Comments Add Comment

एभरेष्ट लिंकद्वारा सगरमाथा क्षेत्रमा निःशुल्क इन्टरनेट वितरण

१४ चैत, काठमाडौं । हिमाली तथा दुर्गम भेगमा इन्टरनेट सेवा दिँदै आएको निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी एभरेष्ट लिंकले नि:शुल्क सेवा वितरण गरेको छ ।

सगरमाथा क्षेत्रको लुक्ला, फाक्दिङ, मन्जो, नाम्चेबजार, खुम्जुङ, थामे, खुन्दे, पाङबोचे, दिङबोचे, फेरिचे, लोबुचे, गोरक्सेप, गोक्यो क्षेत्र र मेरा पिक क्षेत्रमा यही मार्च २० तारिखदेखि निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालिएको हो ।

विश्वव्यापी महामारी कोरना भाइरसका कारण हिमाली भेगमा फसेका पर्यटकहरुले र स्थानीयबासीहरुलाई सम्पर्क गर्न सजिलो होस् भनेर यस वसन्त ऋतुभरी पिएम इन्टरनेट सेवा वितरण गर्ने एभरेष्ट लिंकका कार्यकारी अधिकृत छिरीङ ग्याल्जेन शेर्पाले बताए ।

‘सगरमाथा क्षेत्र, लाङटाङ, मुस्ताङ क्षेत्रमा कोभिड-१९ को नियन्त्रणका लागि गरिएको लकडाउनका कारण फसेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई र स्थानीयवासीहरुलाई परिवार, साथीभाइ, आफन्तलाई सम्पर्क गर्न सजिलो होस् भनेर हामीले निःशुल्क इन्टरनेट सेवा दिएका हौं’, शेर्पाले भने ।

यस असहज स्थितिमा पदयात्रामा गएका पर्यटकहरुलाई कम्पनीले नि:शुल्क इन्टरनेट सेवा प्रदान गर्दा उनीहरुको घर परिवारसँग सम्पर्क गर्न सहज भएको छ । यही चैत ११ गतेदेखि कोरोनाभाइरसविरुद्धको लकडाउनका कारण सगरमाथा क्षेत्रमा करिब तीनसय पर्यटकहरु अलपत्र परेका थिए । त्यसैगरी लाङटाङ क्षेत्र र मुस्ताङ क्षेत्रमा पनि पर्यटकहरु अलपत्र परेका थिए ।

एभरेष्ट लिंकले उच्च हिमाली भेग र विकट हिमाली गाउँ जाने पदयात्रीहरु र हिमाल आरोहण गर्न जानेहरुलाई लक्षित गरेर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस पर्यटकीय सिजनमा पदयात्रा तथा पर्वतारोहण स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment