Comments Add Comment

नसोचेको एउटा संसार

शान्त, शितल, चकमन्न अँध्यारो रातमा मेरा आँखाहरुले भने पर क्षितिजसम्म टन्टलापुर घाम देखिरहेछन् । त्यही क्षितिजको उज्यालो घाम पछ्याउँदै मेरा पाईलाहरु निरन्तर अगाडि बढिरहेछन् ।

घामको चहकिलो उज्यालोमा मेरा आँखा हिमालको दृष्यमा पुगेर टक्क अडिए । आँखाले हिजोसम्म सेतो रंगमा स्पर्श गरेको मेरो हिमाल एक्कासी कालो देखियो । एकैछिन सोच शून्य भयो । फेरि मनमनै सोचें‌, घामले हिमाल डढायो सायद । फेरि मन उही रफ्तारमा दौडियो ।

हिमालबाट मन आफैंमा आएर अडियो । सोचेँ, हिमाल जलाउने घामले मलाई किन जलाउन सकेन ? मनभरी यस्तै कौतूहलता उमारेर हिमालको आकार हातले मुसारें‌। हिमाल त केवल नाम मात्रैको रहेछ । मेरो हिमालको विशेषता काला पत्थरमा पुगेर समाप्त हुनै लागेको रहेछ । अस्तित्वविहीन बन्दै गएको हिमालको मायाले पग्लेको मनले एकै छिनमा पहाड हुँदै तराईको बाटो समात्यो ।

मेरो मनको बेग संसार खत्तम गर्न सक्ने क्षेप्यास्त्र भन्दा निक्कै तीब्र थियो । त्यही बेगको बाटो समातेर म कति छिट्टै तराईको फाँटमा पुगिसकेछु पत्तै भएन । तराईका फाँटले मन अचेटेर राख्न सकेन । आँखा वरपर मुर्कुटा जसरी नाच्न थाले ‘मकैको घोगामा दुध पस्न नपाउँदै लुछिएका, कतै धानका बाला पाक्न नपाउदै चुँडिएका, मैले देख्ने त्यो पहाड अनि तराईको अन्न भण्डारमा जङ्गली उन्मत्त हात्तीहरुको समूहले सोत्तर बनाएका बाली र लथालिङ्ग घरहरु जस्तो, घरपालुवा जनावर पनि हावाको वेगमै उड्लान् जस्तो त हावामा उड्ने चराहरु जमिनमा निदाएका जस्तो लाग्ने दृष्यहरु ।’ म अचम्मित भएँ, यहाँ के भइरहेको छ ?

लामो यात्रा र बेचैनी मनको भयले मेरो आँत हरहर भएको थियो । घाँटी बेस्सरी सुकेको थियो । पानी प्यासले म अझै धेरै बेचैन थिएँ । म अब यहाँका प्रत्येक घरका ढोका हेर्न लागे‌ं । घर बाहिर त पानीका मुहान त्यत्ति देखिँदैनन् । प्यास र थकानले एक बेगमा समातेर दगुरिरहेका आँखा एक पुरानो घरको बन्द दैलोमा पुगेर अडियो। मैले भित्रैबाट आवाज निकाल्न खोजे ।

सुख्खा भइसकेको घाँटीबाट ठूलो आवाज निस्कन सकेन । सानो आवाजमा मैले दैलो खोल्न गरेको आग्रह ती भित्ताहरु छेडेर भित्र पस्न सक्यो कि सकेन थाहा छैन । भित्र मान्छे थिए या थिएनन् । त्यो पनि थाहा छैन । तर, बन्द घरको दैलो निकै बेरसम्म पनि खुल्दै खुलेन । म अर्को घरतर्फ लागे ।

अर्को घर, जहाँ म रोकिएँ । दैलो खुल्लै थियो । तर, पानी दिने मान्छे थिएनन् । बाहिरैबाट पानीको घैंटो त देखिन्थ्यो । घैंटोको पानी बाहिर आएन । म भित्र जान सकिनँ । त्यहाँबाट पनि अर्को घरतर्फ लम्किएँ । बन्द घरको दैलोमा उभिएर एकैछिन घरकालाई खोजे‌ँ । ढोका ढक्ढकाएँ । खुल्दै खुलेन । म लखतरान बनेर त्यही घरको पिँढीमा थचक्क बसेँ ।

पिढीँबाटै नियाल्न थालेँ, वरपरको वातावरण । बाटो उही, बस्ती उही, घर उही, हावा उसैगरी बहिरहेको । तर, न बस्ती बस्ती जस्तो न घर घर जस्तो । न पशुपंक्षी र मानिस नै मानिस जस्ता देखिन्थे । यत्तिकैमा घरको ढोका घरक्क उघ्रिन्छ । मेरा आँखा ढोकातर्फ तानिए । एक मानिसले सासले बोल्दै हातको ईसारामा के चाहियो भनेर प्रश्न गरे । मेरो मुखबाट बोली निस्किन सकेन । म टोलाई रहेँ । उनको शरीर मानव आकृतिमा सुक्दै गएको थियो । त्रसित र कारुणिक अनुहार आँखाहरु बाहिर निस्कन तयार भए जस्ता देखिन्थे । एक मन माया हुँडलिएर आयो । अर्को मन डरको भूमरीमा फस्यो । मन शून्य भयो । बोली घाँटीमै अड्कियो । म बिस्तारै पछाडि हट्दै गएँ । त्यो घरको आँगन कतिखेर नाघिसकेँ पत्तो भएन ।

म हतासमा पाईला अगाडि सार्दै थिएँ । आँखाले फेरि समाते उस्तै अनौंठो दृष्य । ‘मकैका कलिला घोगा लुछ्दै गरेका, राम्रोसँग फल लाग्न नपाउँदै बिरुवाहरु चुँडिरहेका, अनुहारहरु पनि त्यस्तै थिए । जुन घरमा मैले देखेँ, अर्को अनौंठो दृश्य । यहाँ मानिसहरु एक-अर्कासँग झगडा गरिरहेका, तानातान लुछालुछ गरिरहेका, कोही कराइरहेका कोही रोइरहेका । दन्त्य कथामा सुनेको कुनै राक्षसको राज्यजस्तो । मलाई डर लाग्यो यी मान्छेहरुले मलाई नै पो केही गर्नेहुन् कि ? म झन् अत्यासिँदै अगाडि बढेँ ।

मेरो अर्को स्टेसन झन् सुख्खा भेटियो । यहाँ त न लुछ्नका लागि कुनै बिरुवा थिए । न पिउनका लागि कतै पानी । हावाको बेगसँगै देखिने धुलोको मुस्लो मडारिइरहेको अलि परको दृष्यमा मेरा आँखा पुगेछन् । त्यहाँको दृष्यले भने मनमा थोरै आशाको त्यान्द्रो पलायो । म त्यतै दौडिएँ । त्यहाँ त घरहरु आकाश छुने गतिमा अग्लिरहेका थिए । अनन्तको यात्रा गराउने भान दिने छाती झै‌ं फैलिएका र नदी झैं‌ तन्किएका यहाँका सडकहरु मैले टेलिभिजनका पर्दा र सामाजिक सञ्जालका भित्ताहरुमा देखेकै जस्ता थिए ।

तर, अफसोच । सफा, सुन्दर र यन्त्र जडित यो व्यवस्थित शहरले आफैंलाई धिक्कार्दै रोहिरहेछ । न गाडीहरु गुडेका छन्, न कुनै यन्त्रले काम गरेका छन् । न पसल खुलेका छन्,  न शहर सफा छ। गाडी जस्तै लम्पसार छन् सडकमा मान्छेहरु । केही मान्छेहरु कुप्रिँदै र थर्थराउँदै हिँड्दैछन् । मान्छेदेखि मान्छे डराएका छन् । आखिर के भइरहेछ ? कसले यस्तो गरायो ? मैले आज कहिल्यै नसोचेको संसार देखिरहेछु ।

यति बेलासम्म मलाई पानीको प्यास यस्तो लागिसकेको थियो कि ममा आफूलाई उभ्याउने सामर्थ्य नै बाँकी थिएन । बल लगाएर शहरको एक छेउतर्फ लागेँ। जहाँबाट समुद्र भेटिने बाटो देखाइरहेथे आफैँ मेटिन लागेका भित्ताका बोर्डमा झुण्डिएका अक्षरहरु। मनको बेगमा म समुद्रतर्फ लागेँ । परैबाट देखियो समुद्रका छालहरु । कानमा आएर ठोक्कियो छालले बुर्कुसी मारेका तरंगहरु । आँखा शितल भए । घाँटीको आधा प्यास त यसै मेटियो । म समुद्र किनारमा जाँदै थिएँ ।

जति समुद्रको नजिक पुग्छु, आँखामा उही पुराना दृश्यको झल्को दोहोरिन थाले । ठाउँ फरक, मान्छे फरक तर हाहाकार, तानातान र माछा मार्नेहरुको भागाभाग । म त्यसै शिथिल हुन थालेँ । यस्तो विकसित र सक्षम देशका मानिसको पनि यो अवस्था ? बेला बेलामा पढेका र सुनेका विभिन्न ग्रन्थहरुको भनाइहरु मेरो मानसपटलमा एकाएक भुमरी जसरी मडारिँदै आए ।

भुई‌ंचालो आउनेछ । कहिले आगोबाट कहिले पानीबाट प्रलय हुनेछ । आकाशबाट गन्ध बर्सिने छ । भोकमरी अनिकाल लाग्नेछ । अझ मान्छेले मान्छे खाने दिन आउनेछ । सानै कुराले पनि संसार नष्ट हुने छ ।

के अहिले त्यस्तै हुँदैछ ? के संसारको अन्त्यको दिन आएको हो ? मेरो मनले मलाई धेरै प्रश्नहरु गर्न थाल्यो । ज्ञान ठूलो कि धर्म ? विवेक ठूलो कि नाम ? प्राण ठूलो कि धन ? सृष्टि ठूलो कि देश ? मनले नै उत्तर दियो–  ज्ञान ठूलो, विवेक ठूलो, प्राण ठूलो, सृष्टि ठूलो । संसार सामान्य हुँदा मात्रै रहेछ मान्छेभन्दा मान्छे ठूलो, देशभन्दा देश ठूलो धन र शक्ति ठूलो हुने त ।

मेरो यो यात्रामा संसारकै नाम कमाएका कलाकार, नाम र दामले भरिपूर्ण खेलाडी र संसार नै किन्न सक्ने क्षमता भएका व्‍यापारीहरु पनि प्राण धान्नका लागि कतिलाई माछा मार्ने भिडमा त कतिलाई खेतबारीमा देखेको छु ।

आज मलाई लाग्दैछ संसारमा जाति केवल मानव मात्र छ। देश पृथ्वी मात्र छ । जति नै धन भए पनि धनले खाना किन्न नपाइने दिन पनि आउँदो रहेछ । मान्छे निरीह हुँदोरहेछ ।

यही दृश्यलाई नियाल्दै भिडमा ठेलमठेल गर्दै म समुद्र किनारमा पुगेँ र एक अञ्जुली पानी अनुहारतर्फ लैजाँदै थिएँ । दुबै हात बीचमै रोकिए– ‘मेरो मानसपटलमा नाक मुख र आँखामा पहिले हात सफा नगरी छुनुहुँदैन भन्ने कोरोनाको त्रास भनौं या सचेतना भनौं घुमिरहेको रहेछ ।

सुरुको बेगले गर्दा पानीको भाग मेरो अनुहारमा ठोकियो म झसङ्ग भए, ‘ओ गड, यो त मेरो सपना रहेछ’ ।

मैले त्यो कहाली लाग्दो संसारबाट बाहिर आएर कामना गरेँ, कहिल्यै मेरो सपना साकार नहोस् ।

अन्त्यमा… सृष्टिकर्ताले साँच्चै यो संसार कति सुन्दर बनाएका छन् । हावाको तालमा बोटबिरुवा नाच्छन्, चराहरु गाउँछन् । सायद यो देखेर सृष्टिकर्ता खुशी हुन्छन् होला । कस्तो राम्रो नियम छ। हिमालदेखि सागरसम्मका हरेक जीवजन्तु, प्राणी, वनस्पति सबैलाई आफ्नै जीवनको चक्र दिएको छ ।

यो सबैको गोठालो र संरक्षक सायद मान्छेलाई बनाइएको हुनुपर्छ । नत्र किन मान्छे सबैभन्दा उच्च हुन्थ्यो र ? तर, मान्छेले न गोठालोको काम गरे न संरक्षकको । केवल आफ्नो शक्ति र आफ्नै लागि प्रकृतिको नियम विपरितका कयौं घातक काम गरे । अरुलाई नराम्रो गर्नको लागि पृथ्वीको गति रोक्न सक्थे भने अरु देशलाई वर्षौं अन्धकारमा राखेर आफू घाम लाग्दा नै झ्याल–ढोका थुनेर सुत्थे होला ।

देशको सीमाना हामीले बनायौं। तर, पृथ्वी अरु कसैले बनाएको हो । यसलाई थिलथिलो बनाउन हुँदैन भन्ने मान्छेले कहिलै सोचेन । हामीले नियम मिच्नेलाई दण्ड दिए झैं प्रकृतिको नियम विपरित हामीले काम गरेको सजाय हामीले भोगिरहेका त छैनौं ? म आफू आजैबाट मान्छे भएर जिउने छु भन्ने चेत आएको छ। अब हामी सबै मान्छे हुनु जरुरी छ ।

देश, जाति, धर्मभन्दा माथि उठेर सबैको  राम्रो पक्षलाई अँगाल्दै नराम्रो पक्षलाई निरुत्साहित गर्दै जीवन जिउनु जरुरी छ । अब पनि हामीले आफूलाई सच्याउन सक्दैनौं भने अहिलेको यो महामारीबाट बचे पनि हाम्रो अस्तित्व अब आउने धेरै महामारीले समाप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment