Comments Add Comment

घरमै बसी-बसी नाटक : आज राजेन्द्रलक्ष्मी, भोलि दयाहाङको ‘जालिनी’

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’

घरमा बसेर के गर्ने ? विकल्प अनेक छन् । घतलाग्दो पुस्तक पढ्न सक्नुहुन्छ, सिनेमा हेर्न सक्नुहुन्छ । बालबच्चासँग रमाउन सक्नुहुन्छ, फूल-बगैंचाको काममा आफूलाई भुलाउन सक्नुहुन्छ। मीठो-मसिनो बनाएर खान सक्नुहुन्छ, घरायसी कामकाज गर्न सक्नुहुन्छ । र, नाटक हेर्न सक्नुहुन्छ ।

सामान्य दिन हुँदो हो त नाटक हेर्नका लागि तपाईंले शहरका थिएटर चाहर्नुपर्ने हुन्थ्यो । त्यो पनि आफ्नो मर्जी अनुसार होइन । थिएटरकै तालिका अनुसार ।

तर, फुर्सदको यो क्षणमा घरमै बसीबसी तपाईंले नाटक हेर्न सक्नुहुन्छ । यसको मेलोमेसो मिलाइदिएको छ, थिएटर मल, कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले ।

कोरोनाको सम्भावित जोखिमबाट बच्न घरमा बसिरहेकाहरुलाई लक्षित गर्दै ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ अन्तर्गत नाटक मञ्चन गरिएको हो । नाटकको भिडियो लाइभ स्ट्रिमिङ हुन्छ । त्यसैले घरमै बसेर नाटकको आनन्द लिन सकिनेछ । भर्चुअल नाटक हरेक साँझ ठिक पाँच बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल ( www.fb.com/theatremall ) बाट हेर्न सकिनेछ ।

शनिबार साँझ पाँच बजे ‘राजेन्द्रलक्ष्मी’ नाटक मञ्चन हुने भएको छ । यसलाई नम्रता केसीले निर्देशन गरेकी हुन् । नाटक ‘राजेन्द्रलक्ष्मी’ नेपालकी पहिली महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मी देवी शाहको जीवनकथामा आधारित छ । एस्थेटिक डान्स सेन्टरको प्रस्तुति रहेको नाटकमा राजेन्द्र राजेन्द्रलक्ष्मीको जीवन संघर्षलाई उनी र समकालीन महिलाको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । भोलि आइतबार अभिनेता दयाहाङ राईले निर्देशन गरेको नाटक ‘जालिनी’ देखाइनेछ ।

ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’मा संग्रहित कथामा आधारित छ । मण्डला थिएटरको प्रस्तुति रहेको नाटकको परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका हुन् ।

लोककथा शैलीमा तयार पारिएको नाटकमा स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई घर वा पर्खालभित्र कैद गरी शासकहरूले कसरी कुसंस्कार निर्माण गर्छन् भन्ने कथा बुनिएको छ । त्यसले वर्तमान समाजमा पारेको प्रभाव र  त्यसमाथि गरिनु पर्ने चिन्तनलाई रोचक कथाशैलीमार्फत् व्यक्त गरिएको छ ।

त्यसैगरी, सोमबार कथाघेरा, कौशी थिएटरको प्रस्तुति रहेको नाटक ‘पाँच’ देखाइने छ । शब्द प्रयोग नगरीकन शारीरिक भाषामात्रै प्रयोग गरी तयार पारिएको यो नाटक सुदाम सिकेले निर्देशन गरेका छन् ।

सिजन दाहालको लेखन र प्रवीण खतिवडाको निर्देशन रहेको लोक कथामा आधारित नाटक ‘एक बोली, एक दाम’ पनि प्रदर्शन हुनेछ । त्यस्तै, कथाघेरा कौशी थिएटरको प्रस्तुति रहेको आकांक्षा कार्की निर्देशित ‘दयालु रूख’ पनि उत्सवमा सहभागी छ ।

संगीत सापकोटा र आशिष घिमिरेको निर्देशनमा भरतेन्दु हरिश्चन्द्र लिखित नाटक ‘अन्धेर नगरी चौपट राजा’ र एक्टर्स स्टुडियोको प्रस्तुति रहेको सुरज मल्ल निर्देशित सुरेन्द्र बर्मा लिखित नाटक ‘शकुन्तलाको औंठी’ पनि उत्सवमा सहभागी हुँदैछ ।  विदेशबाट पनि नाटकहरू उत्सवमा सहभागी हुँदैछन् ।

यसै क्रममा डेनमार्कबाट ‘पपेट प्ले’ सहभागी हुँदैछ भने भारतबाट नाटक शब्दविहीन नाटक ‘नोथिङ टु से’ प्रदर्शन हुँदैछ । यसैगरी केदार श्रेष्ठ निर्देशित नाटक ‘उपियाँको निबन्ध’ र बालकृष्ण समलिखित तथा चे शंकर निर्देशित नाटक ‘ऊ मरेकी छैन’ पनि उत्सवमा देखाइने निश्चित भइसकेको छ ।

विश्व रङ्गमञ्च दिवसको सन्दर्भ पारेर शुक्रबार उत्सव सुरु गरिएको थियो । पाकिस्तानी नाटककार शाहीद नदीमले लेखेको रङ्गमञ्च वर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment