Comments Add Comment

विदेशबाट फर्केका सम्पर्कमा नआउँदा गाउँपालिकाको क्वारेन्टाइन खाली

२१ चैत, काठमाडौं । पछिल्लो एक महिनामा विदेशबाट गाउँपालिकामा आएका व्यक्तिहरू सम्पर्कमा नआउँदा सिन्धुपाल्चोकको एक गाउँपालिकाले बनाएको क्वारेन्टाइन खाली भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गत शुक्रबार क्वारेनटाइन तयार गरे पनि विदेशबाट आएका कुनै पनि व्यक्ति बसेका छैनन् ।

२० शैय्याको क्वारेनटाइनमा सुरक्षा, स्वास्थ्यकर्मी र खाद्यान्न व्यवस्था गरिएको छ । गाउँपालिकाले आफ्नो वडामा विदेशबाट आएका व्यक्तिको विवरण खोजी गर्न सबै वडालाई आग्रह गरेको थियो । तर, कुन व्यक्ति कति दिनअघि विदेशबाट आएको भन्ने सही तथ्यांक आउन ढिलो भएपछि गाउँपालिकाको क्षेत्रपालेश्वर माविमा बनाएको क्वारेन्टाइन खाली भएको हो ।

विदेशबाट आएका व्यक्तिहरूको सूचना गाउँका मान्छेले लुकाएकाले क्वारेन्टाइनमा राख्न समस्या भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । ‘हामीले सुरुदेखि नै विदेशबाट आएकाहरूको सही सूचना दिनको लागि आग्रह गर्दै आएका छौं। उल्टै गाउँका मान्छेले नै उनीहरूको सूचना लुकाए,’ अध्यक्ष लामाले भने ।

गाउँपालिकामा पछिल्लो एक महिनामा २५ जना विदेशबाट आएका छन् । जसमध्ये १४ दिन नकटेका १२ जना छन् । हाल उनीहरूमध्ये केही घरमै क्वारेन्टाइनमा बसिरहेका छन् ।

डाटा सकंलन गर्दा स्थानीयबाट सहयोग नमिलेको गुनासो अध्यक्ष लामाले गरे । लामाका अनुसार होम क्वारेन्टाइनमा बसेकालाई पनि गाउँपालिकाले आफूले बनाएको क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको छ ।

विदेशबाट आएकाहरू गाउँ डुल्दा आतंक

विदेशबाट आएकाहरूलाई कोरोनाको संक्रमण देखिएको समाचार सुन्दा र पढ्दा थाङ्पाल गाउँका बासिन्दा आफ्नो गाउँमा पनि त्यस्तै हुने हो कि भन्ने चिन्ताले सताउने गरेको बताउँछन‍् ।

स्थानीय बाबुलाल तामाङले भने, ‘बाहिरबाट आएकाहरू सचेत भएर क्वारेन्टाइनमा बस्नुपर्नेमा झन् गाउँमा घुमिरहेका छन् । सम्झाउँदा पनि नसुनेजस्तो गर्छन् । त्यही भएर संक्रमण फैलने हो कि भन्ने डर छ ।’

विदेशबाट आएको १४ दिन नकटेका १२ जनालाई शुक्रबारदेखि गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिने गाउँपालिकाले जनाएको छ ।

१४ दिन नकटेका व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखिए मेलम्ची नगरपालिकामा तयार भएको आइसोलेसनमा राख्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment