Comments Add Comment

सार्क कोभिड–१९ कोषमा दुई अर्ब, कसरी हुन्छ खर्च ?

१९ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध देशहरूले स्थापना गरेको ‘सार्क कोभिड–१९ आपतकालीन कोष’मा दुई अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा हुने भएको छ ।

नेपालले पनि यो कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने जनाइसकेको छ ।

कोषमा भारतले सबभन्दा बढी एक करोड अमेरिकी डलर, श्रीलंकाले ५० लाख डलर, बंगलादेशले १५ लाख डलर, अफगानिस्तानले १० लाख डलर, माल्दिभ्सले दुई लाख डलर र भुटानले एक लाख डलर जम्मा गर्ने भएका छन् ।

चैत २ गतेको भिडियो कन्फ्रेन्सबाट सार्क राष्ट्रका सदस्यहरूले आपतकालीन कोष स्थापना गरेर कोरोनासँग सामूहिक रुपमा लड्ने सहमती गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको कोषमा सदस्य देशहरूलाई स्वयंसेवी योगदानको आधारमा रकम जम्मा गर्न भनिएको छ ।

प्राथमिकतामा आफ्नै देश

कोषमा जम्मा रकम कसरी खर्च गर्ने भन्ने कार्यविधि तय गर्ने जिम्मेवारी सार्क परराष्ट्र सचिवहरूलाई दिइएको छ । यसको नेतृत्व भारतीय विदेश सचिवले गरेका छन् ।

कोषको रकम सार्क देशहरूमा अति आवश्यक चिकित्सकीय सामग्री आपूर्ति तथा स्वास्थ्य उपकरण खरिदमा लगाइने भएको छ । घोषणा गरेको रकम खर्च प्राथमिकतामा सम्बन्धित देश नै पर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बताए ।

संक्रमण बढेर एकअर्काको सहयोग नभई नहुने अवस्थामा भने कोषको रकम आवश्यकताको आधारमा खर्च गर्न सकिने डा. भट्टराईले उल्लेख गरे । मोदीले कोष स्थापनाको प्रस्ताव गर्दा पनि आवश्यकता अनुसार जुनसुकै मुलुकले रकम उपयोग गर्नसक्ने बताएका थिए ।

गत बिहीबार स्वास्थ्य सेवा विभाग स्तरीय भिडियो कन्फ्रेन्समा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साझा सूचना केन्द्र बनाउने सहमति भएको छ ।

कन्फ्रेन्समा सहभागी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ एक सुत्रीय लक्ष्य बनाएर कोरोनाको सामना गर्न सबै देश तयार भएको बताउँछन् ।

दक्षिण एसियामा कोरोना

कोरोनाबाट दक्षिण एसियामा ८२ जनाको ज्यान गइसकेको छ । बुधबार बिहानसम्म भारतमा ४५ जनाको ज्यान गएको छ । यस्तै, पाकिस्तानमा २६, बंगलादेशमा ५, अफगानिस्तानमा ४ र श्रीलंकामा २ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या भने पाकिस्तानमा धेरै छ । पाकिस्तानमा दुई हजार ३९, भारतमा १५ सय ९०, श्रीलंकामा एक सय ४३, अफगानिस्तानमा एक सय ९६, बंगलादेशमा ५१, माल्दिभ्समा १८, नेपालमा ५ र भुटानमा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा दक्षिण एशियामा पाकिस्तानमा कोरोनाको सबभन्दा बढी असर देखिन्छ ।

पाकिस्तानको अपरिपक्वता

सार्क कोभिड–१९ आपतकालीन कोषमा रकम जम्मा नगर्ने पाकिस्तान एक्लो देश हो । जबकी भिडियो कन्फरेन्समा उसले पनि कोषमा रकम राख्ने प्रतिबद्धता जनाएको थियो ।

‘भिडियो कन्फेरेन्सदेखि नै पाकिस्तानले आफनो कूटनीतिक परिपक्वता देखाउन सकेको छैन’ एक पूर्वपरराष्ट्रमन्त्री भन्छन्, ‘सार्कको सन्दर्भमा भारतले गरेको गल्ती कोरोना महामारीविरुद्धको लडाईमा पाकिस्तानले गरिरहेको छ ।’

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटानबाट प्रधानमन्त्रीले सहभागिता जनाएका थिए । अफगानिस्तान र माल्दिभ्सका राष्ट्रपतिले भाग लिए ।

सात देशबाट राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख सहभागी मञ्चमा पाकिस्तानले राज्यमन्त्री स्तरीय प्रतिनिधि पठाएको थियो । पाकिस्तानबाट प्रधानमन्त्रीका स्वास्थ्य सहायक डा. जाफर मिर्जा सहभागी थिए ।

कोभिड–१९ आपतकालीन कोषलाई सार्क महासचिव मातहत राख्नुपर्ने पाकिस्तानको माग छ ।

नेपाललाई अवसर

पाकिस्तानको तर्फबाट सार्क महासचिव बनेका अम्जद हुसेन बी सियालको पालामा शिखर सम्मेलन हुनसकेन । पाकिस्तानमा शिखर सम्मेलन गर्न भारत अवरोध बन्यो ।

भारत–पाक टकरावका कारण चलायमान हुन नसकेको सार्कमा नेपालले आफ्नो भूमिका देखाउनुपर्ने परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् ।

अध्यक्ष राष्ट्र भएको नाताले पनि सार्कलाई चलायमान बनाउन नेपालले नेतृत्वदायी भूमिका निभाउनुपर्ने उनीहरुको मत छ । पञ्चशीलमा आधारित परराष्ट्र नीति लिएको नेपालका लागि कोभिड–१९ को महामारी सार्क देशहरूलाई जोड्ने राम्रो अवसर हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment