Comments Add Comment

युएईमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुग्यो

१८ चैत, युएई । युएईमा हालसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दुईजना भने उपचार पछि निको भएका छन् ।

युएईमा मार्च ९ मा पहिलो २ जना नेपाली सहित १४ जना संक्रमित फेला परेका थिए । तर, सोमबारसम्म संक्रमित नेपालीको संख्या ६ पुगेको युएईको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँस्थित नेपाली दूतावासले जनाएको छ । ९ मार्चमा संक्रमित पुष्टि भएका दुई जना नेपाली स्वास्थ्यलाभ गरी आफ्नो दैनिकीमा फर्किसकेका छन् ।

चार जना नेपालीहरु क्वारेन्टाइनमा रहेर उपचार गराइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

युएईको उपचार पद्धति उच्चस्तरको भएका कारण अतिनुपर्ने अवस्था नरहेको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । तर सतर्कता भने अपनाउनुपर्ने उनको आग्रह छ ।

युएईमा ५ जनाको मृत्यु ६ सय ११ संक्रमित

युएईमा सोमबारसम्म कोरोना संक्रमणका कारण ५ जनाले ज्यान गुमाएका छन् । ४१ जना नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ६ सय ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वर्जनिक गरेको तथ्यांक अनुसार २ जना भारतीय र एकजना फिलिपिनी नागरिकको स्वास्थ्य लाभ भएको छ ।

यहाँ विद्यालयहरु जुन महिनासम्मका लागि बन्द गरिएको छ । यस्तै दुवई एक्सपोको मिति पनि पछि सर्ने यहाँका संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यूएई सरकारले आम नागरिकको सुरक्षा सतर्कतालाई ध्यान दिँदै लकडाउनको समय थप गरेको छ । मार्च २७ गते राति ८ बजेदेखि मार्च २९ गते बिहान ६ बजेसम्म लकडाउन गरिएकामा हाल लकडाउनको समय लम्बाएर अप्रिल ५ तारिखसम्मलाई कायम गरिएको छ । दिउँसोको समयमा सार्वजनिक सवारीका साधन सन्चालन भइरहेका छन् । साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म सवारी सन्चालन भएका छैनन् भने नागरिकहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।

रोजगार गुम्ने भय

कोभिड १९ कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व एकसाथ लडिरहेको छ । मानिसहरुको दैनिक जीवन अस्तव्यस्त छ । रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरु पूर्णरुपमा लकडाउनमा छन् । यसबाट विश्व अर्थतन्त्र प्रभावित भएको छ । लाखौं कामदार खाइपाइ आएको रोजगारीमा जान सकेका छैनन् । २ लाख ७५ हजार नेपाली कामदार रहेको युएईमा पनि यो समस्या देखिन थालेको छ ।

रोजगारको नीतिका बारेमा सोमबार यहाँको सरकारले आफ्नो धारणा सार्बजनिक गरेको छ । कामदारका बारेमा सरकारले आफ्नो धारणा सार्बजनिक गदै भनेको छ, ‘रोजगारदाता कम्पनीहरुले कामदार कटौती गर्न र बेतलवी विदा अथवा तलब कटौती गर्न सक्नेछन् । यस्तो अवस्थामा रोजगारदाताले अवलम्बन गरेको नीति पालना गर्न कामदार बाध्य हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment