Comments Add Comment

माइकिङ गर्दै टोलटोलमा पुग्यो साल्ट ट्रेडिङको भ्यान

१८ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्याकाको टोल–टोलमा सुपथ मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ ।

लकडाउन सुरु भएपछि भ्यानमार्फत दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटाजस्ता खाद्यान्ल लिएर विभिन्न टोलमा पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । यस्तै साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुरलगायतका अउटलेट पनि लकडाउनको बेलामा पनि सञ्चालन गरिएको छ ।

प्रचलित बजार मूल्य भन्दा साल्ट ट्रेडिङको सामान १० प्रतिशत सस्तो रहेको राजभण्डारीले बताए ।

मोबाइल भ्यानमा चामल, नुन, दाल, गेडागुडीसहितको प्याक बनाई बिक्री गरिएको छ । साल्ट ट्रेडिङले नुन प्रतिकिलो २० र चिनी ७३ रुपैयाँ बिक्री गरेको छ । यस्तै दाल, गेडागुडी भने स्वादअनुसार मूल्य फरक छ ।

प्याकिङ गर्ने कर्मचारी अभावमा मोबाइलमा भ्यानमा खुद्रामा चामल बिक्री गर्न भने नसकेको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । आउटलेटसम्म पुग्ने ग्राहकले भने एसटीस ग्याससमेत खरिद गर्ने सक्नेछन् ।

भ्यान आएको कसरी थाहा पाउने

पछिल्लो ५ दिनमा साल्ट ट्रेडिङको भ्यान ललितपुर र काठमाडौंको दुई दर्जन भन्दा बढी स्थानमा पुगिसकेको छ । हाल दुई वटा मात्रै भ्यानबाट सेवा दिइएको  सूचना अधिकारी राजभण्डारीले बताए । भ्यान पुगेको टोलमा माइकबाट ग्राहक बोलाउने गरिएको उनको भनाइ छ ।

‘साल्ट ट्रेडिङको घुम्ती भ्यान आयो, अत्यावश्यक वस्तु किन्न आउनु्ुस् भन्दै माइकिङ हुन्छ, आएका मान्छेलाई सामाजिक दुरी कामय गर्दै खटिएका कर्मचारीले सामान बिक्री गर्छन्’ राजभण्डारीले भने ।

काम गरेको देखाउने जस्तो मात्रै भयो

साल्टट्रेडिङको घुम्ती पसल प्रभावकारी नभएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।  काठमाडौंको जनघनत्व अनुसार साल्ट ट्रेडिङको घुम्ती भ्यानको संख्या अत्यन्तै कम भएको, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘दुई वटा भ्यानबाट सामान बाँडेर रमिता देखाइयो, यो पटक्कै प्रभावकारी भएन । बजारमा ९० रुपैयाँ किलोमा चिनी बिक्री भइरहेको छ साल्ट ट्रेडिङको हस्तक्षेप देखिएको भए हुन्थ्यो’ उनी भन्छन् ।

अर्का उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ साल्ट ट्रेडिङको भ्यान गुड्ने बाटो जनतालाई नै जानकारी नहुने बताउँछन् । ‘कुन दिन भ्यान कहाँ कहाँ जान्छ, के के बेच्छ ? पसलमा भन्दा घुम्ती भ्यानमा किन सामान किन्ने खोइ सूचना संयन्त्र ?’ बानियाँले प्रश्न गरे ।

सहुलियत पसल खुलेको भनिए पनि जनता त्यहाँसम्म पुग्नै नसक्ने काम राज्यबाटै भएको उनले बताए । सरकारको काम नतिजा देखिने गरी जनतालाई सेवा दिनु भन्दा झारा टार्नेजस्तो मात्रै भएको बानियाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment