Comments Add Comment

लकडाउन अनुभव : वुहानदेखि खरिपाटी हुँदै जलेश्वरसम्म

चीनको त्यो लकडाउन, नेपालको यो लकडाउन

१८ चैत, काठमाडौं । कोरोनाको उद्गमस्थल चीन । चीनको पनि इपिसेन्टर वुहान । चीनको हुवेई प्रान्तमा पर्ने एक करोड १० लाख जनसंख्या रहेको यो शहर अहिले कोरोना भाइरसलाई जितेर फेरि तंग्रिँदै छ ।

गत डिसेम्बरमा वुहानमा कोरोनाको संक्रमण देखिन थाल्दा कसैले कल्पना गरेको थिएन कि यसले विश्व महामारीको रुप लिन्छ भनेर । संक्रमण तीव्र बनेपछि चीनले बुद्धिमत्तापूर्वक वुहान शहरलाई लकडाउन गरिदियो । त्यसैले सोचेभन्दा छिटो चीनमा कोरोनाको महामारी नियन्त्रणमा आयो ।

त्यसबेला बुआन लकडाउन हुँदा एक सय ८० जना नेपाली विद्यार्थीहरु त्यहाँ अध्ययनरत थियो । सरकारले जहाज चार्टर गरेर उनीहरुमध्ये एक सय ७५ जनालाई नेपाल ल्यायो । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर आआफ्नो परिवारको जिम्मा लगाइयो । तर, अहिले फेरि उनीहरु आ–आफ्नो घरमा लकडाउनमा छन् ।

बुआनमा करिब २० दिन, खरिपाटीमा १४ दिन र अहिले एक हप्तादेखिको लकडाउनमा रहँदा यी विद्यार्थीको मनोदशा कस्तो छ ? वुहानको तोङजी मेडिकल कलेजबाट यूरोसर्जरीमा पीएचडी गरिरहेका डा. गौरव पोखरेलले अनलाइनखबरसँग आफ्नो अनुभव सुनाएका छन् । अहिले जलेश्वरमा होम क्वारेन्टाइनमा रहेका उनले वुहानको लकडाउन र नेपालको लकडाउन तुलना गर्दै सरकार र नेपाली समाजलाई केही सन्देश पनि दिएका छन् ।

डा. पोखरेलकै शब्दमा वुहानदेखि जलेश्वरसम्मको अनुभव :

म वुहानको तोङ्जी हस्पिटल अफ तोङ्जी मेडिकल कलेजमा पीएचडी अध्ययनरत थिएँ । यो कलेज हुवाझोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको सम्वन्धन प्राप्त छ ।

गत डिसेम्बरसम्म मेरो व्यस्त दिनचर्या थियो । बिहान ६ बजे उठेर हस्पिटल जान्थेँ । पढ्ने र पढाउने काममा नै दिन बित्थ्यो । तर, जनवरीदेखि अचानक दिनचर्या विथोलियो ।

हस्पिटलमा काम गर्ने भएकाले हामीले वुहानमा कोरोनाको संक्रमण देखिएको बारे केही दिनदेखि सुनेका थियौं । तर, औपचारिक जानकारी दिइएको थिएन । एकाएक ‘लकडाउन’ को सूचना युनिभर्सिटीबाट आयो । त्यसपछि बल्ल यो भाइरस फैलिन थालेको रहेछ भन्ने थाहा भयो ।

लकडाउनमा २० दिनजति हामी आफ्नो होस्टलको कोठाभित्र कैद भयौं । ती दिनहरु निकै कष्टप्रद थिए ।

त्यस कलेजमा मसहित आठजना नेपालीहरु थियौं । लकडाउनको अवधिमा हामी नेपाली विद्यार्थीबीच पनि प्रत्यक्ष भेट गर्न कठिन हुन्थ्यो ।

सुरुमा त धेरै सिरियस्ली लिएका थिएनौ । तर, ३–४ दिनपछि ‘पेनिक’ हुन थाल्यो । खासमा त्यसबेला यो भाइरस कसरी सर्छ भन्नेमा नै अन्योल थियो । मान्छे–मान्छेको प्रत्यक्ष सम्पर्कबाट मात्रै सर्छ भन्ने अहिले आएर थाहा भयो । त्यतिबेला हावाबाट पनि सर्न सक्छ भन्ने चर्चा थियो । त्यसैले कोठाभित्रै पनि सुरक्षित नरहेको महसुस हुन्थ्यो ।

लकडाउनपछि हामी एकपटक पनि बाहिर निस्किएनौं । कलेजकै हाताभित्र एउटा सुपरमार्केट थियो । म दुईपटक विभिन्न सामग्री खरिद गर्न उक्त सुपर मार्केटसम्म गएँ । त्यसपछि त त्यहाँ पनि जान रोक लगाइयो ।

हामीलाई दैनिक दुई छाक खानाको व्यवस्था युनिभर्सिटीबाट हुन्थ्यो । युनिभर्सिटीका स्टाफले बिहान र बेलुकी गेटमा ल्याएर सुरक्षित तरिकाले खाना राखिदिन्थेँ । हामी पालैपालो सही गरेर आफ्नो खाना बुझ्थ्यौं ।

खानेकुराको त खासै संकट भएन । पानीको चाहिँ कहिलेकाहीँ समस्या पथ्र्यो । दुई–तीन दिनमा एकपटक आउने हुनाले जोगाएर खपत गर्नुपर्ने हुन्थ्यो ।

त्यसबेला अरुभन्दा पनि अनिश्चितता नै सबैभन्दा ठूलो त्राशको विषय थियो । लकडाउन कहिलेसम्म जान्छ भन्ने ऐकिन थिएन । आफ्नो देश वा परिवारसँगै भएको भए सायद सन्त्राश कम हुन्थ्यो होला । रोग लागिहाल्यो भने के गर्ने भन्ने चिन्ता हुन्थ्यो ।

समय कटाउन पनि उत्तिकै गाह्रो । कोठाभित्र दिनभरि के गरेर बस्ने ? इन्टरनेट चलाउने र पुस्तक पढ्नेबाहेक अरु विकल्प थिएन । नेपालमा रहेका परिवार र साथीभाईसँग वि च्याटमा कुरा हुन्थ्यो । त्यहीँ रहेका नेपालीहरु बीच पनि यु च्याटमै कुरा गर्थ्यौं । बच्चासहित रहेका साथीहरु बढी पीडामा हुनुहुन्थ्यो ।

जे होस, सरकारले हामीलाई त्यहाँबाट उद्दार गरेर नेपाल ल्यायो । नेपालको भूमिमा टेकेपछि हामी सबैले मृत्यूको मुखबाट निस्केको महसुस गरेका थियौं ।

०००

खरिपाटी क्वारेन्टाइनमा हामीलाई १६ दिन राखियो । त्यहाँ सबै व्यवस्थापन राम्रो थियो । कुनै अप्ठेरो भएन ।

त्यहाँबाट निस्केपछि सबैजना आ–आफ्नो घर फर्कियौं । म एक हप्ता काठमाडौंमा बसेपछि जलेश्वरमा रहेको घरमा आएँ । अहिले पनि यहीँ छु । परिवारसँगै दिनहरु बितिरहेका छन् । चीनमा हुँदाजस्तो त्राश अहिले छैन ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले देशभरी लकडाउन गरेको छ । यो आवश्यक कदम हो । कोरोनाभाइरस मान्छेबाट मान्छेमा सर्र्छ भन्ने पुष्टि भइसकेकाले यसबाट बच्ने प्रमुख उपाय भनेकै मान्छे–मान्छेबीच दुरी कायम गर्नु हो । त्यसैले अहिले सरकारले चालेको कदमलाई सबैले साथ दिनु आवश्यक छ ।

चीनमा वुहान लगायत विभिन्न शहरमा लकडाउन गरिँदा त्यसको जनताले पूर्ण पालना गरेका थिए । कोही पनि बाहिर निस्किएनन् ।

नेपालमा चाहिँ मानिसहरु सडकमा निस्केको, प्रहरीको पिटाइ खाएको समाचारहरु आइरहेका छन् । मलाई लाग्छ कि मानिसहरुले अझै पनि नेपालमा लकडाउनलाई सही अर्थमा बुझेका छैनन् । यो सरकारले जनतामाथि लादेको कफ्र्यूजस्तो होइन । हामीले आफू सुरक्षित हुनका लागि स्वेच्छिक रुपमा ‘आइसोलेसन’मा बस्ने प्रक्रिया हो । यो सरकारका लागि नभएर हाम्रो आफ्नै लागि हो भन्ने जनताले बुझेमा समस्या आउँदैन ।

तर, चीनको र नेपालको परिस्थिति उस्तै छैन । चीनमा जनतालाई अत्यावश्यक सामग्रीको अभाव पनि सरकारले हुन दिएन । घर–घरमा समेत आपूर्ति गरियो । यहाँ त्यो अवस्था छैन । त्यसैले मानिसहरु आफ्नो दैनिक आवश्यकताका वस्तुहरुको किनमेलका लागि पनि बाहिर निस्कनुपर्ने हुन्छ ।

यसलाई हामीले अलिकति योजनाबद्ध बनाउनुपर्ने मैले आवश्यकता देखेको छु । बेलुकी कफ्र्यू खुलेजस्तो गरी एकैचोटि ग्वार्र बाहिर निस्कनु ठीक होइन । यसले संक्रमणको जोखिम पैदा गर्छ । यस्तो बेलामा हामीले एकपटकमा धेरै दिनलाई पुग्ने गरी खाद्यान्न खरिद गर्नु राम्रो हुन्छ । साथै खाद्यान्नको उपभोगमा मितव्ययिता पनि अपनाउनुपर्छ । धेरै भण्डार गरेको छ भनेर अनावश्यक उपभोग गर्नु भएन ।

अहिले देशभरि स्थानीय सरकार र जनप्रतिनिधिहरु छन् । जनतालाई कम भिडभाडमा यस्ता वस्तुहरु खरिदको व्यवस्था मिलाउन उनीहरुले योजना बनाउनुपर्छ । जस्तो कि, तरकारी कहाँ किन्ने भन्ने प्रश्न आउँछ । यसका लागि धेरैजना एक ठाउँमा आएर खरिद गर्ने होइन कि एकजनाले भ्यानमा राखेर धेरै ठाउँमा आपूर्ति गर्ने खालको व्यवस्था चाहिन्छ । स्थानीय तहहरुले सक्रियता देखाए भने त्यो सम्भव छ भन्ने लाग्छ ।

०००

सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ । तर, ‘एग्रेसन’ अझै देखिएको छैन । ‘एग्रेसन’ देखाउने बेला हो यो ।

सुदुरपश्चिममा १६ लाख जनसंख्यालाई एउटा पनि भेन्टिलेटर छैन भन्ने सुनेको छु । अन्य स्वास्थ्य पूर्वाधारहरुको अवस्था देशभर नै नाजुक छ ।

भर्खरै कोरोनाका लागि पीपीई लगायत अत्यावश्यक सामग्रीहरु भित्रिएको छ । ढिला भए पनि आएको छ । अब सबै काम द्रुत गतिमा गर्नुपर्छ । देशको स्वास्थ्य क्षेत्रलाई सुधार्ने अवसर पनि हो यो ।

मुख्य कुरा, भनेको अझै पनि नेपालमा कोरोना भाइरस सोसाइटीको तहमा फैलिसकेको छैन । यतिबेला सबैभन्दा महत्वपूर्ण काम भनेको ट्रेसिङ हो । यो भाइरस सर्ने ए, बी, सी र डी चरणहरु हुन्छन् । विदेशबाट आएका ५ जनामा भाइरस देखिएको छ । यसरी संक्रमितहरु को–कोसँग सम्पर्कमा आए भनेर उनीहरुको खोजी गर्नु र उनीहरुलाई क्वारेन्टाइनमा राख्नु अति जरुरी छ । त्यति गर्न सकियो भने भाइरस फैलिन पाउँदैन ।

साथै भारतबाट मानिसहरु हुलका हुल आइरहेका छन् । नेपाली नागरिकलाई त आफ्नो देशमा आउनबाट रोक्न पनि मिल्दैन । तर, नेपालमा आएपछि उनीहरुलाई क्वारेन्टाइनमा अनिवार्य राख्नु पर्छ यो कुरामा कमजोरी भइरहेको देखेको छु । यदि सोसाइटीमा स¥यो भने स्थिति भयावह हुन सक्छ । त्यसैले सबैजना सचेत बन्नु आवश्यक छ ।

चीनको अनुभवबाट सिक्ने मौका नेपाललाई छ । हामीले नकारात्मक मात्रै सोच्नु भएन । नकारात्मक समाचारहरु मात्रै पढ्यौ. भने हाम्रो मनोबल कमजोर हुन्छ । कोरोनाभाइरस लागेर लाखौं मानिसहरु निको पनि भएका छन् । यो रोगको मृत्यूदर पनि ३ देखि पाँच प्रतिशत मात्रै छ । यो पक्षलाई पनि प्रचारमा ल्याइनुपर्छ ।

अहिले स्वास्थ्य क्षेत्रलाई नेतृत्व गर्न टेक्निकल लाइनकै मान्छे चाहिएको छ । हालका स्वास्थ्यमन्त्री एकजना राजनीतिक व्यक्ति हुनुहुन्छ उहाँले कति बुझ्नुभएको छ मलाई थाहा छैन । टेक्निकर मान्छेले नेतृत्व गर्ने हो भने धेरै कुरा सहज हुन सक्छ ।

मेरोबिचार एउटा सरकारले एउटा उच्चस्तरको टास्कफोर्स गठन गर्नुपर्छ जसले कोरोनाविरुद्ध लड्न रणनीतिहरु बनाओस् र त्यसलाई सबैले पालना गर्न सकुन् । अहिले जुन उच्चस्तरीय समिति छ, त्यसमा राजनीतिक व्यक्तिहरु मात्र हुनुहुन्छ । त्यो भन्दै बेग्लै प्राविधिक कुराहरु बुझेका व्यक्तिहरु सम्मिलित टास्क फोर्स बनाइयो भने अझ फलदायी हुन्छ भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment