Comments Add Comment

राहत बाँड्दा दोहोरो झडप

२३ चैत, बिराटनगर । सुनसरीको दुहबीमा राहत बाँड्ने विषयमा दुई समुहबीच झड्प भएको छ । झडपमा ७ जना घाइते भएका छन् ।

स्थानीय सरकारले आइतबार राहत बाँड्ने तयारी गर्दैगर्दा दुई समूहबीच झडप भएको हो ।

नगरपालिकाको निर्णय अनुसार, वडा नम्बर ९ ले राहत वितरण गर्ने तयारी गरेको थियो । तथ्यांक संकलन गरी प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, २ किलो नुन, एक लिटर तेल र एक किलो न्युटेला वितरण गर्ने तयारी गर्दै गर्दा स्थानीय दुई समूहबीच विवाद भएको वडाध्यक्ष मेहदी हुसेन मियाँले बताए ।

राहतका लागि नाम संकलन नभएका व्यक्तिले पनि माग गरेका थिए । स्थानीय ताबिज मियाँसहितका युवाले राहतका लागि सामान पर्याप्त आए पनि वडाबाट वितरण नगरेको भन्दै विरोध जनाए ।

सो क्रममा वडाध्यक्ष समर्थक र मियाँ समर्थकबीच झडप भएको थियो । झडपपछि दुवै समूहका ७ जना घाइतेको उपचार भइरहेको अध्यक्ष हुसेनले बताए । दुईपक्षको झगडालाई प्रहरीले साम्य पारेको थियो ।

इटाँ उद्योग निर्वाध चले

स्थानीय युवाहरुले दुई स्थानमा टेन्ट टाँगेर हात धुने व्यवस्था गरेका थिए । लकडाउनमा घरमै बस्नुपर्ने भन्दै स्थानीय प्रशासनले युवाहरुलाई काम गर्न दिएनन् ।

उता वडा नम्बर ९ मा लकडाउनका बेला इटाँ उद्योग निर्वाध रुपमा सञ्चालन भइरहेको छ । तबिज मियाँसहितका युवाहरुले इटा उद्योग सञ्चालन हुँदा जोखिम बढ्ने भन्दै रोक्न माग गरेका छन् । तर, वडा अध्यक्ष हुसेनले इटा उद्योग बन्द गर्न नमानेको स्थानीयको गुनासो छ ।

‘अन्य स्थानका ईंटा उद्योग चलिरहेका छन्,’ उनले भने ‘उद्योगमा बिदेशबाट आएका मजदुर छन् । स्थानीयलाई विदा दिएर काम गरिरहेका छन् ।’

आइतबार राहत वितरण पारदर्शी बनाउन आग्रह गर्दा ईटा उद्योगको विरोध गर्दाको वडाध्यक्षले रीस पोखेको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment