Comments Add Comment

इन्डक्सन प्रयोग बढाउन विद्युत र भन्सार महसूलमा छूट दिइने

१२ चैत, काठमाडौं । सरकारले इन्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्न भन्दै विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने भएको छ । कोरोना रोकथाम उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

अभाव चर्किएपछि अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ । त्यसलाई हटाउने गरी सरकारले विद्युत महसूल र भन्सार महसूल छूट दिने निित लिन लागेको हो ।
ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय पनि गरिएको छ ।

यसै गरी औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय पनि भएको छ । यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने छैनन् ।

औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जाने सवारी साधनका लागि आवश्यक अनुमति दिइने भएको छ ।

स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय पनि सरकारले गरेको छ ।

अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment