Comments Add Comment

लकडाउनमा बसेका विद्यार्थीलाई शिक्षाविद् विद्यानाथ कोइरालाको सुझाव

१४ चैत, काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन लकडाउनमा बसेका विद्यार्थीमा समय कसरी बिताउने भन्ने चिन्ता देखिन्छ । शैक्षिकसत्र प्रभावित हुने पिरलो त छँदैछ ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भने कोरोना महामारीले निम्त्याएको यो लकडाउनलाई बढीभन्दा बढी सिर्जनशील काममा लगाउन सकिने बताउँछन् । शैक्षिकसत्रमा असर नपर्ने गरी व्यवहारिक ज्ञान, अनुसन्धानमूलक पढाई गर्नुपर्ने उनको सुझाव छ ।

प्रस्तुत छ, डा. कोइरालासँग अनलाइनखबरले गरेको वार्ताको सम्पादित अंशः

लकडाउनका बेला विद्यार्थीको समय कसरी उपयोगी बनाउन सकिन्छ भन्ने कुरा आफ्नै अनुभवबाट सुरु गर्न चाहन्छु । कक्षा ४ मा पढ्ने नातिले लकडाउनका बेला आफ्नी आमाबाट भेज मःमः पकौडा र चना चटपटे बनाउन सिके । यो घरको काम भयो ।

विद्यार्थीलाई व्यवहारिक ज्ञान कसरी सिकाउन सकिन्छ भन्ने अर्को उदाहरण हेरौं । यसअघि नातिलाई बालुवा कसरी बन्छ भन्ने सैद्धान्तिक कुरा सिकाएको थिएँ । लकडाउनका बेला ढुंगा ल्याएर घोट्न लगाएँ । ढुंगा घोटेपछि बालुवा बन्यो । ढुंगालाई पानी, हावा, मान्छेले घोट्दा वा ढुंगा–ढुंगा ठोक्किदा बालुवा बन्दो रहेछ भन्ने कुरा सजिलै बुझाउन सकेँ ।

बेलायतमा पनि लकडाउन छ । मेरा दुईवटी नातिनीहरू त्यहाँ बस्छन् । एउटा कक्षा ६ र अर्की कक्षा ८ मा पढ्छिन् । कक्षा ६ मा पढ्ने नातिनीको बिहान उठेदेखि साँझ साढे तीन बजेसम्मको कार्यतालिका विद्यालयले नै बनाइदिएको छ ।

माइक्रोसफ्टले घरमा बसेका विद्यार्थीलाई अनलाइनमार्फत पढाउने गरेको रहेछ । यी दुबै उपाय अपनाउन हामीलाई पनि कुनै गाह्रो छैन । उदाहरणका लागि मिदासको एपमार्फत अनलाइन पढाउन सकिन्छ । सामुदायिक विद्यालयहरूले त तालिका बनाएर पढाउन सम्भव छ भने निजीले नसक्ने कुरै भएन ।

उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई पनि अनुसन्धानमा लगाउन सकिन्छ । जस्तो संखुवासभा गएका विद्यार्थीलाई मुन्धुमको विषयमा व्यवहारिक ज्ञान लिएर आउनुस् भनौं । सन्दर्भ सामग्रीका रुपमा इमानसिंह चेम्जोङ, वैरागी काइँलाको पुस्तक पढेर आउनुस् भन्न सकिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपानको विषयमा सिकाउन सकिन्छ । यस्तो कुरा सिक्ने÷सिकाउने यो भन्दा राम्रो अवसर कहिले आउला ?

कतिपयलाई लकडाउनका बेला पनि सम्भव छ र ? भन्ने लाग्ला । तर, मेरो विचारमा सम्भव छ, गर्नैपर्छ । किनभने, हामीले थोरै विचार पु¥याउँदा शैक्षिक सत्रमा असर पर्दैन । लकडाउनमा बसेका विद्यार्थीको समय पनि पुरै सिर्जनशील काममा बित्छ ।

मोवाइल, टीभीमा झुण्डियो, फेसबुक चलायो भनेर कचकच गरिराखेका हुन्छौं । तर, त्यही मोबाइल र फेसबुक उपयोग गरेर विद्यार्थीको समय उपयोगी बनाउन सकिन्छ । रेडियो, टेलिभिजन, अनलाइनमार्फत कार्यक्रम बनाएर लकडाउनमा पढाउन सकिन्छ ।

कोरोना भाइरसको असर सकिएपछि विद्यालय आउँदा विदामा सिकेका कुरा शेयर गर्न एक हप्ताको कार्यक्रम राख्न सकिन्छ । उनीहरूलाई मोटामोटी चार समूहमा विभाजन गर्न सकिन्छ । जस्तो– सञ्चारको सुविधा नभएको, रेडियो मात्रै पहुँच भएको, टेलिभिजन पनि भएको र अनलाइन लगायत सबै सञ्चार सुविधा भएका ।

बाहिरी सञ्चारको सुविधा नभएकाहरू घरपरिवार, करेसामा के–के गरे, के के देखे भन्ने राम्रोसँग वर्णन गर्न सक्छन् । उनीहरू बाहिरी संसारभन्दा बढी आफ्नै बाजेबराजुको विषयमा जानकार भएर आएको हुन सक्छन् । सञ्चार सुविधामा हुँदा र नहुँदाको अन्तर बुझाउन यो निकै राम्रो अवसर हो ।

बेलुकी सल्लाह गर्ने घर थितिको, विहान सल्लाह गर्ने बेथितिको भन्ने चलनै छ । हामीले पुर्व तयारी गरेनौं । कोरोनाले हामीलाई म आउँदैछु है भनेको दुई महिनाभन्दा बढी भइसक्यो ।

अझै पनि सरकार, विश्वविद्यालय, शैक्षिक संस्थाहरूले चाहने ढिलै भए पनि यो काम गर्न सक्छौं । आखिर राम्रो काम गरेर देखाउने संकटकै बेलामा त हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment