२३ चैत, काठमाडौं । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तबलिगी जमातका आठ सदस्य रोकिएका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार, मलेसिया जान लागेका उनीहरूलाई विमानस्थलमा रोकिएको हो । उनीहरु मोलिन्डो एयरको राहत उडानफर्मत् मलेसिया जाने योजनामा थिए । उनीहरुलाई प्रवासन अधिकारीको जिम्मा लगाइएको छ ।
उनीहरुलाई भारतमा पर्यटन भिसाको सर्त उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरिनेछ ।
भारतमा मार्च १ देखि १५ सम्म त्यहाँको सरकारको अनुमतिबेगर तबलिगी जमातको धार्मिकसभा चलेको थियो । यसमा सहभागी हुन उनीहरु भारत आएका थिए । यो धार्मिक सम्मेलनबाट कोरोना भाइरस (कोभिड–१९) को महामारी भारतमा तीव्र गतिमा फैलिएको थियो । उक्त सभामा करिब दुई हजार मानिस सहभागी भएको बताइएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म भारतमा ९९ जनाको मृत्यु भइसकेको छ भने तीन हजार पाँच सय ८८ जनामा यसको संक्रमण देखिएको छ ।