Comments Add Comment

एटीएममात्र खुल्दा दृष्टिविहीनलाई पैसा झिक्न समस्या

१८ चैत, काठमाडौं । धनकु्टाका जीतबहादुर भक्तपुरमा डेरा गरी बस्छन् । उनी दृष्टिविहीन छन् । दृष्टिविहीनलाई बैंकमा खाता खोल्दा एटीएम कार्ड दिइँदैन । चेकमा ल्याप्चे लगाएपछि मात्रै पैसा झिक्न सक्छन उनीहरु ।

तर, कोरोना भइरसको संक्रमण फैलिन नदिन सरकारले देशब्यापी लकडाउन गरेपछि जीतबहादुर समस्यामा परेका छन् । बैंकमा पैसा छ तर, झिक्न पाएका छैनन् । डेरा गरी बस्ने भएकाले पैसा सापटी मागिहाल्ने व्यक्ति नभएको भन्दै उनी लकडाउनको अवधि लम्बिदै जाँदा जीविका चलाउनै नसक्ने अवस्था आउने हो कि भनेर चिन्तित छन् ।

‘कहाँ बैंक खुलेको छ ? भन्दै खोज्दै जान लकडाउनका कारण पाइएन । पैसा झिक्नकै लागि जिल्ला प्रशासनले पास दिँदैन होला’ उनी भन्छन्, ‘अर्कोतर्फ टाढा निस्कँदा रोग सर्ने डर पनि ज्यादा हुन्छ ।’

जीतबहादुर जस्ता व्यक्ति उपत्यकामा कति छन् यकिन तथ्याङ्क छैन ।

रत्नराज्य लक्ष्मी क्याम्पसका उपप्रध्यापक गोविन्द आचार्य पनि दृष्टिविहीन छन् । उनी कीर्तिपुरमा बस्छन् । आचार्यका अनुसार उपत्यकामा दृष्टिविहीनको संख्या कति छ यकिन तथ्यांक नहुँदा सरकारसमक्ष सामूहिक आवाज पुर्‍याउन सकिएको छैन ।

‘दृष्टिविहीनहरु कहाँ र कुन अवस्थामा छन् भन्ने यकिन नहुँदा समस्या परेको अवस्थामा राज्यलाई केही भन्न सकिरहेका छैनौं’ उनले भने ।

उपप्राध्यापक गोविन्द आचार्य लकडाउनका बेला दृष्टिविहीन र अपांगता भएकालाई सहज हुने व्यवस्था सरकारले गरिदिनुपर्ने बताउँछन् ।

आर्थिक हैसियत राम्रो हुनेलाई समस्या नभए पनि कमजोरहरुलाई समस्या परेको बताउँछन् । ‘सरसापटी गर्न मिल्नेलाई त समस्या हुन्न । सरसापटी नपाउनेहरुलाई समस्या भएको छ । त्यसकारण सहजता खोजेका हौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment