Comments Add Comment

ज्वरोका बिरामीको पीडा : एम्बुलेन्सले बोक्न मानेन, गाउँलेले बाटो छेके

१८ चैत, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–२ का एक युवकलाई कोरोना संक्रमणको आशंकामामा वीरगञ्ज ल्याइएको छ । पाँच दिनयता लगातार ज्वरो आउन नछाडेपछि उनलाई कोरोना संक्रमणको आशंकामा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको हो । उनलाई उपचारका लागि गाउँपालिकाको ना १ ग ७६४ नम्बरको टिपरमा वीरगञ्ज पठाइएको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए ।

‘शंकास्पद बिरामीलाई गाउँमा राख्ने कुरा भएन, वडा स्तरीय समन्वय समितिको आपतकालीन बैठक बसेर वीरगञ्ज लैजाने भन्ने जानकारी आयो,’ उनले भने, ‘चालकलाई संक्रमण नहोस् भनेर टिपरमा पठाउने निर्णयमा पुग्यौं,’ बिहानै बिरामीका परिवारले समस्या बारेमा जानकारी गराउँदै उपचारका लागि सम्बन्धित अस्पतालमा लगिदिन आग्रह गरेको भएपनि साँझ मात्रै वीरगञ्जतर्फ पठाइएको थियो ।

कोरोना संक्रमित बिरामीलाई गाउँको बाटो प्रयोग गर्न नदिने भनेर वडा नं ४ विजयबस्ती, फारलाइन, विशालचोकमा स्थानीयले ढुंगामुढा राखेर अवरोध गरेका कारण बिरामीलाई वीरगञ्ज पठाउन ढिलाई भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘कोरोना भाइरस संक्रमितलाई गाउँको बाटो लैजान दिँदैनौं भनेर केही उच्छृङ्खल व्यक्तिले विभिन्न ठाउँमा सडकमा ढुंगामुढा राखेर अवरोध गरे,’ उनले भने, ‘ पछि सम्झाई बुझाई गरेर हटाउन लगाइयो, त्यसले गर्दा बिरामीलाई वीरगञ्ज पठाउन ढिलाइ भयो ।’

भारतको नयाँ दिल्लीमा रोजगारी गर्दै आइरहेका २१ वर्षीय ती युवक मार्च १९ तारिक अर्थात् चैत ६ गते गाउँमा आएका थिए । उनलाई ५ दिनदेखि ज्वरो आएपछि औषधि खाएर घरमै बसेका थिए । औषधि खाएपनि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएको थियो । उनको बारेमा खबर आएपछि गाउँपालिकामार्फत् गाडी पठाएर उपचारका लागि वीरगञ्ज पठाइएको पालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहका अनुसार दिल्लीबाट घर फर्कने क्रममा सीमा नाकामा उनको ज्वरो जाँच गर्दा सामान्यभन्दा धेरै भेटिएको थिएन ।

यसैबीच, आपतकालीन वडा २ स्तरीय समन्वय समितिको बैठक बसेर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरस्वती मावि ठोरीमा क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको वडा अध्यक्ष किशोर तामाङले बताए ।

बैठकले वडाभित्र भारत लगायत अन्य मुलुकबाट आएकाहरुको लगत राख्ने, प्रचारप्रसार अभियानलाई तीब्रता दिने निर्णय समेत भएको तामाङले बताए ।

बिरामी बोकेको टिपर रोकेका छैनौं-नागरिक समाज

गाउँपालिकामा कोरोना संक्रमणको बिरामी भेटिएको भन्ने हल्ला चलेपछि लकडाउन कडाइका साथ पालना गराउन सर्वसाधरणले बाटो अवरुद्ध गरेको ठोरी नागरिक समाज विजयबस्तीका सन्तोष श्रेष्ठले बताए ।

एक गाउँबाट अर्को गाउँ जान पनि बन्द गर्नुपर्ने देखियो भनेर स्थानीयले ठाउँ ठाउँमा स्वतस्फूर्त रुपमा बाटो बन्द गरेको उनले बताए । टिपर चलाउनुको उद्देश्यको बारेमा नबताई टिपर फिर्ता लगेको र बाटो अवरुद्ध भएको हल्ला फिँजाएको दाबी उनको छ ।

बिरामी उपचारका लागि टिपर प्रयोग गरिएको भन्ने सूचना पाएको भए स्थानीयले सडक अवरुद्ध नपार्ने दाबी उनको छ। स्थानीयलाई अत्यावश्यक कामका सवारी सञ्चालन गर्न दिनुपर्छ भनेर सम्झाएपछि अवरोध हटाइएको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment