Comments Add Comment

चिकित्सक बाहिरको काममा जान्छन्, परिवारका सदस्यलाई डर हुन्छ : निहारिका

१७ चैत, काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिकाले कोरोना भाइरसबाट सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेकी छन् । एक भिडियोमार्फत् कार्कीले संयुक्त राज्य अमेरिकामा आफ्ना श्रीमान् (भाष्कर कुमार क्षेत्री) डाक्टर भएकाले परिवारका सदस्यले घरमा विशेष सतर्कता अपनाएको बताएकी छन् ।

कार्कीका अनुसार उनी बस्ने न्यूयोर्कमा श्रीमान् अस्पतालबाट आउँदा–जाँदा छुट्टै कोठा र भान्सा प्रयोग गर्न थालिएको छ । साथै कीटाणु सर्ने मानवीय कमजोरीबाटै हुने भएकाले सबैले विशेष ध्यान पुर्‍याउन उनले आग्रह गरेकी छन् ।

‘आफूजस्तै स्वास्थ्य क्षेत्रमा काम गर्ने परिवारका सदस्य र नेपालीलाई विश्व महामारीबाट सुरक्षित हुन अपिल गरेकी हुँ’ उनले भनिन् ‘विपदमा एकअर्काको साथले मानसिक बल मिल्ने विश्वास राखेकी छु ।’

आफन्त र शुभेच्छुकलाई कार्कीको सन्देश यस्तो छ–

आज तपाईहरूलाई मेरो कुरा भन्न गइरहेकी छु । पेशाले मेरा श्रीमान् डाक्टर हुनुहुन्छ । उहाँ बाहिरको काममा नै बढी जानुहुन्छ । आज पनि उहाँ बिहानै अस्पताल जानुपर्यो । हामीहरू घरमा सुरक्षित नै छौं । सुरक्षाका उपाय अपनाएका छौं । हिजो उहाँले कामबाट फर्केपछि भन्नुभयो, ‘मेरो खाने भाँडा पनि अलग बनाइदेऊ, अनि ती सबै म आफैं सफा गर्छु ।’

परिवारको सदस्यले यसोभन्दा हामीलाई कताकता डर लाग्यो । तर, उहाँले भन्नुभयो, ‘मलाई कामको डरभन्दा पनि कीटाणु ल्याएर छोरा र तिमीलाई सार्छु कि भन्ने डर लागेको छ ।’

हो वास्तवमा, चिकित्सा क्षेत्रका मानिस बाहिरको काममा जान्छन् । तर, परिवारका सदस्यलाई भने डर हुन्छ । प्रत्यक्षरुपमा बिरामीसँग काम गर्ने परिवारका सदस्य सुरक्षित हुन गाह्रै हुन्छ । त्यसैले सम्पूर्ण डाक्टर, नर्स, अस्पतालका कर्मचारी र कोरोना भाइरस रोकथामसँग काम गर्नुपर्ने सबैले विशेष ख्यालका साथ सुरक्षा अपनाइदिनु हुन अनुरोध गर्दछु । सबैजना सुरक्षित रहौं भन्ने कामना गर्छु । नमस्कार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment