
१६ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको छ ।
मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए ।
उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको फरक किसिमको गन्ध आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पनि ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको अनलाइनखबरलाई बताए ।
अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय भइसकेको छैन ।
क्लोरिनका कारण समस्या भएको निष्कर्ष
नेपाली सेनाले स्काई ट्रकमा राखिएको क्लोरिनका कारण गन्ध आएको निष्कर्ष निकालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता भएपछि गरिएको परीक्षणका क्रममा बोरामा राखिएको क्लोरिनमा समस्या भेटिएको थियो । त्यसपछि क्लोरिनको बोरा झारेर बिराटनगर, सुर्खेत र धनगढीमा सामान पठाइएको एक सुरक्षा अधिकृतले अनलाइनखबरलाई बताए ।
उनका अनुसार उचाइ बढ्दै जाँदा क्लोरिनमा केमिकल रियाक्सन भएपछि समस्या देखिएको सरकारी अधिकारीहरुको दाबी छ ।
प्रतिक्रिया 4