Comments Add Comment

कसरी बन्यो इरानको अवस्था नाजुक ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर सबैभन्दा धेरै परेको मुलुक मध्येको एक हो– इरान ।

अहिलेसम्म इरानमा २७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । साथै दुई हजारभन्दा बढी मानिसको ज्यान यही भाइरसका कारण गइसकेको छ ।

तर इरान सरकारमाथि कोरोना भाइरसबाट प्रभावित हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लागेको छ ।

१९ फेब्रुअरीमा सरकारले गरेको पहिलो घोषणामा सरकारले मानिसहरुलाई कोरोना भाइरसबाट डराउनुपर्ने केही कारण नभएको बताएको थियो । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इरानका दुश्मनले यसको खतरा बढाइचढाइ गरेर देखाएको बताएका थिए ।

एक सातापछि इरानमा संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्न थाल्यो । त्यतिबेला पनि खामेनीले आफ्नो अभिव्यक्ति दोहोर्‍याए । उनले यो इरानलाई अघि बढ्न नदिन गरिएको षडयन्त्र भएको भन्दै मानिसहरुलाई सामान्य जनजीवन कायम राख्न आग्रह गरेका थिए ।

तीव्र गतिमा फैलिँदै भाइरस

केवल १६ दिनमा इरानमा कोभिड–१९ सबै ३१ प्रान्तमा फैलिएको थियो । साथै इराक, पाकिस्तान, यूएई, कुबेत, कतारजस्ता १६ देशले इरानको माध्यमबाट आफ्नो मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार इरानको जनसंख्या सन् २०१६ मा ८ करोड २ लाख ७७ हजार थियो ।

सन् २०१४ मा उसले आफ्नो जीडीपीको ६ दशमलव ९ प्रतिशत स्वास्थ्यका लागि खर्च गरेको थियो । तर अहिले इरान कोरोना भाइरसको खतराबाट पार पाउन संघर्ष गरिरहेको छ । उसले अमेरिकाले गरेको सहयोगको प्रस्ताव पनि अस्वीकार गरेको छ ।

खामेनीले अमेरिकाप्रति भरोसा गर्न नसकिने भन्दै यो सहयोगको प्रस्ताव अस्वीकार गरेका थिए । इरानले अमेरिकाको सहयोग अस्वीकार गर्दा सरकारले आफ्ना नागरिकलाई कतै नजान निर्देशन दिए पनि मानिसहरु पर्सियन नयाँ वर्ष मनाइरहेका थिए । स्वास्थ्य मन्त्रालयले मानिसहरुलाई कुनै पनि यात्रामा नजान अनुरोध गरेको थियो ।

तर सरकारको अनुरोध बेवास्ता गर्दै धेरै मानिसहरु सडकमा निस्किएका थिए । सामाजिक सञ्जालमा तेहरानको मुख्य सडकमा ट्राफिक जाम भएको तस्वीर शेयर गरिएको थियो ।

इरानको कदम

भाइरसबाट बच्न इरानका राष्ट्रपति हसन रौहानीले मुलुकभरका शपिङ सेन्टर र बजार १५ दिन बन्द गर्ने आदेश दिएका थिए ।

अत्यावश्यक वस्तुमा मात्र छूट दिइएको थियो । साथै इरानले धेरै मानिसको भेला हुने धार्मिक स्थलमा पनि प्रतिबन्ध लगाइएको छ । तर सरकारले सबैभन्दा धेरै भाइरस फैलिने खतरा रहेको भन्दै चेतावनी दिएको धार्मिक स्थलमा पनि मानिसहरु जाने क्रम रोकिएन ।

सरकारले विद्यालय, विश्वविद्यालय र धार्मिक स्थल बन्द गरे पनि पूर्णरुपमा लकडाउन भने अझै पनि गरेको छैन ।

रौहानीले यो भाइरसको संकटबाट राहत प्रदान गर्न ३० लाख गरीबलाई आर्थिक सहायताको घोषणा गरेका छन् । साथै ४० लाख मानिसलाई कम ब्याजदरमा ऋण दिने घोषणा गरेका छन् ।

के गर्नुपथ्र्यो ?

सरकारका आलोचकहरु इरानमा कोरोना भाइरस आउनुभन्दा पहिला नै कडा कदम नउठाएको बताइरहेका छन् ।

इरानका विदेशमन्त्रीले अमेरिकाको प्रतिबन्धको कारण स्वास्थ्य क्षेत्रमा नराम्रो असर परेको बताउँदै आएका छन् । तर, अमेरिकाले भने मानवीय जरुरतको सामग्रीमा छूट दिएको दाबी गर्दै आएको छ ।

इरानका अनुसार अमेरिकाको प्रतिबन्धको जोखिम मोल्न कसैले नचाहने भएकाले स्थानीय कम्पनीहरुले आर्थिक कारोबार गर्न सकिरहेका छैनन् । इरानले अब ५ अर्ब डलर आपतकालीन सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग छलफल गर्ने भएको छ ।

इरानसँग पर्याप्त मेडिकल उपकरण छ ?

डब्ल्यूएचओले इरानका स्वास्थ्यकर्मीका लागि डाइग्नोस्टिक किट र सुरक्षा उपकरणहरु पठाएको थियो । जसमा ७ दशमलव ५ टन मेडिकल सामग्रीहरु थिए । डब्ल्यूएचओको एक टोलीले हालै इरानको भ्रमणपछि परीक्षण र अन्य केही क्षेत्रमा सुधार आएको बताएको थियो । तर, थप कदम चाल्न आवश्यक रहेको टोलीको निष्कर्ष थियो ।

अन्य मुलुकमा जस्तै इरानमा पनि मानिसहरु मास्क र स्यानिटाइजरजस्ता सामग्री किन्न मानिसहरु लाइनमा देखिने गरेका छन् । जहाँ यस्ता सामग्री पाइन्छन्, त्यहाँ पनि यी सामग्रीको मूल्य १० गुणा बढेको छ । सामाजिक सञ्जालमा गरिएको दाबी अनुसार सरकारले यसअघि नै चीनलाई लाखौं मास्क दिएकाले अहिले इरानमा मास्कको अभाव भएको हो ।

यसअघि चिनियाँ कम्पनीले इरानबाट मास्क खरिद गरेको समाचार आएको थियो । इरानको सरकारले आगामी तीन महिनाको लागि मास्क निर्यातमा रोक लगाइएको छ । साथै उत्पादकहरुलाई पनि मास्कको उत्पादन बढाउन निर्देशन दिइएको छ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment