Comments Add Comment
कोरोनाले दुखेको युरोप :

युरोप र अमेरिकामा संक्रमित नेपालीको यकिन तथ्यांक छैन

पाँच हजार नेपाली काम गर्ने डेनमार्कमा के हुँदैछ ?

२२ चैत, कोपनहेगन (डेनमार्क) । डेनमार्कमा स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, नर्स र कर्मचारी गरी दुई सय २४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्थानीय सञ्चारमाध्यम डीआरले जनाएअनुसार स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई संक्रमण देखिएपछि कर्मचारीहरु बिरामी बिदा लिएर घर बस्न थालेका छन् । संक्रमित नहुने पनि बिदामा बस्न थालेका छन् ।

कर्मचारी र चिकित्सकहरु बिदामा बस्न थालेपछि डेनमार्कले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता मापन गरेर कर्मचारीलाई काममा फर्काउने योजना बनाएको छ ।

ल्याबका वरिष्ठ चिकित्सक आनस फोम्सगार्डका अनुसार कोरोना संक्रमण रोगसँग लड्नसक्ने क्षमता बढी हुने स्वस्थ्यकर्मी तथा कर्मचारीले रुघा र सामान्य ज्वरोलाई पचाउन सक्छन् ।

तर, त्यस्तो प्रतिरोधात्मक क्षमता को-कोसँग बढी छ भन्ने ‘सेरोलोजिकल टेस्ट’ गर्ने योजना भएको र त्यसका लागि अनुसन्धान भइरहेको उनले उल्लेख गरेका छन् ।

‘संक्रमित भएपनि एन्टिबडी बढी भएकाहरुले बिरामीसँग गएर उपचार गर्न सक्छन्’ रस्किल विश्वविद्यालयकी प्रोफेसर कारेन इन्जेलीकीले सञ्चारमाध्यममा भनेकी छन् ‘उनीहरुमा संक्रमित हुने जोखिम पनि धेरै हुँदैन ।’ रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता ‘सेरोलोजिकल टेस्ट’ रगतबाट गरिन्छ । यो काम जतिसक्दो चाँडो हुने भनिएको छ ।

थला पर्दैछन् युरोप र अमेरिका

विश्वव्यापी तथ्यांक हेर्दा अहिले युरोप र संयुक्त राज्य अमेरिकालाई कोरोना भाइरस संक्रमणले थला पारेको छ ।

युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, बेलायतका नागरिकहरु कोरोना भाइरसबाट संक्रमित हुनेहरुमा अग्रपंक्तिमा छन् ।

यी पछिका देशहरुमा स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, अष्ट्रिया, पोर्चुगल, स्वीडेन, डेनमार्क लगायत देशहरुमा पनि संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

युरोपका कतिपय साना देशहरुमा संक्रमित हुने र मृत्यु हुनेको संख्या कम देखिए पनि ती देशहरुको जनसंख्याका आधारमा अहिले नै कम आकलन गरिहाल्न सकिँदैन ।

कोरोना भाइरसले अप्रिल ३ सम्म युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स र बेलायतमा ३७ हजार ८२ जनाको ज्यान गएको छ भने चार लाख ३१ हजार आठ सय ६० जनामा संक्रमण भेटिएको छ।

८० हजार ८६ जना उपचारपछि निको भएका छन् । अग्रपंक्तिमा रहेका यी देशहरुमा सबैभन्दा बढी बिरामी निको भएका जर्मनीका छन् भने बेलायतका सबैभन्दा कम ।

डेनमार्कको लकडाउन

डेनमार्कमा पहिलोपटक टेलिभिजनमा कार्यरत एक डेनिस पत्रकारमा फेब्रुअरी २५ मा कोरोना भाइरस संक्रमण देखिएको थियो । अप्रिल ३ सम्ममा एक सय ३० जनाको मृत्यु भएको छ भने तीन हजार सात सय ५७ जना संक्रमित भएका छन् । एक हजार एक सय तीन जना उपचारबाट निको भएका छन् ।

आफूलाई नर्स बताउँदै कोरोना भाइरस परीक्षणका लागि रगत निकाल्ने भनेर घरभित्र पसेर चोरी गर्ने अनि आफूले भनेको नमाने खाममा कोरोना भाइरस हालेर पठाइदिने भन्दै धक्याउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

मार्च १६ बाट आंशिक लकडाउन भएको डेनमार्कमा खाद्य सामग्री पसल, केट वे, सार्वजनिक यातायातका साधन, अफिसहरु लगायत अत्यावश्यक सेवाहरु भने बन्द गरिएको छैन । स्कुल, कलेज, रेष्टुरेन्ट, सैलुन, मसाज, डेकेयर लगायत मान्छेसँग प्रत्यक्ष संलग्न हुने पसल, कम्पनीहरु बन्द छन् ।

कार्यालयहरुको काम अनलाइनमार्फत् गराइएको छ । मानिसहरुको चहल–पहल कम छ । यो लकडाउन डेनमार्कमा १३ अप्रिलसम्म हुनेछ । त्यसपछि संक्रमितको संख्या हेरेर क्रमशः लकडाउन कम गर्दै लगिने जनाइएको छ ।

डेनमार्कमा दश जनाभन्दा बढी भेला हुन नपाइने नियम छ । त्योभन्दा बढी भेटिएमा जरिवाना गरिएको छ ।

ठूलो संख्यामा संक्रमित भेटिरहेको जर्मनीसँग सीमा जोडिएको डेनमार्कको अर्को छिमेकी देश स्वीडेनमा भने लकडाउन गरिएको छैन । स्वीडेनमा अप्रिल ३ सम्म तीन सय ५८ जनाको ज्यान गएको छ । छ हजार एक सय ३१ मा संक्रमण भेटिएको छ भने दुई हजार पाँच जना निको भएका छन् ।

लकडाउनले गर्दा कम्पनीहरु बन्द हुँदा डेनमार्कमा करिब ५० हजारले रोजगारी गुमाउनुपरेको छ ।

सरकारले यो लकडाउन अवधिका लागि सहुलियत प्याकेज दिएको छ । मासिक तथा घण्टाको दरले तलब हुनेलाई सरकारले कामदारले पाउने तलबको ७५ देखि ९० प्रतिशतसम्म सहुलियत रकम दिनेछ भने बाँकी कम्पनीले दिनुपर्नेछ ।

महामारीको मौका छोप्नेहरुमाथि कडाइ

विपदका बेला आपराधिक गतिविधि गर्नेहरु जहाँ पनि हुन्छन् । यति हो कि धेरै वा थोरै भन्ने मात्र हो ।

सहुलियत रकम दुरुपयोग गरेका कम्पनीहरुलाई जरिवानाको व्यवस्था गरिएको छ । अस्पतालमा काम गर्ने जोकोहीले सेनिटाइजर, डिसइन्फेक्सन घर लगेमा एक हजार जरिवाना तोकिएको छ ।

डेनमार्कले साढे चार लाख थान माक्स चीनबाट खरिद गरेको भएपनि बीच बाटोबाटै चोरी भएको छ । यस्तै समस्या फ्रान्समा पनि भएको छ ।

आफूलाई नर्स बताउँदै कोरोना भाइरस परीक्षणका लागि रगत निकाल्ने भनेर घरभित्र पसेर चोरी गर्ने अनि आफूले भनेको नमाने खाममा कोरोना भाइरस हालेर पठाइदिने भन्दै धक्याउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अपरिचित व्यक्ति आएमा ढोका नखोल्न जनमानसमा सचेत गराएको छ ।

संक्रमित नेपालीको तथ्यांक छैन

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालका अनुसार रोगबाट संक्रमित भएकोबारे अहिलेसम्म रिपोर्ट आएको छैन । भ्रमण भिसामा आएका केही व्यक्तिहरुको भिसा सकिएको बाहेक अन्य समस्याहरु दूतावासमा आएका छैनन्

युरोपका विभिन्न देशमा रहेका नेपाली तथा नेपाली मूलका विदेशीहरु पनि कोरोना भाइरसबाट संक्रमित हुनबाट अछुतो रहेनन् । बेलायतमा दुई जना र अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।

केही नेपालीहरु युरोप र अमेरिकाका कतिपय अस्पतालहरुमा उपचारार्थ छन् भने कोही शिविर र कोही घरमै आइसोलेसनमा छन् । तर, धेरैजसो नेपालीहरु आफू संक्रमित भएको खुलाउन चाहँदैनन् ।

युरोप र अमेरिकामा कतिको संख्यामा नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म छैन । संक्रमित हुनेहरु सबैले आफू संक्रमित भएको सार्वजनिक गरेका पाइँदैन । यो व्यक्तिगत स्वतन्त्रताको विषय हो, आफूलाई लागेको रोग वा अन्य कुराहरुबारे सार्वजनिक गर्नुपर्छ भन्ने पनि छैन ।

अझ प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रतालाई उच्च स्थानमा राख्ने यी देशहरुमा कुनै पनि कुरामा दबाब हुँदैन । तर, यति हो कि, एउटाले रोग लागेको कुरा लुकाउँदा अरु व्यक्तिमा संक्रमण नफैलियोस् ।

डेनमार्कका नेपालीको स्थिति

डेनमार्कको अवस्था पनि ‘तै चुप मै चुप’को छ । कति नेपाली कोरोना भाइरसबाट संक्रमित छन् वा छैनन् आधिकारिक तथ्यांक छैन ।

डेनमार्कमा धेरैजसो नेपालीहरु सफाइ, रेष्टुरेन्ट र होटलमा काम गर्छन् । यो अवस्थामा सफाइ धेरै गर्नुपर्ने भएका कारण काममा जानुपर्ने बाध्यता छ ।

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालका अनुसार रोगबाट संक्रमित भएकोबारे अहिलेसम्म रिपोर्ट आएको छैन । भ्रमण भिसामा आएका केही व्यक्तिहरुको भिसा सकिएको बाहेक अन्य समस्याहरु दूतावासमा आएका छैनन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा पनि नेपालीहरुमा कोरोना संक्रमित भएको आधिकारिक जानकारी आएको छैन ।

फेब्रुअरीबाट शैक्षिक सत्र सुरु भएकाले कलेजमा आएका नयाँ विद्यार्थीहरुलाई बढी कठिनाई भएको जनाउँदै एनआरएनए डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले उनीहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको बताए ।

फेब्रुअरी सिजनका लागि करिब ५० जना विद्यार्थी नेपालबाट यहाँ आएका खड्काले जनाए । डेनमार्कमा करिब पाँच हजार नेपाली छन् ।

विश्वभर छरिएका धेरै नेपालीहरुलाई कोरोनाले थलाइरहेको भएपनि कोरोनाबाट नेपाल जोगिएकोमा भने प्रवासमा रहेका नेपालीहरु खुशी छन् । उनीहरुको चाहना छ, नेपालले अन्य मुलुकको जस्तो महामारी भोग्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment