Comments Add Comment

गाईपालकको गुनासो : खुवाउने केही छैन, फुकाएर छाड्ने स्थिति आयो

२० चैत, काठमाडौं । लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ ।

सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भने पनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा पर्दै गएको हो ।

पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराल लगायतको मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेका हुन् ।

लकडाउन थपिएसंगै दाना, भुसा, पराल लगायत आपुर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन् । काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल पाइन छाडेपछि किसान चिन्तित बनेका छन् ।

उनीहरु गाईनै फुकाएर छोड्ने स्थितिमा पुगेका छन् । लकडाउनले दाना पराल ल्याउन नपाएपछि गाईपालकको अगाडि गाईलाई बचाइराख्ने र उत्पादित दुधको व्यवस्थापन मुख्य समस्याको विषय बनेका छन् । खानाको कमिले गाईको स्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै दुध उत्पादनमा पनि कमि आएको छ भने उत्पादित दुधको व्यवस्थापन पनि हुन सकेको छैन ।

निलबाराही मिश्रित कृषक समुहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारी र अर्का गाईपालक किसान गाईलाई खुवाउने आहारको अभावको स्थिति आएकाले आफूहरु गाइ फुकाएर छोड्न बाध्य हुने अवस्थामा पुगेको बताए ।

गाईपालक कृषक श्रेष्ठले भने ‘नेपाल सरकारले केही गरेर मान्छेलाई पाले जस्तै गाईवस्तु पनि पाल्नुपर्छ बचाउनुपर्छ है भने ठिकै हो । होइन भने फुकाउने छोड्ने भन्दा विकल्प छैन हाम्रो ।’

भण्डारीको गाई फाममा अहिले २० वटा गाई छन् । दाना अभावमा गाईको खानाको मात्रा घटाउँदा दुध उत्पादनमा पनि कमी आएको छ । त्यही दुधको पनि बजार व्यवस्थापनको समस्या भोग्नुपर्दा भण्डारी चिन्तित छन् ।

निलबाराही मिश्रित कृषक समुहमा ८० जना व्यवसायीक गाईपालक कृषक आवद्ध छन् । उनीहरुको फार्ममा झण्डै ३ हजार गाई छन् । यो समुहमा आवद्ध भएका गाईपालकहरुले मात्रै दैनिक १६ हजार लिटर दुध उत्पादन गर्दे आएका थिए ।

अहिले दाना र आवश्यक भुसाको अभावमा उपादन घटेर ४ हजार लिटरमा झरेको छ । त्यो ४ हजार लिटर दुधको पनि व्यवस्थापन गर्न नसक्दा कृषक थप मर्कामा परेका हुन् ।सरकारले तत्काल कुनै निर्णय नलिने हो भने गाईपालक किसान व्यवसायबाट नै पलायन हुनसक्ने अबस्था आउने गाईपालक किसान भण्डारीले बताए ।

उनले भने ‘लकडाउन लम्बियो भने धेरै प्रतिशत मान्छेहरु यो व्यवसाय छोडेर भाग्नुपर्ने स्थिति छ । बैंकको लोनले डुब्ने स्थिति छ । घर घडेरी, जग्गा जाने स्थिति छ । व्यवसाय नै चौपट हुन्छ । सरकारले बेलैमा ध्यान देओस् ।’

अन्य व्यवसाय जस्तो सटर बन्द गरेर हिँड्न मिल्ने व्यवसाय नभएकाले गाईलाई बचाइराख्नुको साथै गाईपालक कृषकको लगानी डुब्न नदिन सरकारले दाना र दुधको व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए । दाना अभावमा गाईलाई आधा पेट खुवाएर राख्दा त्यसले दीर्घकालीन उत्पादनमा असर पर्ने भण्डारीले बताए ।

अर्का कृषक रविन शर्मा लकडाउनको समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरे पनि गाईपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे । उनी गाईलाई खुवाउने दाना र उत्पादित दुध व्यवस्थापनको प्रबन्ध मिलाइदिए सरकारसग अरु आशा र अपेक्षा नरहेको बताए ।

उनले भने “दाना, भूसा केही नपाउँदा गाई बचाउन गाह्रो भइराखेको छ । सरकारले हामी किसानहरुलाई हेरिदिनुपर्यो । सहज तरिकाले हेरिदिनुपर्यो । हाम्रो व्यवसाय नडुबोस् । दाना, पीठो, चोकर चाहिँ ल्याउन पाइयोस् । खुवाउन पाइयोस् । त्यति चाहिँ खुल्ला गरिदिए हुन्थ्यो । हाम्रो व्यवसायलाई रोकावट नगरी निरन्तर गर्न पाए हुन्थ्यो ।’

काठमाडौं उपत्यकामा झण्डै ५ लाख गाई रहेको अनुमान गरिन्छ । गाईपालकहरु लकडाउनको समय थपिदै जाने क्रमसँगै गाईको आहारमा समस्या हुदा काठमाडौ उपत्यकाका तीन जिल्लामा मात्रै सयौ गाई खान नपाएर मर्ने अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले गाईपालक कृषकका लागि पनि राहत प्याकेज घोषणा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment