Comments Add Comment

शनिबारबाट चितवनमै कोरोना भाइरस परीक्षण सुरु गर्ने तयारी

चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल

२२ चैत, चितवन । शनिबारबाट चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गर्ने तयारी भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेणु दाहालले अहिलेको संक्रमणकालमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु गरिए पनि केही महिनापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशंकामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । भरतपुरमै प्रयोगशाला सन्चालन भएपछि अब गाडीमार्फत् दिनहुँ नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने छ ।

स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार चितवन आएर बिहीबार दिनभर प्रयोगशाला स्थापनाका लागि उपयुक्त स्थानको अध्ययनमा खटिएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला नै कोरोना भाइरसको परीक्षण गर्न उपयुक्त भएको निष्कर्ष निकालेको थियो ।

हाल कोरोना भाइरसको परीक्षण काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाका साथै धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि कोरोना भाइरसको परीक्षण हुँदै आएको छ । रुपन्देहीको बुटवलमा पनि परीक्षण सुरु गर्न प्रयोगशाला जडानको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment