Comments Add Comment

निजी अस्पताललाई ८ सय बेड तयार गर्न मन्त्रीको निर्देशन

१३ चैत, विराटनगर । प्रदेश १ मा थप ८ सय आइसोलेसन शय्या तयार गर्न प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालहरुलाई निर्देशन दिएका छन् ।

बिहीबारको छलफलपछि मन्त्री घिमिरेले कोशी अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीएण्डसी मेडिकल कलेज र मेची अस्पताललाई निर्देशन दिएका हुन् ।

कोरोना संक्रमितको उपचारका लागि निजी अस्पतालहरुले चासो देखाएका छैनन् । बिहीबार नोबेल मेडिकल कलेजमा दुई सय, विराट मेडिकल कलेजमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय, कोशी अस्पतालमा एक सय, मेची अस्पतालमा ५० र बिएमसी अस्पताललाई १५० शय्या तयार गर्न मन्त्रीले निर्देशन दिएका हुन् ।

‘सुरुमा २८ शय्याले पुग्छ जस्तो थियो’ मन्त्री घिमिरले भने ‘संक्रमित संख्या २ पुग्दा ५० बेडको अस्पताल बनाउन तिब्रता दियौं, तेस्रो विरामी भेटिदा पूर्वतयारी अपनाउनुपर्ने देखियो ।’
सम्भावित जोखिमलाई ध्यानमा राखेर अस्पतालहरुलाई सर्कुलेसन जारी गरेको उनले बताए ।

निजी अस्पताल पनि ऐन कानुन अनुसार चलेका कारण सरकारको निर्णय मान्नुपर्ने उनको भनाइ छ । ‘हामी भोलिदेखि अस्पतालहरुको अनुगमन गर्छाैं’ उनले भने ‘यो उहाँहरुको परीक्षा पनि हो । अटेर गरे कानुनअनुसार अघि बढ्छौं ।’

प्रदेशमा १३ सय ३१ शय्या तयार

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश १ मा एक हजार ३ सय ३१ शय्याको क्वारेन्टाइन तयार भएको छ । प्रदेश १ को ५१ स्थानमा क्वारेन्टाइन तयार भएको हो ।

सो क्वारेन्टाइनमा जम्मा दुई सय २७ जना बसिरहेका छन् । तीमध्ये दुई सय पुरुष र २७ महिला क्वारेन्टाइनमा बसेका हुन् । होम क्वारेन्टाइनमा पनि दुई सयजना छन् । प्रदेशमा ३६ स्थानमा दुई सय ३२ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment