Comments Add Comment

कोरोनाको परीक्षण कम हुँदा संशय व्याप्त

पूर्वस्वास्थ्यमन्त्री थापाको प्रश्न- २५ गतेपछिको रणनीति के ?

२१ चैत, काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबारसम्म नेपालमा एक हजार २७७ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ ।

तीमध्ये ६ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ । त्यस्तै, काठमाडौंमा १५ र उपत्यका बाहिर एक सय ५ जना आइसोलेसनमा छन् ।

बिहीबार परीक्षणको संख्या ११ सय ८४ थियो । अर्थात् एक दिनमा ९३ जनाको परीक्षण भएको छ। बिहीबारसम्म आइसोलेसनमा रहेकाको संख्या एक सय पाँच थियो । शुक्रबार थप १५ जना आइसोलेसनमा गएका छन् ।

शुक्रबारबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुर, बागमती प्रदेशको राजधानी हेटौंडामा र सेती प्रादेशिक अस्पताल धनगढीबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार धरानमा ३९, जनकपुरमा ५, हेटौंडामा ५, पोखरामा १९ सुर्खेतमा सात र धनगढीमा ४ जनाको परीक्षण भएको छ ।

बाहिर परीक्षण गरिएकाहरुको पुनः टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गरेपछि मात्रै कोरोनाको संक्रमण पुष्टि भए/नभएको सार्वजनिक गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रदेश र मुख्य शहरहरुमा पठाइएको मेसिनको समेत परीक्षणका टेकु बाहिरको परीक्षणको पनि केही समय पुनः परीक्षण गर्नुपरेको उनले बताए ।

बुटवलमा परीक्षणका लागि मेसिन जडान कार्य जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनको भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण ल्याब स्थापना गर्ने कार्य अघि बढेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भने सुरुदेखि कोरोनाको परीक्षण हुँदै आएको छ । सरकारले देशका मुख्य शहरसहित सातै प्रदेशमा कोरोना भाइरस संक्रमणको उपचार व्यवस्था समेत मिलाएको छ ।

कोरोना भाइरसबाट बढी प्रभावित देशमध्ये इटालीमा प्रति १० लाख सात हजार जनामा परीक्षण गरिएको छ । नेपालमा प्रति १० लाखमा ३२ जनाको परीक्षण भएको हिसाब स्वास्थ्य मन्त्रालयको तथ्याङ्कबाट निकाल्न सकिन्छ ।

परीक्षण नै कम भएकोले कोरोना भाइरस महामारीकै रुपमा फैलिइरहेको त छैन ? भन्ने चिन्ता छ। विदेशबाट आएकाहरु गाउँ-गाउँमा निर्बाध घुलमिल गरिहेका छन् । दिनभरीको कामले बिहान-बेलुकाको जोहो गर्ने सहरी मजदुरहरु पनि रातभर हिँडेर आ-आफ्नो गाउँ पुगिरहेका छन् । ग्रामीण भेगमा लकडाउनको पूर्ण पालना भएको छैन ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबारसम्म विभिन्न जिल्लाबाट कोरोना भाइरसबारे तीन हजार पाँच सय दुई वटा जनस्तरबाट गुनासो आएका छन् । तीमध्ये अधिकांश कोरोना परीक्षणसँग सम्बन्धित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहेका स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले बताए ।

‘स्थानीय तहमा परीक्षणको व्यवस्था होस्’

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ जनशक्ति र किट विदेशबाट ल्याएर भएपनि अब प्रत्येक स्थानीय तहमा कोरोना परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताउँछन् । ‘उपचारका लागि निश्चित ठाउँ तोकियोस्’, उनी भन्छन्, ‘संक्रमण भए/नभएको परीक्षण चाहिँ हरेक स्थानीय तहमा नै गर्नु पर्‍यो ।’

सांसदहरुले पनि संघीय सरकारलाई स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाउन भन्दै आएका छन् । तर, यसका लागि तीन तहको सरकारबीच समन्वयको अभाव रहेको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले बताए ।

बिहीबार तनहुँका केही स्थानीय तहको भ्रमण गरेका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले त्यहाँ प्रदेश र संघीय सरकारको उपस्थिति नदेखिएको बताए । स्थानीय तहमा कोरोना रोकथाम र उपचारका सम्बन्धमा थुप्रै समस्या देखियो’, उनले अनलाइनखबरसँग भने, ‘स्थानीय तह र त्यहाँका अस्पतालमा थर्मोगनसमेत पुगेको रहेन छ ।’

निकट छिमेकी चीनबाट कोरोना भाइरस फैलिएको तीन महिनामा नेपाल सरकारले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक प्रदेशहरु पनि कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

अहिले धरान, जनकपुर, हेटौंडा र धनगढीमा यो सुविधा छ । भरतपुर, बुटवल र सुर्खेतमा छिट्टै कोरोना भाइरस परीक्षण सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले राजधानीको पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, मेची अस्पताल, उदयपुर अस्पताल, जनकपुर अस्पताल, बारा अस्पताल, भक्तपुर अस्पताल, सिन्धुली अस्पताल, धौलागिरी अस्पताल, गोरखा अस्पताल, लुम्बिनी अस्पताल, तम्घास अस्पताल, सुर्खेत अस्पताल, दैलेख अस्पताल, सेती अस्पताल र महाकाली अस्पताललाई पनि कोरोना संक्रमितको उपचार हुने अस्पताल तोकेको छ ।

‘अब परिस्थिति हेरेर निर्णय हुन्छ’

सरकारले कोरोना भाइरस फैलिन नदिन २५ गतेसम्म देशलाई लकडाउन गरेको छ । त्यसपछि के हुन्छ, लकडाउन बढ्छ ? भन्नेबारे जनचासो व्याप्त छ । स्वास्थ्यमन्त्री रहिसकेका नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा लेखेका छन्- ‪सरकार ! चैत्र २५ पछिको हाम्रो रणनीति र योजना के ?’

अनलाइनखबरले यही प्रश्न कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलस‌ँग राख्दा स्पष्ट जवाफ आएन ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का समेत संयोजक रहेका उनले भने, ‘लकडाउन बढ्छ कि बढ्दैन भन्ने विषय कुनै राजनीतिक निर्णय गर्ने जस्तो होइन । परिस्थिति, संक्रमणको स्थिति कुन ढङ्गको देखिन्छ, त्यही हिसाबले निर्णय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment