Comments Add Comment

कोरोनामुक्त, कोरोनायुक्त हुँदै स्थानीय संक्रमण !

चैत्र २२ गते अनलाइनखबरमा प्रकाशित समाचारले मेरो ध्यान आकर्षित गर्‍यो । शीर्षक थियो, ‘सरकारले भन्यो-नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा ।’

जब यो समाचारमा नजरमा पर्‍यो, मलाई विगत डेड-दुई महिनाअगाडि आमसञ्चार माध्यममा प्रकाशित भएको सरकारले ‘विदेशमा नेपाललाई कोरोना भाइरस मुक्त क्षेत्र’का रुपमा प्रचार गरिने’ भन्ने समाचारको याद दिलायो ।

त्यस्तै, कुराको प्रचार हालै मात्र उत्तर कोरियाले पनि गर्दैछ । मेरो मन मस्तिष्कमा हाम्रो सरकारले गरेको घोषणा र प्रचारहरुलाई हवाला दिँदै किन कोरोना संक्रमणले आफ्नो कब्जा जमाउँदै हाम्रो देशको यात्रामा निरन्तर रुपमा अगाडि बढिराखेको छ ? भनेर एकपटक सोच्न बाध्य बनाएको छ ।

गत डिसेम्बर २०१९ को अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड १९ को संक्रमणबाट विश्व प्रभावित भइसको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म (यो समाचार तयार पार्दै गर्दा) दुई सय सात देश/ क्षेत्र/भूगोलमा १० लाख नौ हजार छ सय २५ संक्रमित र ५० हजार चार सय उनानब्बे जनाको मृत्यु भएको तथ्याङ्क प्रकाशित गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको विश्वव्यापीरुपमा विस्तार हुँदै गर्दा जनवरी ३० मा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको थियो । त्यसैगरी, गत मार्च ११ मा महामारीको रुपमा घोषणा गर्‍यो ।

फेरि, विगतलाई स्मरण गरौं ।

विगत साढे दुई महिना अगाडि (२०७६ माघ ९) जुन समयमा नेपालमा पहिलो कोरोना संक्रमणको केस पुष्टि भएको थियो । त्यही समयको सेरोफेरोमा हाम्रो देशका पर्यटनमन्त्री लगायत उच्च स्तरीय जम्बो सरकारी टोली अस्ट्रेलिया, चीन लगायत विभिन्न मुलुकमा नेपाल भ्रमण वर्षको प्रचार-प्रसारमा व्यस्त थियो । दुर्भाग्य नै भन्नुपर्छ सोही समयमा अस्ट्रेलियामा भीषण आगलागी भएर संकटग्रस्त अवस्थामा पुग्यो ।

चीनको हुवेई प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड-१९ को संक्रमणबाट विश्व प्रभावित भइसकेको थियो । तर, हाम्रो राज्यको नेतृत्व गरेका उच्च पदस्थ सरकारी अधिकारी र मन्त्रीहरु नेपाललाई कोरोना मुक्त क्षेत्र घोषणा गर्नमा नै व्यस्त हुनुहुन्थ्यो ।

उहाँहरुको भनाइले हामी जनातालाई यस्तो आभाष दिलाउँथ्यो कि हामीसँग त्यस्तो अलौकिक शक्ति वा राज्य संयन्त्र छ । जसको कारण हाम्रो देशमा कोरोना भन्ने भाइरस प्रवेश गर्न सक्दैन र गरिहाल्यो भनेपनि यसले चीन, युरोप र अमेरिकातिर जस्तो महामारीको रुप लिन सक्दैन भन्दै छाती फुलाएर सञ्चार माध्यममा प्रसारण गर्दै हिँड्नु भएको अवस्था थियो ।

लगभग दुई महिनासम्म हाम्रो राज्य संयन्त्रको त्यो आत्मविश्वास वा आडम्बर भनौं, त्यसले राम्रोसँग काम गर्दै आएको थियो । यो अवधिमा पत्ता लागेको कोरोनाको पहिलो बिरामी पनि सन्चो भएर घर फर्किसकेको अवस्था थियो । हामी जनता पनि साँच्चिकै अन्य मुलुकमा जस्तो हाम्रोमा यो रोगले त्यति प्रभाव जमाउँदैन कि भन्ने अड्कल काट्दै बसेका थियौं ।

अपसोच ! हाम्रो देशमा जब २०७६ चैत्र ४ गते कतारको दोहाबाट ‘क्यूआर ६५२’ यात्रा गर्नुभएका २०४ जना यात्रुको प्रवेश भयो । सोही समयमा फ्रान्सबाट दोहा हुँदै काठमाडौँ आएकी १९ वर्षकी नेपाली नागरिकमा दोश्रो कोरोनाको संक्रमण पुष्टि भयो । तेस्रो, चौथो संक्रमण पनि गर्दै सोही विमानबाट नेपाल आयका व्यक्तिहरुमा कोरोनाको संक्रमणको पुष्टि हुँदै संख्या वृद्धि हुँदै गएको छ । यो रोगको छैटौं केससम्म नेपालमा सबै आयातीत थिए ।

२०७६ चैत्र २२ गतेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उल्लेख जानकारीअनुसार केही दिन बिराउँदै एक-एक वृद्धि हुँदै गरेकोमा एकैपटक छ जनाबाट नौ जनामा पुगेको छ । अब देशमा कोरोना संक्रमितको एकहोरो अंकबाट छिट्टै वृद्धि भएर दोहोरो र तेहोरो अंकमा फड्को मर्दैछ ।

त्यो भन्दा पनि दुःखको कुरा त यो भाइरस अब आयातीत -पहिलो) चरणमा मात्र सीमित नभएर स्थानीय वा सामुदायिक संक्रमणको (दोश्रो) चरणमा प्रवेश गरिसकेको छ । सरकारको यस रोगविरुद्धको तयारी हेर्दा अत्यन्तै नाजुक कहालीलाग्दो अवस्थामा छ । यसरी संक्रमण र महामारीको युद्धले फड्को मार्दै गर्दा हाल देशलाई नै नेतृत्व प्रदान गर्नुपर्ने विभागीय मन्त्रालय स्वास्थ्य मन्त्रालय भने आफैं थला परेको अवस्थामा छ । जसको कारणहरु धेरै छन् कुनै अर्को परिवेशमा छलफल गरौंला ।

स्वास्थ्य मन्त्रालय हाम्रो संबिधान जारी भएयता जब दुई तिहाइको स्थिर सरकारको स्थापना भयो । सो परिवेशमा सबैभन्दा अस्थिर र छायाँमा परेको मन्त्रालय हो ।

हामी जनतालाई थाहा छैन, सरकारले पनि यो मन्त्रालयको विषय विज्ञतालाई नबुझेको हो वा नजरअन्दाज गर्दै राजनीतिक र प्रशासनिकरुपमा मात्र प्राथमिकतामा राखेर हेरिदिँदा यो अवस्था आएको हो सरकार चलाउनेले नै बुझेका होलान् ।

अर्कोतर, महामारी नियन्त्रणको इतिहास र वास्तविकतालाई हेर्दा यसमा मुख्यतः दुई प्रकारमा रणनीति तथा हस्तक्षेपहरु अपरिहार्य हुन्छन् । ती हुन् मेडिकल इन्टरभेन्सन र नन-मेडिकल इन्टरभेन्सन । हिजोको दिनसम्म यो हाम्रो आयातीत समस्या थियो । उक्त मामिलामा ननमेडिकल हस्तक्षेप प्रधान हुनुपर्थ्यो ।

त्यो भनेको सर्वप्रथम अध्यागमन कार्यालयबाट भाइरसलाई प्रवेशाज्ञा नदिनु हो । त्यो कार्य हाम्रो सरकारबाट हुन सकेन बरु विदेशीहरुलाई नेपाल घुम्न निम्तो दिनमा व्यस्त रहृयौं भने विदेशबाट नेपाल आउने नागरिकलाई पनि यसका लागि रोगमुक्त प्रमाणपत्रका साथै सेल्फ क्वारेन्टाइनको कडा पालन गराउन सक्ने सञ्जाल निर्माण र कार्यान्वयन गर्नुपर्ने हो । तर, विडम्बना यी कार्य प्रभावकारी हुन सकेनन् ।

नेपालमा अध्यागमनबाट बिसौं हजार व्यक्तिहरु प्रवेश हुँदासम्म अनिवार्य क्वारेन्टाइन फर्म नै हेल्थ डेस्कमा पुगेको थिएन । उस्तै अवस्थामा काम नलाग्ने वा बिगि्रएका थर्मोमिटरको प्रयोग गरका कुराहरु प्रकाशित भए र कतिपय नेपाल फर्किनेहरू क्वारेन्टाइनमा पनि बसेनन् सरकारले यसको महत्व जनताले बुझ्नेगरी समुदाय परिचालन गर्न सकेन ।

जसको नतिजा कतिपय जनताले लकडाउनको महत्व नबुझी कुनै राजनीतिक समूह वा सरकारले आहृवान गरेको बन्दको रुपमा लिएर वा दैनिक समस्याले बाध्य भएर अवज्ञा गरेका उदाहरणहरु पर्याप्त छन् ।

हामीबीच भारतसँगको खुला सीमा छ । त्यसलाई यदि व्यवस्थित गरिएन भने त्यसको मुखबाट भाइरस प्रवेश हुने सम्भावना रहिरहन्छ र यो भारतबाट आएका दुईजनामा भएको संक्रमणबाट पुष्टि भइसक्यो ।

सरकारले भारतसँगको समझदारीमा नभए एकतर्फी भएपनि सीमा बन्द गर्न सम्पूर्ण बल लगाउनुपर्ने थियो । त्यो पनि प्रभावकारी हुन सकेन फलस्वरूप हाल पनि सीमानामा भारतबाट आउने हजारौं नेपालीहरु अलपत्र छन् ।

यथाशीघ्र सरकारले यसको व्यवस्थापनमा जोड दिनुपर्ने हो । अर्कोकुरा, भारतलगायत विदेशबाट र्फकनेहरुले क्वारेन्टाइनमा बसिदिएनन् भने कुनैपनि शून्य संख्याले समुदायमा भाइरस फैलाउन व्यापक अवसर प्राप्त गर्छ । हामी त अब महामारीको दोश्रो चरणमा प्रवेश गरिसक्यौं ।

मेडिकल इन्टरभेन्सन अन्तर्गत् हाम्रो सरकारको तयारी नन-मेडिकलभन्दा साह्रै कमजोर छ । यसरी स्थानीय संक्रमण हुँदासम्म सरकारले जम्मा १५ सय २१ जनाको मात्र प्रयोगशाला परीक्षण, ६९ जनालाई आइसोलेसन, नौ हजार दुई सय ७८ जनालाई क्वारेन्टाइनमा र एक सय २६ जनालाई रेड जोन गरेको छ ।

जुन एकदमै नगन्य मात्रा हो । सरकारसँग पर्याप्त मात्रामा औषधि, दक्ष जनशक्ति र बिरामीको उपचारमा प्रयोग हुने सुरक्षात्मक उपकरणहरु जस्तै गाउनहरुको मौज्दात एकदमै कम रहेको अवस्था हो ।

हाल सरकारसँग जम्मा सात हजारको हाराहारीमा मात्र गाउन रहेको छ भने अन्य उपकरणहरु जस्तै इनप|mारेड थर्माेमिटर, चस्मा, मास्क, बुट, टेस्ट किटको संख्या त्योभन्दा कमजोर छ ।

विगत ३/४ महिनादेखिको कोरोनाको चेतावनीलाई बेवास्ता गर्दै सरकारले पूर्व तयारीमा केही गम्भीरताका साथ काम गर्न सकेन । हालै मात्र सरकारले महामारीको समयमा मेडिकल उपकरण खरिद प्रक्रियामा अनियमितता भएको कुराले नेपाल सरकारको स्वास्थ्य प्रणालीको वास्तविक सुशासन, जवाफदेहिता र पारदर्शिताको धरातलको उजागर गरेको छ ।

अर्काेतिर संविधानले संरक्षित गरेको स्वास्थ्य जनताको मौलिक अधिकार भन्ने कुरालाई गिज्याइराखेको छ । यी मात्र नभएर स्वास्थ्य सेवा विभाग, मन्त्रालयको नेतृत्व, सचिव र मन्त्रीले दिने विवादित निर्णयहरुले कोरोना महामारीसँग लड्ने सेना (स्वास्थ्यकर्मी)हरुको मनोबलमा ठेस पुर्‍याएको छ ।

यी विवादहरु हुनुमा दशकौंदेखि स्वास्थ्यसेवामा भएका विभिन्न पेशागत गुट र समूहहरुको खराब राजनीति, सिन्डिकेट साथै सबै सेवासमूहहरुको सह-अस्तित्व र विज्ञतालाई स्वीकार गर्न नसक्नु, नदेखिने तर मुख्य कारणहरुमध्ये एक हो । जसले गर्दा दोश्रो विश्व युद्धपछिको ठूलो विश्व संकटमा सफलता प्राप्तिका लागि लड्ने सिपाही (स्वास्थ्यकर्मी) हरुलाई हतियार (पीपीई) बिना मैदानमा लड्नुपर्ने वातवरणको सिर्जना हुनसक्नेछ ।

महामारी झनै फैलिने र तेस्रो चरणमा प्रवेश गर्न सक्ने छ । सरकारले जनस्वास्थ्य विषय र स्वास्थ्य मन्त्रालयलाई अस्थिर बनाइ र छायामा राख्न खोज्दा आजको सन्दर्भमा राज्य नै असफल हुन सक्ने प्रबल सम्भावना बढेर गएको कुरा हामीले युरोपको इटाली र स्पेनबाट सिक्न र बिर्सन नहुने कुरा हो ।

तेश्रो चरण प्रवेशमा के गर्ने ?

सबैभन्दा पहिले स्वास्थ्यकर्मीहरुको योगदानको उच्च कदर गर्दै उनीहरुलाई यथाशीघ्र पीपीईको व्यवस्था सहित औषधि उपकरणको व्यवस्था प्रत्येक स्थानीय तहसम्म पुर्‍याउनु वान्छनीय देखिन्छ । सम्पूर्ण नागरिकलाई लकडाउनको पूर्णपालना गर्न अनिवार्य गर्ने सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ ।

कन्ट्याक ट्रेसिङलाई अनिवार्यताका साथ लागु गर्ने, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने, यदि स्वास्थ्यकर्मी सरकारी निकायभित्र अपुग छ भने निजी क्षेत्र र विश्वविद्यालय, पेशागत परिषद् र संगठनहरुसँग समन्वयगरी सेवा दिन सक्नेहरुको सूची तत्काल तयार पर्नुपर्छ ।

एकभन्दा बढी केस देखिएका समुदाय र जिल्लामा र्‍यापिड टेस्ट कार्य यथाशीघ्र गर्नुपर्छ । कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्नेगरी प्रचारप्रसार गर्नुपर्छ ।

उक्त कार्यका लागि जनस्वास्थ्य विषय पढेका नागरिक तथा युवाहरुलाई परिचालन गर्न सकिन्छ ।

गरीब र श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था -राहत) सरकारले तत्काल उपलब्ध गराउनुपर्छ । विदेशबाट नेपाल प्रवेश गरेका मात्र नभई हामी सबै नेपाली जनता विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा बस्नु पर्छ ।

भारतसँग उच्चस्तरीय सहकार्य गरी सीमा क्षेत्रमा अडि्कएका दुबै देशका सम्पूर्ण नागरिकलाई यथास्थानमा क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवं उपचारको व्यवस्था गर्नुपर्छ ।

स्थापना भएका क्वारेन्टाइन र कोरोना विशेष अस्पतालहरुबाट व्यवहारिक रुपमा सेवा प्रदान गर्न सक्नुपर्छ । कोरोना हामी संक्रमणको आशंकामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थाको तत्काल अन्त्य गर्नुपर्छ ।
उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ । लकडाउन अर्थात् एकान्तवास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने कोरोनाको निहुँमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि आदिको सम्भावना देखापरेको छ ।

यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहन सक्छ । यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ ।

चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधिलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ । आयात गरिने सामग्री विश्व स्वास्थ्य संगठनको गुणस्तरअनुसार निक्र्याेेल गरेर मात्र आयात गर्नुपर्छ । यो समयमा मनोरञ्जन र फिल्मी क्षेत्रका कलाकारहरु सक्रियताका साथ सचेतनाका अभियानहरु सामाजिक सञ्जाल मार्फत् चलाउनुपर्छ ।

राजनीतिक पार्टीले आˆना कार्यकताहरुलाई तथ्यांक संकलन र राहत वितरणमा पार्टी र गुटभन्दा माथि उठेर स्थानीय सरकारलाई र स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न सक्नुपर्छ । स्वास्थ्य मन्त्रालयले विज्ञहरुको समूह बनाई नियमित र निरन्तर रोकथामका प्रयास अवलम्बन गर्ने कार्य गर्ने ।

परीक्षण ल्याब कम्तिमा पनि प्रत्येक जिल्ला स्तरमा पुर्‍याउन आवश्यक छ । यद्यपि हालसम्म सबै प्रदेशहरुमा समेत सेवा सञ्चालन नभएको अवस्था छ ।

गम्भीरताका साथ सक्रियरुपमा यति कार्य गर्न सकेमा हामी कोरोना महामारीको बन्दै गरेको बक्ररेखा (कर्भ) लाई साँघुरो र अग्लो हुनबाट जोगाउने र यसलाई फराकिलो र होचो बनाई हाम्रो श्रोत साधनले थेग्न सक्नेगरी यो महामारीको लडाइँ जित्न सक्छौं भन्ने आत्मविश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment