+
+

बारीमा साग फुल्यो, किन्ने मान्छे भएनन्

सरकार भन्छ– ढुवानीमा २५ प्रतिशत अनुदान दिइएको छ

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत १९ गते १५:२०

१९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर यतिबेला सबै क्षेत्रमा परिरहेको छ । समस्या तरकारी खेती गर्नेहरुलाई पनि परेको छ । तरकारी खेतीलाई नै मुख्य आम्दानीको स्रोत बनाएका राजधानी आसपासका किसानसमेत तरकारी नबिकेर समस्यामा छन् ।

अनलाइनखबरको टोली भक्तपुरको बोडे पुग्दा तरकारी किसानहरु काममा व्यस्त थिए । कोही तरकारी टिप्दै थिए त कोही गोडमेल र पानी लगाउँदै थिए । सागसब्जीले खेत सजिएको थियो । चारैतिर हरियाली, हेरिरहुँजस्तै । प्याज ढकमक्क फुलेको थियो । चम्सुर– पालुङ्गो छिप्पिसकेको थियो । लसुन बारीभरि लत्रिएको थियो । मुला पनि काठ पस्ने तयारीमा देखिन्थ्यो ।

बीचमै रहेको रायोको सागको अवस्था नाजुक देखियो । पातहरु पहेंला भएका थिए । बाेटहरू फुल्न थालेका थिए ।

‘अहो साग त बारीमै खेर जाने भएछ ।’

खेतमा गोडमेल गरिरहेकी एक महिलाले भनिन्, ‘यो त अब कामै लाग्दैन नि, अस्ति नै टिपेर बेच्नुपर्ने थियो टिप्न पाइएन । लकडाउन अघिसम्म खाउँखाउँलाग्दो थियो, लकडाउनले गर्दा पानी पनि हाल्न पाइएन, बेच्न पनि पाइएन । सबै कुहियो, अब यो गुन्द्रुक बनाउन पनि काम लाग्दैन ।’

अहिले खेतमा रहेका सबै तरकारी सुकेर, कुहिएर खेर जान लागेको बताइन् । बिक्री गर्ने समय भइसकेकाले अबको धेरै दिन नटिक्ने उनले बताइन् ।

बजारसम्म लैजान नसकिने र तरकारी किन्नका लागि बारीमा व्यापारीहरु नआउने भएकाले तरकारी बारीमै कुहिने चिन्ताले पिरोलेको उनले सुनाइन् ।

नजिकै चम्सुरको साग टिपिरहेकी मनमति प्रजापतिले लगानीसमेत नउठ्ने भएपछि चिन्तामा परेको सुनाइन् । उनले तरकारी बेचैरै अरुबेला दैनिक उपभोग्य सामग्री अनि बालबच्चाको पढाई खर्चसमेत पुर्‍याउने गरेकी थिइन् । तर, पछिल्लो १५ दिन यता उनको बारीको तरकारी बिक्री भएको छैन ।

एक व्यक्ति सडक किनारामा तरकारी पखालिरहेका थिए । उनीचाहिँ व्यापारी रहेछन् । भने, ‘मेरो जावलाखेलमा तरकारी पसल छ, कालीमाटी जानुभन्दा बारीमै आउँदा फाइदा हुन्छ त्यसैले आएको’ उनले भने, ‘तर यहाँबाट लैजान पनि धेरै गाह्रो छ, दिउँसो लैजान पाइँदैन, राति १२ बजे लैजाने गरेको छु ।’

पहिलेकै भाउ तिरेर तरकारी लैजान पनि नसकिने उनले सुनाए । गाडीबाट ढुवानी नहुने भएकाले स्कुटरमा, त्यो पनि रातिराति लगेर बिक्री गर्ने गरेको उनले सुनाए । आफूले लगेर महंगोमा बिक्री गर्न नसक्ने भन्दै उनले अहिले आफैं पनि समस्यामा रहेको सुनाए ।

अन्य व्यापारीहरु उनी जसरी खेतमा पुग्दैनन् । तरकारी बोकेर बजारसम्म पुर्‍याउन किसानले सक्दैनन् । उनीहरुलाई तरकारी खेतमै कुहिने चिन्ता छ । बोडेका सबै किसानको गुनासो उस्तै छ ।

अनलाइनखबरकर्मी भक्तपुरको राधेराधे भन्ने ठाउँमा त्यहाँ ठूलो क्षेत्रफलमा साग लगाइएको पाइयो । बारीमा हरियाली थियो । रायोको फुलेर पहेंलै पनि देखियो ।

‘साग बिक्री नभएका कारण बढेर यस्तो बिजोग भइसक्यो, यस्तो भएपछि त खानेले पनि खाँदैनन्’ खेतमा साग टिपिरहेकी मञ्जु श्रेष्ठले भनिन्, ‘बसाइँ ठिमीमा छ, लकडाउनले गर्दा खेतसम्म आउन पनि मुस्किल हुन्छ, बिक्री गर्ने त कुरै भएन ।’

अन्य समयमा तरकारी लिन गाडीहरु खेतमै पुग्थे । नपुगे पनि १८ रुपैयाँ भाडा तिरेर श्रेष्ठले सार्वजनिक सवारी साधनबाट आफैं बजार पुर्‍याउँथिन् । तर, अहिले न खेतमा गाडी आउँछ, न बजारसम्म पुर्‍याउन सार्वजनिक यातायात पाइन्छ । ‘बढेर धेरै अग्लो भयो, फुल्न थालेको छ’ उनले भनिन्, यो फुलिसकेपछि चाहिँ सबै सुक्छ ।’

मञ्जुले जग्गा भाडामा लिएर तरकारी खेती गरेकी रहिछिन् । बारीबाट आम्दानी नहुने भएपछि उनको चिन्ता बढेको छ । उनले भनिन्, यस्तो हुन्छ भन्ने थाहा पाएको भए त हामी तरकारी नै लगाउने थिएनौं ।’

मञ्जुले थपिन्, ‘हामी समस्यामा पर्‍यौं, के सरकारले हामीलाई हेर्छ ?’

कृषिमन्त्री भन्छन्– ढुवानीमा २५ प्रतिशत अनुदान

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानलाई समस्या पर्न दिनुहुँदैन भन्ने पक्षमा आफू रहेको बताए । उनले मन्त्रिपरिषद्बाटै किसानलाई अनुदान दिने निर्णय समेत भइसकेको बताए ।

मन्त्री भुसालका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको रोकथामका क्रममा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधिमा सरकारले कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिइने भएको छ ।

दुध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्न लगायत सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत् सरकारले उपलब्ध गराउने मन्त्री भुसाल बताउँछन् ।

कृषि मन्त्रालयका अनुसार, नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान दिइने भएको हो । किसान तथा उत्पादकलाई बजार केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारी साधनको पासको व्यवस्थासमेत गरिएको छ ।

‘महामारीबाट बच्न र दैनिकीसमेत अवरुद्ध हुन नदिन सावधानीपूर्ण ढंगले सहज आपूर्तिको व्यवस्था गरिएको छ’ मन्त्री भुसालले भने, ‘किसानमाथि परेको असरबारे अध्ययन भइरहेको छ, थप कार्यक्रमसमेत ल्याइनेछ ।”

तर, यसका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए ।

तश्वीर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?