Comments Add Comment
लकडाउनले पुलमुनि ‘लक’ भएको जिन्दगी :

मनोहरा खोलाको पुलमुनि ८ युवाको बास

२२ चैत, काठमाडौं । ‘हेल्लो दाइ, अझैसम्म गाडी आइपुगेन । खानेकुरा पनि सकियो, धेरै समस्या भइसक्यो ।’

शनिबार दिउँसो काडमाडौंको जडिबुटीस्थित मनोहरा खोलाको किनारबाट पूर्णबहादुर फोनमा कुरा गर्दै थिए ।

‘घर उदयपुरको बेलका वडा नम्बर ६ हो, यहाँ बसेको ४ दिन भइसक्यो ।’

पूर्णबहादुर काठमाडौंमा सिमेन्टको काम गर्छन् । ज्यालादारी मजदूरी गर्न उदयपुरबाट काठमाडौं आइपुगेका उनको काम लकडाउन अघिसम्म राम्रै चलिरहेको थियो ।

ठेकदारले कहिले ललितपुरको कुन ठाउँ पुर्‍याउँथे त कहिले काठमाडौंको कुन कुनामा । जता ठेक्का हात पथ्र्यो, ठेकदारले उतै लग्थे । कमाई राम्रै भइरहेको थियो ।

लकडाउनका कारण अलपत्र ८ युवा मनोहरा खोलाकाे पुलमुनि कष्टकर दैनिकी गुजार्दै घर जाने प्रतीक्षामा छन्

लकडाउन सुरु भएपछि उनका दुःखका दिन सुरु भए ।

‘लकडाउनको केही दिन त हामी काम भएकै ठाउँमा बस्यौं, त्यहाँ खानेको पनि समस्या थिएन’ उनले भने, ‘लकडाउनको समयावधि लम्बिँदै जाँदा ठेकदार पनि भाग्यो, त्यसपछि हामीले घर जाने भनेर फोन गर्‍याे ।’ एक चिनजानका व्यक्तिले गाडी जडिबुटीमा आउँछ भनेपछि पूर्णबहादुरसहित ८ जना युवाको टोलि झोला भिरेर चापागाउँबाट जडिबुटी झर्‍याे ।
८ जनामा ६ जना उदयपुरको बेलका युवा छन् । बाँकी दुईजना ताप्लेजुङका हुन् । गाडी आउँछ भनेर आश गर्दा गर्दा पनि आएन । बुधबार दिउँसै जडिबुटी पुगेका उनीहरु गाडीको पखाइमा सडक पेटीमै उभिए । सबै हट्टाकट्टा खाइलाग्दा युवाहरु छन् । सबैभन्दा जेठा पूर्णबहादुर ३० पनि पुगेका छैनन् । अरु सबै १९ देखि २४ वर्ष उमेर समूहका छन् ।

साँझ पर्‍याे । रात बढ्दै गयो । गाडी आएन ।

‘मध्यरात हुनै लागेपछि अब गाडी आउँदैन भन्नेमा हामी पक्का भयौं, खानेकुरा पनि केही बोकेका थिएनौं, धेरै भोक लाग्यो’ राजेन्द्र राई भन्छन्, ‘गाडी आउँछ भन्ने मान्छेको मोवाइल स्वीच अफ भएपछि खाना र बस्नको चिन्ता भयो ।’

शुरुमा उनीहरुले बाटैमा सुत्ने योजना बनाए । फेरि लकडाउनका बेला बाटैमा सुत्यो भने प्रहरीले पक्राउ गर्छ कि भन्ने डर लाग्यो । त्यसपछि उनीहरु मनाेहरा खोलाको किनारमा पुगे । दुर्गन्धित खोलामै जसोतसो एक रात बिताउने योजना बनाए । ८ जना भएका कारण डराउने कुरै भएन । फेरि समूहका एकजना पहिले जडिबुटीकै पुलमा पनि लेबर काम गरेकाले त्यो ठाउँका परिचित थिए ।

खोला किनारमा सुत्यो भने राति पानीले भिजाउन सक्छ । बरु पुलमुनि सुतौं । उनीहरुले योजना बनाए ।

पुलको मुनि अलिकति खाली ठाउँ रहेछ । त्यहीँ ८ जनाले खाँदिएर रात काटे । रात त जसोतसो काटे बिहान भने उनीहरुलाई भोकले च्याप्यो । के खाने, के गर्ने ?

आठै भाइ बाहिर निस्किए । नजिकै पसल खुलेको रहेछ । उनीहरुले चाउचाउ र पानी किनेर खाए । गाडी आउने ठेगान छैन ।

ठेकदारले पैसा नदिएको झोकमा पूर्णबहादुरले त्यहाँ भएका भाँडाकुँडा नै उठाएर हिँडेका थिए । आवेगमा गरेको निर्णयले उनीहरुलाई केही राहत मिलेकाे छ

ठेकदारले पैसा नदिएको झोंकमा पूर्णबहादुरले त्यहाँ भएका भाँडाकुँडा नै उठाएर हिँडेका थिए । आवेगमा गरेको निर्णयले उनीहरुलाई केही राहत दियो । ‘भाँडा ल्याएका थियौं, जडिबुटी चोकमा गएर हामीले चामल, दाल र साग किनेर ल्यायौं र पकाएर खायौं’ पूर्णबहादुरले जूठा, झिंगा भन्किरहेका भाँडाबर्तन देखाउँदै भने ।

त्यसपछि उनीहरुले त्यहाँ फालिएको फलामको रड र प्लाष्टिक भेला पारे । नयाँ पुल मर्मत गर्दा प्रयोग गरिएको प्लाई ण्ड भूँर्इंमा ओछ्याए । फलामका रड वरिपरि उभ्याए, थोत्रा प्लाष्टिकले घेरे ।
यहीँ रात बिताएको चौथो दिन भइसक्यो ।

पूर्णबहादुरसँगै राजेन्द्र राई, सीताराम राई, कृष्ण राई, सुजन राई, यम राई, कमानसिंह लिम्बू र श्री कार्कीले ४ दिन सरी कष्टकर जीवन बिताइरहेका छन् । लिम्ब र राई ताप्लेजुङका हुन् । ‘ताप्लेजुङ धेरै टाढा छ, हाम्रो गाउँसम्म जान पाए पनि उनीहरुलाई मेरै घरमा राख्थें, उदयपुरका पूर्णबहादुर सुनाउँछन् ।

यो खबर उनीहरुले उदयपुरसम्मै पुर्‍याइसकेका छन् । हामी त्यहाँ पुग्दा पनि उनले गाउँका एक स्थानीय नेतासँग फोनमा कुरा गरेको सुनाए । ‘मेरो ५ वर्षको छोरा छ, श्रीमती छिन् उनीहरुले धेरै चिन्ता लिइसके’ पूर्णबहादुर भन्छन्, ‘छोरोलाई इमोमा फोन गरेँ, बाबा आउनु न भन्दा साह्रै दुःख लाग्यो ।’

राजेन्द्रलाई पनि आमाले दैनिक फोन गर्छिन् । ‘बाबु कस्तो छ, छिटो आइज भन्नुहुन्छ’ राजेन्द्र सुनाउँछन्, ‘यो समस्या देखाउन पनि सक्दिनँ, आमाको मन रुन्छ ।’
सबैजनाको समस्या उस्तै छ । खै कसो गरौं, के गरौं साह्रै तनावमा छौं । लौ न कतै हुन्छ भने गाडी भनिदिनुपर्‍याे,’ उनीहरुले एक स्वरमा पत्रकारसँग हारगुहार गरे ।

उनीहरुको गाउँ, वेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले पनि उद्धार गर्ने प्रयास गरिरहेको सुनाए । स्थानीय बेलका नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बसन्त मगरले पनि उद्धारको प्रयास भइरहेको अनलाइनखबरलाई बताए ।

‘हामीले सुन्यौं, त्यो अवस्था सुनेर हामी धेरै दुखि छौं’ अध्यक्ष मगरले भने, ‘मेयर साप लागिरहनुभएको छ, हामी सकेसम्म चाँडै उद्धार गर्नेछौं ।’

तस्वीरहरू: आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment