Comments Add Comment

आइतबारदेखि कोटा तोकेर दुध संकलन गरिने

१४ चैत, काठमाडौं । केही दिनदेखि ठप्प रहेको दुध संकलन कार्य आइतबारदेखि फेरि सुरु गर्ने तयारी भएको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले मौज्दातमा रहेको दुध सकिँदै गएपछि दुधको आंशिक संकलन सुरु गर्ने योजना बनाएको हो ।

डीडीसीले शुक्रबार मात्रै ७२ हजार नौ सय ८० लिटर दुध बजारमा पठाएको छ । संस्थान अन्तर्गत बालाजु दुग्ध वितरण केन्द्रमा कार्यरत सानुभाइ थापाका अनुसार डीडीसीमा दुधको माग घटे पनि निराशाजनक अवस्था छैन । होटल र स्कुलहरुमा जाने करिब पाँच हजार लिटर दुधको माग मात्रै कम भएको उनले बताए ।

डीडीसीले केही दिनदेखि किसानसँग दुध संकलन गरेको छैन । यसअघि ल्याएको दुध नै मौज्दातमा बसेपछि डीडीसीलाई दुध संकलन रोक्नुपर्ने अवस्था आएको थियो ।

काठमाडौंमा डीडीसीले वितरण गर्ने दुध भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा चितवनलगायतका क्षेत्रबाट संकलन गरिनेछ । डीडीसीका अन्य वितरण आयोजनामा बढी भएको दुध पनि काठमाडौंमा नै ल्याउने तयारी संस्थानको छ ।

तर, माग घटेपछि डीडीसीले मौज्दातमा रहेको दुध नै प्रशोधन गरेर बजारमा पठाइरहेको थापाले बताए । ‘मौज्दात दुध लगभग सकियो, अब भोलि चिसे (चिस्यान केन्द्र) हरुमा रहेको दुध उठाउँछौं,’ उनले भने,‘आइतबारबाट आंशिक रुपमा किसानबाट दुधको संकलन थाल्छौं ।’

उनले कहाँबाट कति दुध संकलन गर्ने भनेर कोटा निर्धारण गर्ने बताए । निजी डेरीले लैजाने दुध पनि संकलन गर्न सक्ने अवस्था नरहेको भन्दै थापाले कोटा तोकेर अधिकतम दुध संकलन गरिने जानकारी दिए ।

डीडीसीसँग अहिले विराटनगरमा मात्रै पाउडर प्लान्ट छ । तर, सानो क्षमताको भएकाले देशभरको खेर जाने दुधलाई पाउडर बनाउन यो प्लान्ट सक्षम छैन ।

दुग्ध उत्पादक किसानहरुलाई दुध नबिक्दा समस्या परेको छ । निजी डेरीहरुले पनि दुध लिन बन्द गरेपछि अधिकांश दुध सहकारीले संकलन कार्यलाई स्थगित गरेका छन् । अहिले उपभोक्तालाई दुध किन्न घरबाट बाहिर निस्कन समस्या छ भने किसानलाई बेच्न जान पनि ।

लकडाउनपछि उत्पन्न अवस्थाका कारण उत्पादन गरिएको दुध घरमै खाएर सक्नुपर्ने अवस्था आएको छ । जसका कारण कतिपय किसानले सडकमै दुध पोख्न थालेका छन् । उनीहरुले दुध बजारसम्म लैजाने र उपभोक्ताले सुरक्षित रुपमा किन्ने वातावरण बनाउन माग समेत गरेका छन् ।

सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिए पनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । किसानले दुध उत्पादन गरे पनि अधिकांश डेरी र अन्य पसल बन्द हुँदा वितरणमा समस्या परेको किसानहरुको भनाइ छ ।

व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे दुग्ध संकलन केन्द्रले दुध नै नलिँदा समस्या परेको बताउँछन् । चोकर दाना पनि पाउन छाडिएपछि चौपायालाई समेत बचाउन गाह्रो परिरहेको उनको गुनासो छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले दुधको संकलन र वितरणलाई व्यवस्थापन गर्ने विषय अहिले निकै गम्भीर चिन्ताजनक रहेको बताउँछन् ।

‘उपभोक्ता नै घरबाहिर आउँदैनन् । सरकारले राम्रो व्यवस्थापन गर्न सकेको छैन’ उनले भने । काठमाडौंका निजी डेरीलाई दुध लिन आग्रह गरे पनि दुध लिन नआएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment