Comments Add Comment

सन्तान सम्झिँदै रुन्छन् क्वारेन्टाइनमा बसेका आमाहरु

२० चैत, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ७ बाट बुधबार ६ वर्षीया बालिकाले आफ्नी आमा  रमा सापकोटा (नाम परिवर्तन) लाई फोन गरेर सोधिन्–

‘आमा कहाँ हुनुहुन्छ ?’

‘म आउँदै छु, चाँडै घर पुग्छु’ रमाले संक्षिप्त जवाफ दिइन् ।

छोरीले खुशी हुँदै फोन काटिन् । यता,  रमाको आँखामा भने आँसु थामिएन ।

भारतबाट आएकी घोडाघोडी–७ कि रमा गत मंगलबारदेखि घोडाघोडी नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा छिन् । तर, उनले आफ्ना सन्तानलाई भने आफू घर आउँदै गरेको र लकडाउनका कारण बीच बाटोमै रहेको बताउने गरेकी छन् ।

उनलाई बिहीबार उनका आफन्तहरु भेट्न आए । गाउँबाट आएकी जेठानी दिदीलाई रमाले सबैभन्दा पहिले छोराछोरीको खबर सोधिन् । जेठानी दिदीले सबै ठीक रहेको बताएपछि उनी खुसी भइन् ।

‘बाबु–नानीलाई पनि यहीँ बोलाउन हुने थियो, तर वर्ष दिनमा भेट हुँदा पनि उनीहरुलाई सुम्सुम्याउन सकिने अवस्था छैन,’ भावुक हुँदै उनले भनिन् ।

सरिता ठकुरी (नाम परिवर्तन) को पीडा पनि रमाको जस्तै छ । उनी पनि क्वारेन्टाइनमा छिन् । उनको घरमा ५५ वर्षीया सासुआमा र ३ सन्तान छन् ।

एक वर्ष मजदुरी गरेर घर फर्किंदा पनि छोराछोरीलाई देख्न नपाएको उनको गुनासो छ । ‘बाबुहरु बाटो कुरिरहेका छन् । घर नजिकै पुग्दा पनि देख्न पाइएन,’ उनले भनिन्, ‘उनीहरु यहाँ आएपछि रुन्छन् होला । म त्यो देख्न सक्दिनँ ।’

सीताकुमारी भाट (नाम परिवर्तन) ले पनि आफू क्वारेन्टाइनमा रहेको कुरा छोराछोरीलाई थाहा दिएकी छैनिन् । छोराछोरीले थाहा पाएपछि उनीहरु आउने र भेटघाट हुँदा जोखिम बढ्ने भएकाले उनले क्वारेन्टाइनको बसाइँ गोप्य राखेकी हुन् ।

तर, आफूमा कुनै समस्या नरहेको उनी दाबी गर्छिन् । ‘हामी ११ जना हिँडेरै आएका हौं । कसैसँग भेटेको पनि छैन । हामीलाई त्यस्तो समस्या छैन,’ उनले भनिन्, ‘तर, जोखिम हुन सक्छ भनेर हामी यहाँ बसेका हौँ ।’

सरकारले भारतलगायत तेस्रो मुलुकबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने नीति लिएपछि उनीहरु घर फर्किन पाएका छैनन् ।

डरले जान मान्दैनन् गाउँ

बिहीबार हरिलाल भट्ट आफन्त भेट्न क्वारेन्टाइन पुगे । क्वारेन्टाइनमा उनका सम्धी, दाजु, छोरी र ज्वाइँ छन् । भट्टले दाजुलाई गाउँ जान मन छ भन्दै जिज्ञासा राखे ।

‘गाउँमा केही भइहाल्यो र हामीलाई आरोप आयो भने के गर्ने ?’ ६७ वर्षीय उनका दाजुले भने, ‘संक्रमण छैन भन्ने पुष्टि भएपछि बल्ल जाने हो । ’

उनीहरु सबै तत्काल गाउँ जाँदा समस्या हुन सक्ने भन्दै क्वारेन्टाइनमा निर्धारित १४ दिन कटाउन तयार भएको बताउँछन् ।

क्वारेन्टाइनमा रहेका तारा राम शर्मा (नाम परिवर्तन) पनि अहिल्यै गाउँ जान उपयुक्त नरहेको बताउँछन् । ‘सरकारले जाऊ भनेपछि बल्ल हामी जान्छौँ,’ उनले भने, ‘आफ्नो कारणले अरुलाई पनि समस्या हुन सक्छ । ज्यानभन्दा ठूलो केही होइन ।’

घोडाघोडी नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा रहेकाहरुलाई समस्या हुन नदिन सबै व्यवस्था गरिएको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य दुर्गा गौतमले बताए ।

‘बिहान साँझ खानामात्रै होइन, हामीले उहाँहरुको आग्रहअनुसार अन्य खाना पनि खुवाउने गरेका छौँ,’ उनले भने, ‘क्वारेन्टाइनमा रहनु भएकालाई कुनै समस्या छैन ।’

घोडाघोडी बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा अहिले १४ जना छन् । १४ जनामध्ये ११ जना पुरुष र ३ जना महिला हुन् ।

एउटै गाउँबाट मजदुरी गर्न भारतको चम्पावत पुगेका उनीहरु तीन दिनसम्म पैदल यात्रा गरेर नेपाल आएका हुन् । नेपाल आइपुगेको जानकारी पाएपछि घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीको निर्देशनमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment