
१६ चैत, विराटनगर । लकडाउनका कारण प्रदेश १ को राजधानी विराटनगरसहित आसपासका जिल्लाका शहरहरु सुनसान छन् ।
विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् ।
तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेकको पाइएको छ । बेलुकाको समयमा मात्रै विराटनगरमा तरकारी, खाद्यान्न किनमेलका लागि मानिसहरु बजारमा निस्कने गरेको पाइन्छ ।
त्यसैगरी, औषधि पसलमा मानिसहरुको भिड लाग्ने गरेको छ । ग्यासको जोहोमा पनि मानिसहरु लागेका देखिन्छन् ।
विराटनगरमा लकडाउनको छैठौं दिनसम्म आइपुग्दा उपभोक्ताहरु ग्यासको जोहोका लागि भौतारिन बाध्य छन् ।
आधा सिलिण्डर ग्यासका लागि कुनै कम्पनीको ग्यास सहज पाएपनि कुनै कम्पनीको ग्यास बजारमा अभाव छ । एक कम्पनीको ग्यास अर्को कम्पनीले नसाट्दा उपभोक्ता मारमा छन् ।
विराटनगर मुनाल पथकी प्रियंका सिंह ग्यास खोजीमा निस्किएको तीनदिन भए पनि आफूले ग्यास पाउन नसकेको गुनासो गरिन् । कोशी लगायतका ग्यास कम्पनीका डिलर खुल्ला रहेपनि रिजाल ग्यासको डिलर सबै बन्द रहेको उपभोक्ताहरु बताउँछन् । स्थानीय भन्छन्– ग्यासका डिलरवालाले मोबाइलसमेत स्वीचअफ गरेर बसेका छन् ।
आफ्नो डिलरमा ग्यास मौज्दात रहेपनि अन्य ग्यास कम्पनीको सिलिण्डर साट्न नमिल्ने दिनेश महतोले बताए ।
‘अन्य कम्पनीको सिलिण्डर साटन मिल्दैन भनेको छ,’ महत्तोले भने, ‘कोशी ग्यास पसलमा मौज्दात छन् । तर, पनि उपभोक्तालाई दिन सकिएको छैन ।’ सरकारले सबै कम्पनीको ग्यास दिन मिल्ने बताए आफू सबै ग्यास कम्पनीका सिलिण्डर साट्न तयार रहेको उनले बताए ।
त्यसैगरी, औषधि पसलमा भने फाटफुट मानिस औषधि लिन आउने गरेका छन् । अति आवश्यक औषधि लिन मानिसहरु पसलमा आउने गरेको मेडिकल सञ्चालकहरु बताउँछन् ।
विराटनगरमा प्रेस, एम्बुलेन्स, खानेपानी, दुध, अस्पतालका सवारी साधन, प्रहरी, शवबाहन मात्र सडकमा गुडेका छन् । भित्री सडकमा भने केही फाट्फुट्ट मोटरसाइकल चलेका र साना किराना, चिया पसल खुलेका छन् ।
प्रहरीले चोक–चोकमा चेकजाँचलाई कडाई गरेको छ भने सडकमा देखिएका मानिसहरूलाई घरभित्रै बस्न आह्वान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
दिनभर यसको पूर्णरुपमा पालना गरिएको छ । तर, बेलुका भने केहीबेर बजार अस्तव्यस्त देखिने गरेको छ ।
प्रतिक्रिया 4