Comments Add Comment

१३ औं सागमा स्वर्ण पदक जितेकी अनुले छाडिन् एपीएफ

२० चैत, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गोल्ड मेडल जितेकी कराते खेलाडी अनु अधिकारीले विभागीय टोली एपीएफ छाडेकी छिन् । गत डिसेम्बरमा घरेलु भूमिमा भएको सागमा अनुले ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

एपीएफबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी अनुले अहिले एपीएफ छाडेकी हुन् । अघिल्लो महिना फागुनमै राजीनामा दिएको र स्वीकृत भइसकेको अनुले बताइन् ।

राष्ट्रिय टिमको क्याम्पमा रहेकी अनु टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा थिइन् । तर कोरोना भाइरसको महामारीका कारण टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ ।

नुवाकोट स्थायी घर भएकी अनु २०६९ सालमा करारमा एपीएफ पुगेकी थिइन् । २०७० सालदेखि उनी त्यहाँ जागिरेकै रुपमा काम गर्न थालिन् । यसबीचमा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय सबै प्रतियोगिता खेल्दा एपीएफमै रहेर खेलिन् ।

‘मैले एपीएफबाट करिब ७ वर्ष खेलेँ । एपीएफले मलाई धेरै दिएको छ । अहिले आफ्नो अध्ययनलाई अगाडि बढाउन एपीएफ छाडेकी हुँ,’ अनुले अनलाइनखबरसँग भनिन् ।

अनु स्नातकोत्तर तहको परीक्षाको लागि तयारी गरिरहेकी थिइन् । साथै टोकियो ओलम्पिक २०२० लाई पनि विशेष ध्यान दिएर तालिम गरिरहेकी थिइन् । तर विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि अहिले उनको परीक्षा र तालिम दुवै रोकिएको छ ।

टोकियो ओलम्पिक एक वर्षपछि सरेको छ । अब उनी ओलम्पिककै तयारीमा लाग्ने बताइन् । एपीएफ छाडे पनि विभागले आफूलाई धेरै कुराहरु दिएकाले एपीएफकै नामबाट ओलम्पिक छनोट खेल्ने बताइन् ।

अनुले घरेलु भूमिमा साग गोल्ड मेडल जित्नुभन्दा एक दशकअघि नै साग खेलेकी थिइन् । बंगलादेशमा सन् २०१० मा भएको ११औं सागमा उनले प्रतिस्पर्धा गरेकी थिइन् । जहाँ उनले डेब्युमै रजत पदक जितिन् । जतिबेला उनी १६ वर्षको मात्र थिइन् ।

अनुले दुई वटा एसियन गेम्समा पनि प्रतिस्पर्धा गरिन् । २०१४ मा दक्षिण कोरिएको इन्चोन एसिएन गेम्स र २०१८ को इन्डोनेसियामा भएको जाकार्ता एसियन गेम्स उनले खेलेकी थिइन् । इन्डोनेसियामा उनी पदक नजिक पुगे पनि निर्णायक खेलमा जापानी खेलाडीसँग पराजित भइन् । उनले त्यहाँ दुई म्याच जितेकी थिइन् ।

२ एसियन गेम्स २ साग खेलेकी अनुले अन्य विभिन्न अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment