Comments Add Comment

‘अब मैदानमा फर्किँदा पक्कै कठिन हुनेछ’

‘खेल्न नपाउँदा छटपटी भइरहेको छ : फुटबलर रेनुका नगरकोटी

२० चैत, काठमाडौं । फागुन २२ गते अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत ३ गतेदेखि सञ्चालन गर्ने गरी उपमेयर कप महिला राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक गरेको थियो ।

त्यतिबेलासम्म विश्वभर फैलिएको कोरोना भाइरस महामारीको त्रासले नेपाललाई पनि छोपिसकेको थियो । कोरोना महामारीकै कारण क्रिस गेललगायत स्टार खेलाडी आउने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट पनि फागुन २२ गते नै स्थगितको घोषणा भयो ।

फागुन २२ गते नै साँझ अबेर युवा तथा खेलकुद मन्त्रालयहुँदै राष्ट्रिय खेलकुद परिषद्बाट सम्पूर्ण खेलकुद गतिविधि रोक्न खेल संघहरुलाई निर्देशन गयो । एन्फाले त्यसको भोलिपल्ट फागुन २३ गते महिला लिग स्थगितको घोषणा गर्‍यो ।

चैत ३ देखि १३ गतेसम्म धरानमा राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल हुने तालिका थियो । जसमा तीन विभागीय र उपमेयर कप महिला लिगमा उत्कृष्ट चार स्थान हात पारेका नगरपालिकाका टोली गरी सात टोलीले प्रतिस्पर्धा गर्दै थिए ।

यस पटक महिला लिग डबल राउण्ड रोविन लिगमा आयोजना हुँदैथियो । विजेताले नगद १५ लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले घोषणा गरेको थियो । तर, कोरोना भाइरसको कारण तत्कालका लागि यो सबै उत्साह टरेको छ । अहिल मुलुकमा लकडाउन छ, खेलाडीहरु खेलविहीन बनेका छन् ।

राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी एपीएफकी खेलाडी रेनुका नगरकोटी कोरोना महामारीका कारण अन्योल भएको बताइन् । ‘राष्ट्रिय महिला लिग हुने तयारी भइरहेको थियो । यो पटक राम्रो प्राइज मनि थियो, त्यसैले सबै जना उत्साहित थिए । तर, अब फेरि कहिले हुन्छ थाहा छैन’ उनले निराशा व्यक्त गरिन् ।

राष्ट्रिय लिग खेल्ने नगरपालिकाका टिमहरु पनि यो वर्ष दुई चरणको छनोट पार गरेर आएका थिए । विदेशी खेलाडी राख्न पाउने व्यवस्था पनि थियो । त्यसैले विभागीय टीमहरु यसपटक विपक्षी टिम बलियो हुने अनुमानसहित तयारीमा थियो । उनको टीम एपीएफले पनि तयारी गरिरहेको थियो । तर, कोरोनाले गर्दा त्यो तयारी पनि काम लागेन ।

यो त भयो अलिक अगाडिको कुरा । अहिले झन् कठिन स्थिति आएको छ । सरकारले चैत ११ गतेदेखि अस्पताल र अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यो क्रम चैत २५ गतेसम्मका लागि तोकिएको छ । लकडाउनको अवधि अझै बढ्ने अनुमान पनि छ ।

लकडाउनका कारण घरमै थुनिएका खेलाडी आफ्नो फिटनेस कायम राख्न केही अभ्यास त गर्दैछन्, तर यो पर्याप्त हुँदैन । एपीएफको जागिरे रेनुका अहिले काठमाडौंमै लकडाउन दैनिकी बिताइरहेकी छिन् । घर पनि जान पाइनन् । लकडाउनकै बेला पनि कतै ड्युटी पर्ने हो कि भनेर स्ट्याण्ड बाई पोजिसनमै छिन् ।

रेनुकाको रुममेट फुटबलकै मनमाया लिम्बु थिइन् । तर, मनमाया करारमा भएकोले उनी घर गइन् । त्यसपछि रेनुका एक्लै छिन् । तर, साथीहरु नजिक नजिकै बस्ने भएकोले उनलाई धेरै समस्या भने छैन । ‘टाइम पास भइरा’छ । बिहान र बेलुका हल्का एक्सरसाइज गर्छौं । अनि फोन चलायो बस्यो’ उनले भनिन् ‘अहिले भोक धेरै लाग्छ त्यसैले के-के मन लाग्छ बनाउने खाने खाने ।’

काठमाडौंमा धेरै फुर्सदसँग बस्दा उनलाई घरको यादले सताएको छ । घर जान पाए कति रमाइलो हुन्थ्यो भन्ने उनलाई पनि लागेको छ । ‘घरमा भएको भए सबैजना सँगै हुन्थ्यौं, मज्जाले टाइम पास हुन्थ्यो होला’ रेनुका भन्छिन् ‘यहाँ त धेरै गाह्रो हुन्छ घरको याद आउँछ जान मन पनि लाग्छ । तर, अहिले जाने स्थिति छैन ।’

रेनुकाको गाउँ घरमा आमा, बुबा, दिदी र बहिनी छन् ।

खेल्न नपाउँदा छटपटी

खेलाडीको काम मैदानमा खेल्ने, ट्रेनिङ गर्ने, शरीर फिट राख्ने हो । अझ रेनुका त विभागीय टीमको खेलाडी भएकाले प्रशिक्षण धेरै गरिरहन पाउँछिन् ।

क्लबस्तरको खेल एपीएफबाट र अन्तर्राष्ट्रिय खेलहरु राष्ट्रिय टीमबाट खेल्नुपर्छ । गत मंसिरमा १३ औं साग खेलेयता नेपालको महिला टिमले अन्तर्राष्ट्रिय खेल त खेलेको छैन । तैपनि देशमै भएको प्रधानसेनापति कप र धनकुटामा एउटा प्रतियोगिता खेलेको थियो । त्यसबाहेक अरु खेल भएको छैन ।

अहिले लकडाउनले प्रशिक्षण रोकिँदा खेलाडीलाई पनि फिट रहन कठिन बनाएको छ । ‘धेरै शारीरिक अभ्यास गरिरहने भएर होला अहिले एक्कासी यसरी बस्नुपर्दा गाह्रो हुन्छ । सुरुको २-४ दिन त ज्वरो नै आउला जस्तो भएको थियो । यसरी बस्दा जीउ पनि दुख्छ’ रेनुकाले लकडाउन अनुभव सुनाइन् ।

उनी खेल नखेली लामो समय बसेको यो पहिलो पटक हो, त्यसैले छटपटी भएको बताउँछिन । ‘पहिला त छुट्टी हुँदा नि घर गइन्थ्यो । घर जाँदा फुटबल खेल्थेँ ।’ गाउँमा फुटबल खेल्न चाहने धेरै हुने भएकोले पनि छुट्टीको समय सदुपयोग गर्थिन्, उनी । ‘गाउँमा बहिनीहरु धेरै छन्, उनीहरुसँग ट्रेनिङ गर्दा, खेल्दा रमाइलो हुन्थ्यो । छुट्टीमा पनि फुटबल चाहिँ छोड्दिन थिएँ ।’ रेनुका विगत सम्झिन्छिन् ।

रेनुकाको गाउँ रौतहटमा महिला फुटबलको माहोल बेग्दै छ । त्यहाँका धेरै किशोरी फुटबल खेल्छन् ।

अब कोरोना भाइरसको त्रास कहिले सकिने र फुटबलजस्ता खेल गतिविधि नियमित हुने हो कसैलाई थाहा छैन । तर, फेरि मैदान फर्कँदा के होला भन्ने अनुमान उनलाई अहिले नै छ । ‘जे होस् अब एक्कासी ग्राउण्डमा प्राक्टिस गर्न जाँदा चाहिँ हामीलाई धेरै गाह्रो हुन्छ’ उनी भन्छिन् ।

अहिले फुटबलमा फर्किनुभन्दा पनि पहिले कोरोना त्रास हट्नुपर्ने रेनुका बताउँछिन् । ‘तर यो सब ठिक हुनुपर्‍यो । फुटबल त छँदै छ नि फेरि खेलौंला नि !’ रेनुकाले अहिले फुटबलभन्दा मानिसको स्वास्थ्य मुख्य विषय रहेको बताइन् ।

साथीहरु हाल पनि आफ्नै जस्तो रहेको उनले सुनाइन् । फुर्सदको बेला धेरै खेलाडीले युट्यबमा फिल्म हेर्ने, अन्तर्राष्ट्रिय खेलकुदको भिडियो हेरेर दिन बिताइरहेका छन् । रेनुका पनि त्यसै गर्छिन् । यति मात्र होइन ।

‘एकछिन टिकटक पनि हेर्ने गरेको छु । रमाइलो लाग्छ तर धेरैचाहिँ हेर्दिन’ रेनुकाले भनिन् ‘धेरै चाहिँ हेर्न मज्जा लाग्छ, तर लकडाउनमा मैले पनि ३–४ वटा बनाएको छु ।’

२४ वर्षकी रेनुकाले चार वर्ष अघि नेपालको राष्ट्रिय टिमको कप्तानी गरिसकेकी छिन् । तात्कालीन कप्तान अनु लामा घुँडाको चोटका कारण टिममा नपरेपछि भारतमा भएको चौथो साफ महिला च्याम्पियनसिपमा रेनुकाले नेपालको कप्तानी गरेकी थिइन् । त्यसपछि निरु थापा नेपालको कप्तान बनिन् । १३ औं सागपछि निरुले फुटबलबाट सन्यास घोषणा गरिसकेकी छिन् ।

विसं २०६५ सालमै रौतहटमा भएको एक प्रतियोगितामा ‘प्लेअर अफ दि टुर्नामेन्ट’ घोषित भएकी थिइन्, रेनुका । रौतहटबाट खेल्दा खेल्दै उनी विभागीय टिम एपीएफको नजरमा परिन् र काठमाडौं आइन् । सुरुमा एपीएफको पहिलो रोजाईमा पर्न नसकेपछि एक वर्ष आर्मीमा गइन् । पछि फेरि एपीएफमै फर्किइन् ।

रेनुका सन् २०१० मा पहिलो पटक राष्ट्रिय टिममा परेकी थिइन् । त्यसको ६ वर्षपछि २०१६ सालमा रेनुकाले कप्तानी आर्मब्याण्ड लगाउँदै नेपाली टिमको नेतृत्व समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment