Comments Add Comment

कोरोनासँगै अफवाहले पिरोल्ला है तपाईंका बालबच्चालाई

१४, चैत, काठमाडौं । स्युचाटारका शिवम राजभण्डारी आठ वर्षका भए । घरमै इन्टरनेट छ, त्यसमाथि लामो बिदा पनि । उनलाई के चाहियो र ? निरन्तर फेसबुक र युट्युबमा झुन्डिन्छन् ।

उनले हालसालै फेसबुकमा एउटा पोस्ट देखे कि नोबेल कोरोना भाइरसले नेपालीहरूलाई असर गर्दैन । किनकी उनीहरूको रोग प्रतिरक्षा शक्ति सबैभन्दा बलियो हुन्छ । फेसबुक चलाउने क्रममा शिवमको ध्यान सोही पोस्टतिर गयो र त्यसबाट प्रभावित भई सङ्क्रमणको रोकथामका उपायहरू अनुशरण गर्नमा उनले लापरवाही देखाए ।

तर, उनमा राम्रो बानी के छ भने उनी सामाजिक सञ्जालमा देखिएका कुराहरू आफ्नो परिवारमा, विशेषतः आमाबाबुलाई सुनाउँछन् । उनले आफ्नी आमालाई सोधे, ‘के यो सत्य हो, मामू ? हामी त नेपाली हौँ, त्यसैले हामी भाइरसबाट संक्रमित हुनेछैनौँ रे हो त ? अब म बाहिर गएर साथीहरूसँग खेल्न सक्छु त ? के अब मैले छिनछिनमै हात धुन र स्यानिटाइजर लगाइरहनुपर्दैन त ?’

छोराका यस्ता कुराहरू सुनेर उनकी आमा सुरुमा हाँसिन् र अलिपछि छोरालाई सम्झाइन्, ‘यो साँचो होइन, मेरो छोरा । कोभिड-१९बाट जोगिन घरमै बस्ने, आफ्नो अनुहार नछुने, बारम्बार स्यानिटाइजरले हात सफा गर्ने र साबुन पानीले हात धुनेजस्ता रोकथामका उपायहरू अपनाउनुपर्छ ।’

आज्ञाकारी छोराका रूपमा, शिवमले सुने, बुझे र यसै आधारमा सुरक्षा उपाय अपनाए ।

बालबालिकाको विषयमा काम गरिरहेका मनोविश्लेषकहरू बताउँछन् कि ‘भण्डारी परिवारको जस्तै घटना आजभोलि धेरै भइरहेका छन् ।’

यद्यपि सबै परिवारमा शिवमकी आमाजस्ता सम्झाउन सक्ने, बुझाउन सक्ने मानिसहरू हुँदैनन् । तसर्थ, इन्टरनेटमा फैलिएका सबै सूचनाहरूको सहज पहुँचका कारण, सही र गलत के हो भनेर छुट्याउन परिपक्व नभएका बालबालिकामा यस्तो कठिन अवस्थामा शारीरिक र मनोवैज्ञानिक समस्याहरूको बढी जोखिम हुन सक्ने उनीहरूको दाबी छ ।

यस्तो अवधिमा बालबालिकालाई थप हेरचाह आवश्यक हुने विज्ञहरू बताउँछन् ।

सम्भावित समस्या के–के हुन् ?

मनोविश्लेषक वासु आचार्य नेपालमा धेरै बालबालिकाले २०७२ को भूकम्पपछि महसुस गरेका मानसिक आघातजस्ता समस्याहरू अहिले पनि दोहोरिन सक्ने सम्भावना बढी भएको बताउँछन् ।

बालबालिकालाई भर्चुअल तथा वास्तविक संसारमा निरन्तररूपमा फैलिरहेको गलत तथा भ्रामक सूचनाहरूले आतंकित बनाउन सक्ने आचार्यको भनाई छ । उनी भन्छन्, ‘यस्ता भ्रामक जानकारीहरूले उनीहरूमा आफ्नो, आमाबाबु वा प्रियजनको मृत्युको डर जगाउनसक्छ । यसले उनीहरूको मानसिकतालाई पूर्णतया आक्रान्त तुल्याउन सक्छ र विभिन्न प्रकार एवं अन्य डर र मानसिक समस्याहरूलाई जन्म दिनसक्छ ।’

यस्तो अवस्थामा बालबालिकाहरू आफूसँग भावनात्मक हिसाबले जोडिएका मानिसहरू (आमाबुबा, हेरचाहकर्ता, दाजुभाइ दिदीबहिनी वा अन्य महत्वपूर्ण व्यक्तिहरू)बाट छुट्टिन वा टाढा जान नसक्ने अवस्थामा पुग्छन्, जसलाई मनोवैज्ञानिकहरू ‘विच्छेदन चिन्ता विकार’ भन्छन् । त्यस्तै उनीहरू सामान्य कुरामा पनि आत्तिन सक्छन्, जसलाई ‘सामान्यीकृत दुष्चिन्ता विकार’ भन्छि । धेरैलाई प्यानिक अट्याक महसुस हुन सक्छ । कसैकसैलाई मोबाइल फोन लगायत सूचनाका माध्यमको लत लाग्न सक्छ । मोबाइल फोनबिना कतै घुलमिल नै नहुने अवस्था (एक प्रकारको ‘समायोजन विकार) आउन सक्छ । कतिपय बालबालिकाको मनस्थिति बारम्बार बदलिन्छ ।

तथापि अहिलेसम्म उनीकहाँ कोभिड १९ महामारी र यससम्बन्धी गलत तथा भ्रामक सूचना प्रवाहले सिर्जना भएको त्रास र आतङ्कबाट प्रभावित बालबालिका आइसकेका छैनन् ।

बालबालिकासँग मनोपरामर्शदाताका रूपमा काम गर्दै गरेकी सजिना ढुंगाना भन्छिन्, ‘वर्तमान अवस्था, विशेष गरी संक्रमण र यसको प्रभावका बारेमा गलत सूचना तथा जानकारीहरू व्यापक रूपमा फैलिएको हुँदा बालबालिकालाई चिन्ता (एनजाइटी), प्यानिक अट्याक्क तथा डिप्रेसिभ लक्षणहरूले सताउन सक्छन् ।’

उनी थप्छिन्, ‘उनीहरूले आफ्ना समस्याहरूलाई बेचैन भएर, झगडा गर्दै, चिच्याउँदै, कराउँदै र रुँदै पनि व्यक्त गर्न सक्दछन् । उनीहरूले कसैलाई पनि घरबाट बाहिर जान नदिन सक्छन् । यसका बारेमा अनावश्यक रमिता (होहल्ला) र भयावह स्थिति सिर्जना गर्न पनि सक्छन् ।’

ढुंगानाका अनुसार केही बालबालिकाहरूले अनावश्यक रूपमा आफूलाई अरूबाट अलग्गै राख्न र बारम्बार हात धोइरहनसक्छन् । उनीहरूले आवश्यक नपर्दा पनि मास्क र स्यानिटाइजर प्रयोग गर्नसक्छन् । केही बालबालिकाले आफ्ना बाबुआमालाई हरेकपल्ट नयाँ खबर के छ भनेर सोध्न सक्छन् । आफ्नो उमेर र समाचारको बुझाईअनुसार उनीहरूले फरक-फरक आचरणहरू देखाउन सक्छन् ।’

यस्ता व्यवहारहरू मानसिक समस्याका रूपमा बदलिन निकै समय लाग्ने भएपनि आमाबाबु वा अभिभावकहरूले आफ्ना बालबालिकाको त्यस्तो व्यवहारप्रति सचेतभई सावधानी अपनाउनुपर्ने उनी बताउँछिन् ।

कसले के गर्ने त ?

आचार्य र ढुंगाना दुबै विश्वास गर्दछन् कि यो नयाँ रोगका बारेमा फैलिएका गलत तथा भ्रामक सूचनाबाट पुग्न सक्ने आघात र डरबाट बालबालिकाहरूलाई बचाउनमा मुख्यतया आमाबुबा, अभिभावक, दिदीदाजु वा अन्य हेरचाहकर्ता, हजुरबुबा/हजुरआमा र परिवारका अन्य सदस्यहरूको महत्वपूर्ण भूमिका हुनसक्छ ।

आचार्य भन्छन् ‘बालबालिकालाई सत्यतत्य सूचना र रोगको सामना गर्ने प्रभावकारी रणनीति लगायत यस महामारीको बारेमा सचेत गराउन विशेषज्ञ, सञ्चार माध्यम र सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।’

सूचनाको महामारीको रोकथामका लागि ढुंगानाले सुझाएका धेरैमध्ये एक कदम भनेको बालबालिकालाई लगातार समाचारको अपडेटबाट टाढा राख्नु पनि हो । साथै यो समयको सदुपयोग गरी बालबालिकालाई उमेर सुहाउँदा गतिविधिहरूमा संलग्न गर्नु र उनीहरूलाई स-साना घरका कामहरू (जस्तै : सफा गर्न, खाना पकाउन र बगैँचा स्याहार्न) सिकाउन सकिन्छ । उनी भन्छिन्, ‘अभिभावकले बालबालिकालाई रचनात्मक र आलोचनात्मक सोचजस्ता जीवन उपयोगी सीप साथै कला र शिल्पका विभिन्न गतिविधिहरू सिकाउन सक्छन् । बालबालिकालाई उनीहरूको रूचि अनुसार पुस्तक पढ्न, चित्र र रेखाचित्र कोर्न, नाच्न, गाउन, इत्यादि सिकाउन सकिन्छ । युट्युबमा भएका धेरै ‘डीआइवाई’हरू हेरेर बालबालिकासँग घरमै अभ्यास गर्न सकिन्छ ।’

ढुंगाना औंल्याउँछिन्, ‘यस्तो बेलामा बाबुआमाले आफ्नै मानसिक अवस्था बुझ्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यदि अभिभावकहरु आफैँ सही तथा भ्रामक समाचार र अपडेटहरूबाट आतंकित र त्रसित भएभने त्यसले सिधै बालबालिकाको कलिलो मस्तिष्कलाई नराम्रो असर पुर्‍याउँछ । बाबुआमाले पनि ‘मैले कोरोनाभाइरसलाई हराउन सक्छु र यसले हामीलाई छुनेछैन’ भन्नेजस्ता सोचाई राख्नुचाहिँ सरासर मूर्खता हो ।’

अभिभावकहरूले सुरुमा आफूलाई आतंकित र त्रसित नबनाई बालबालिकालाई पनि सावधानीका उपायहरूको जानकारी फकाईफुल्याई ती उपायहरू अनुसरण गर्न लगाउनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने ढुंगानाको सुझाव छ ।

आचार्य पनि थप्छन्, ‘उनीहरूलाई रोकथामका उपायहरू अनुसरण गर्न दबाब दिनु वा हप्काउनुभन्दा पनि आमाबाबुले रचनात्मक रणनीतिहरू बनाउनुपर्छ ताकि बालबालिकाहरु स्वेच्छाले र खुसीसाथ ती उपाय अपनाउनेछन् ।’

लकडाउन र सेल्फआइसोलेसनको समयमा मोबाइल फोनको लतबाट बालबालिकालाई जोगाउनका लागि आमाबाबुले बालबालिकाको रुचि र प्रतिभालाई निखार्न ध्यान दिनुपर्ने र वैकल्पिक मनोरञ्जनका उपायका रूपमा विभिन्न खेलहरू डिजाइन गरेर खेलाउनुपर्ने कुरामा आचार्य र ढुंगानाको एकमत छ ।

दीर्घकालीन समाधान के होला ?

आचार्यको थप सुझाव छ कि विश्वसनीय समाचारका लागि विश्वसनीय सञ्चारमाध्यम मात्र हेर्नु, सुन्नु र पढ्नु जरुरी छ । त्यसपछि आफूसँग आइपुगेका सूचनालाई फिल्टर गर्नु आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा, बालबालिकाका अगाडि अनावश्यक विषयमा लामो छलफल गरिराख्नुहुँदैन ।

त्यस्तै, ढुंगाना सल्लाह दिन्छिन् कि भाइरसका बारेमा आफूलाई थाहा भएका सही जानकारी बालबालिकालाई बाँड्नु हरेक अभिभावकको कर्तव्य हो । साथै, त्यस विषयमा उनीहरूलाई के थाहा छ भन्ने विषयमा पनि बालबालिकालाई सोधिरहनुपर्छ र उनीहरूमा केही गलत सूचना भए सच्याइदिनुपर्छ ।

‘उनीहरूले टीभीमा के-के हेर्दैछन्, पत्रिकामा के-के पढ्दैछन् र अन्य सोसल मिडियामा के-के देख्दैछन् भन्ने कुरा अभिभावकले याद गर्न जरुरी छ । किनकि, उनीहरू बढाइचढाई गरिएका र झुटा समाचारहरू त्यहीँबाट प्राप्त गरी त्रसित हुन सक्छन् । त्यसैले, परिवारले जानकारी प्राप्त गरी आफ्ना बालबालिकालाई ज्ञान प्रदान गर्न पहिले सही मिडिया अनुसरण गर्नु आवश्यक छ ।’

विज्ञहरू बताउँछन् कि कोभिड-१९बारे बालबालिकाका जिज्ञासा र भ्रमलाई मेटाउन बाबुआमाले उनीहरूका प्रश्नहरूको सत्य र विस्तृत जवाफ, उमेर सुहाउँदो भाषा प्रयोग गरी दिनुपर्छ । यदि यी उत्तरहरू विशेषज्ञ वा परिवारमा बालबालिकाले सबैभन्दा धेरै विश्वास गर्ने सदस्यबाट आयो भने झन् प्रभावकारी हुन्छ ।

ढुंगानाको सुझाव छ, ‘यदि कोही बालबालिकाले कोरोना भाइरसका बारेमा भ्रामक जानकारी प्राप्त गरेको पाइएमा उक्त सन्देशको स्रोत पत्ता लगाई, उनीहरूसामु सही सूचना प्रवाह गर्नु अत्यन्त आवश्यक हुन्छ । भीड र सोसल मिडियामा छाएका सत्य तथा भ्रामक सूचनाको साङ्लोबाट बालबालिकादेखि ठूलाहरूसम्म टाढा बस्नु नै उपयोगी हुन्छ ।’

अरूबेला बिदा हुँदा बालबालिकाले चिडियाखाना, फनपार्क, पौडीपोखरी, सिनेमा हल र अन्य मनोरञ्जन स्थलहरूमा जान मन पराउँछन् । तर, अहिले यी सबै स्थानहरू बन्द गरिएका छन् । अब बालबालिका कसरी यो परिस्थितिमा समायोजित हुनसक्छन् ? कसरी आमाबाबुले यस समयको उचित उपयोग गर्न सक्छन् ? यसको जवाफमा ढुंगाना बताउँछिन् कि यो समयमा आमाबुबाले अभिभावक र शिक्षक दुबै भूमिका निर्वाह गर्न आवश्यक हुन्छ ।

उनी भन्छिन्, ‘आमाबाबुले आफूलाई केही कुरा गर्न दबाब दिइएको महसुस नहुने गरी सामाजिक दुरी, सेल्फआइसोलेसन र क्वारेन्टाइन के हो भनेर कुरा गर्नु र बुझाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । साथै, यसले उनीहरूको आदर्श बिदाको माग वा बाहिर घुम्न जाने माग घटाउँछ ।’

दुबै विशेषज्ञहरु बताउँछन् कि अभिभावकहरू सिर्जनात्मक भई आफ्ना छोराछोरीलाई हर समय युट्युब, मोबाइल र टिभीमा झुम्मिनबाट रोक्नुपर्छ । बरु स्वस्थ, रचनात्मक खालका खेलहरू डिजाइन गरी खेलाउनुपर्छ । यी सबै उपायहरू पनि पर्याप्त भएनन् भने अभिभावकहरूले विशेषज्ञको सहयोग लिनु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment