले पहिलो र दोस्रोमा गरी ३० वटा बेड तयारी अवस्थामा छन्, माथिल्लो तलामा पनि प्रशासनले बेड व्यवस्थापन गरिरहेको छ ।’

अहिले तत्कालै ३० जनासम्म संक्रमित आइहाले आइसोलेसनमा राखेर उपचार गर्न सकिने उनले बताए ।

टेकु नगए पनि हुन्छ त ?

हालसम्म कोरोनाको ल्याब परीक्षण रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्छ, जसका कारण कोरोनाको आशंकामा परीक्षण गराउन सबै टेकु नै पुग्छन् ।

तर कोरोना जाँच्नका लागि हरेक बिरामीले टेकु अस्पतालमै पुग्नुपर्छ भन्ने छैन । बिजोग अवस्थामा टेकु पुग्नुभन्दा पाटनमै गए पनि उपचार हुने चिकित्सकको भनाइ छ । पाटन भर्ना भएको बिरामीको पनि रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै पठाइने हो ।

कमसेकम पाटन अस्पतालको बेडमा भीडभाड कम छ र नयाँ भवन भएकाले राम्रो पनि देखिन्छ । अस्पतालको भौतिक तयारी पनि राम्रै देखिएको छ । यद्यपि कोरोनाको शंका लागेका बिरामीहरुमा टेकु नै जानुपर्छ भन्ने मानसिकताका कारण पाटनका बेडहरु लगभग खाली अवस्थामा रहेको चिकित्सकले बताए ।

तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment