Comments Add Comment

स्थानीय तहका प्रमुखसँग प्रदेश ५ का मुख्यमन्त्रीको भिडियो संवाद

२१ चैत, बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे मुख्यमन्त्री शंकर पोखरेलले रुकुम पूर्वका स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो संवाद गरेका छन् ।

संवादमा मुख्यमन्त्रीले मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्न, क्वारेनटाइनमा बसेकालाई गुणस्तरीय खानपिनको व्यवस्थापन गर्न र स्थानीय स्तरबाट प्राप्त सूचना प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

उनले राहत कोष निर्माण गर्न, दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायको तथ्याङ्क संकलन गर्न, राहत एकद्वारबाट वितरण गर्न ध्यानाकर्षण गराएका छन् ।

स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म गरेका कामबारे जानकारी गराएका र भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराएका छन् ।

मुख्यमन्त्रीले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा खाद्यवस्तुको अवस्थाको जानकारी लिएका छन् । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको बताएका थिए ।

भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले तत्काल समस्या नरहेपनि केही समयपछि समस्या आउन सक्नेबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्रीले दाङ र बाँकेबाट खाद्यान्नको आपूर्तिको लागि आवश्यक व्यवस्था मिलाउने बताएका प्रेस सल्लाहकार केसीले जानकारी गराए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै अस्पताल पठाउन र त्यसका लागि प्रत्येक पालिकाका एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न उनले आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले स्वास्थ्य सामग्रीको व्यवस्थापन अझै बढाउनुपर्ने र बाग्लुङबाट भूमे गाउँमा पूर्ण रुपमा आवतजावत रोक्न आवश्यक रहेकोले गृहमन्त्रालयलाई जानकारी गराएका थिए ।

प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाट प्रभावकारी बनाई कोरोनाविरुद्धको लडाइँ जित्नको लागि यो भिडियो संवाद थालिएको हो । यसअघि उपमहानगरका प्रमुख र जिल्ला सदरमुकामका नगरपालिका प्रमुखसँग भिडियो संवाद भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment