Comments Add Comment

प्रदेश ५ मा १८ जना कोरोना शंकास्पद बिरामी आइसोलेसनमा

१४ जनाको नतिजा आउन बाँकी

२३ चैत, बुटवल । प्रदेश ५ मा कोरोना शंकास्पद बिरामीको संख्या १८ पुगेको छ । शुक्रबारसम्म प्रदेश ५ मा १२४ शंकास्पद बिरामी भर्ना भएकामा शनिबार ६ जना शंकास्पद बिरामी थपिएका हुन् । उनीहरु प्रदेशका विभिन्न आइसोलेसन अस्पतालमा भर्ना भएर उपचार गरायरहेका छन् ।

प्रदेश ५ मा चैत २२ गतेसम्म १३० जना कोरोना शंकास्पद बिरामी अस्पताल भर्ना भएकोमा हाल १८ जनामात्र उपचारमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका तथ्याङक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

कोरोना शंकास्पद विरामी मध्ये ८९ जनाको स्वाबको नमूना परीक्षण गरिएको र ७५ जनाको रिपोर्ट नेगेटिभ आएको वलीले बताए । १४ जनाको रिपार्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

कोराना शंका गरिएका बिरामीहरु नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज, सोही मेडिकल कलेजको कोहलपुर,आर्मी अस्पताल बांके,केन्द्रीय आयुर्वेद विद्यापीठ दाङ, बर्दिया अस्पताल, लुम्बिनी मेडिकल कलेज पाल्पा,बुटवल धागो काराखानाको कोरोना अस्पताल, भीम अस्पताल भैरहवा लगायतका अस्पतालमा उपचाररत छन् ।

प्रदेश ५ मा कोरोना आशंकामा उपचारका लागि भर्ना भएका विरामी मध्ये कसैको पनि पोजेटिभ रिपोर्ट आएको छैन ।

प्रदेश ५ मा कोभिड-१९ का विरामीलाई उपचारका लागि चारवटा कोरोना विशेष सहित ३३ वटा अस्पतालमा ४ सय ४२ वटा आइसोलेसन बेड तयार रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले जानकारी दिए ।

कोरोना जाँच प्रगोगशालामा उपकरणहरु जडान

प्रदेश ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय कोरोना जांच प्रयोगशालामा आवश्यक उपकरणहरु जडान भइसकेका छन् ।

भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र परिसरभित्रको बीउबिजन कार्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । उक्त कार्यालय भवनको माथिल्लो तलाको सातवटा कोठालाई प्रयोगशाला बनाइएको र कोरोना परीक्षणका लागि पोर्टेबल पीसीआर मेसिन जडान भएको छ ।

पीसीआर र किटसहितको सामग्री चैत २० गते आएपनि मेसिन जडान लगायतका सबै आइतबार आज मात्रै सकिएको छ । कोरोना जाँच गर्ने पोर्टबल पीसीआर मेसिन संघीय सरकारले उपलब्ध गराएको हो ।

कोरोना परीक्षण गर्न रियलटाइम पीसीआर र पोर्टेबल पीसीआर उपकरण चाहिन्छ । दुवै उपकरण सञ्चालनका लागि प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने, कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाहरु पनि हानिकारक तत्वबाट जोखिम नहुने प्रविधि बायोसेफ्टी लेबल समेत तयार भएको डा. गिरीले बताए ।

तर कोरोना जाँच गर्ने मुख्य उपकरण बायो सेˆटी क्याबिनेटमा एयर सर्कुलेसन गराउन समस्या देखिएको र लुम्बिनी प्रादेशिक अस्पतालबाट ल्याएर जडान भइसकेको बताए ।

‘बायो सेफ्टीमा एयर सर्कुलेसनमा समस्या आएपछि बुटवलबाट ल्याएर फिट गरेका छौं’-डा. गिरीले भने, ‘दुई तीन घण्टापछि क्वालिटी कन्ट्रोल परीक्षण गर्छौं र त्यो सफल भयो भने आइतबार साँझैसम्म परीक्षण सुरु हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment