Comments Add Comment

कोरोना अस्पतालबाट ९ दिनसम्म पनि उठेन बाबुरामको शव

२४ चैत, बुटवल । कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा चैत १६ गते दिउँसो मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षीय बाबुराम थापाको शव नौं दिनसम्म पनि उठ्न सकेको छैन ।

मृतकका आफन्त र प्रमुख विपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले अस्पतालको लापरवाहीका कारण ज्वरोका विरामी थापाको मृत्यु भएको भन्दै छानबिन गर्न र पीडित परिवारलाई न्याय हुने गरी राहत दिन माग गर्दै शव उठाउन मानेका छैनन् ।

तर सरकारी पक्षबाट यससम्बन्धी औपचारिक धारणा अझै आएको छैन । शव उठाउने पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न आफ्ना मागमाथि बेवास्ता गरेको भन्दै मृतकको परिवार रुष्ट छ ।

पत्नी रिता थापा, रिताका दाजु कमल टण्डन लगायत आफन्तले कोरोना विशेष अस्पतालले बाबुराम थापा भर्ना भएदेखि मृत्यु हुँदासम्मको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । ‘अस्पतालले उपचारमा लापरवाही गरेको होइन भने सीसीटीभी फुटेज सार्वजनिक गरेर हाम्रो चित्त बुझाउनुपर्छ,’ मृतकका जेठान कमल टण्डनने भने, ‘अप्ठेरो परिस्थितिको बहानामा मान्छेको ज्यानमाथि भएको लापरवाही र खेलवाड गर्नेलाई हामी कदापी छाड्दैनौ ।’

दुबईबाटै ज्वरो लिएर आएका थापालाई ज्वरो निको नभएपछि चैत १३ गते कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । चैत १६ गते दिउँसो १ बजे उनको मृत्यु भयो । मृत्यु भएकै दिन मात्रै उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा अर्को दिन रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

थापाको उपचारबारे मृतककी पत्नी, आफन्त, सरोकारवाला र स्वास्थ्य क्षेत्रका जानकार सबैले अस्पतालको लापरवाहीका कारण ज्यान गएको कुरामा एकमत रहेकाले कि त निष्पक्ष छानबिन हुनुपर्ने, कि त आशंका हटाउन सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको टण्डनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले थापाको उपचारमा लापरवाही नभएको दावी गरेका छन्

उनले बाबुरामको स्वाब परीक्षणका लागि पठाइएको हो भन्नेमा पनि शंका रहेकाले त्यसको पुष्टिका लागि सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने तर्क गरे । ‘राहत र रोजगारीका कुरा तपसिलका कुरा हुन्, मुख्य माग उपचारमा भएको लापरवाहीको छानबिन हुनैपर्छ र सीसीटीभी फुटेज देखाएर पीडित परिवारलाई चित्त बुझाउनुपर्छ,’ टण्डनले भने, ‘आफ्नो नागरिकको आफ्नै अस्पतालमा ज्यान गएको आठ दिनसम्म शव नउठ्दा पनि सरकारी पक्षले पीडित परिवारसँग सोधपुछ नगर्नु संवेदनाविहीन र चरम अमानवीय व्यवहार हो ।’

कोरोनाको आशंकामा बाबुरामले उपचारै नपाएर ज्यान गुमाउनु परेको घटनालाई अहिले त्यत्तिकै छाड्ने हो भने भविष्यमा साँच्चै कोरोनाको संक्रमण फैलिएको अवस्थामा अस्पताल र डाक्टरले विरामीहरुको उपचार गर्लान् त भन्ने गम्भीर प्रश्न उब्जेको हुँदा त्यसो हुन नदिनका लागि पनि यो घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनैपर्ने उनले दोहोर्याए ।

नेपाली कांग्रेसकी प्रदेश सांसद रमा अर्याल थापाको मृत्यु र उनको शव नउठेको सम्बन्धमा अस्पताल र प्रदेश सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउँछिन् । ‘यो घटनाले प्रदेश सरकार छ कि छैन भन्ने देखियो,’ अर्यालले भनिन्, ‘एउटी अबला नारीले लोग्ने मरेको आठ दिनसम्म आफ्ना पतिको अन्तिम संस्कार गर्न नपाउनु कहाँसम्मको विडम्बना हो ?’

सांसद अर्यालले यो घटनामा मानवअधिकारवादी, महिला अधिकारकर्मी र सरकार पक्षका पत्रकारको मौनता आश्चर्यजनक रहेको समेत औंल्याइन् ।

सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद विनोद पहाडी, पाल्पाली समाज रुपन्देही र रिब्दिकोट रुपन्देही सम्पर्क समाजले मृतक परिवारका मागबारे सरकारी पक्षलाई जानकारी गराएका थिए । माग जानकारी गराउँदा मृतक पत्नीलाई योग्यता अनुसारको रोजगारी र दुई नाबालक छोरालाई कम्तीमा १२ कक्षासम्म  अध्ययनको व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको तर अन्य माग सम्बोधन गर्न नसकिने जवाफ आएको पूर्वसांसद पहाडीले बताए ।

‘हामीले दुई–तीन दिनदेखि लगातार पहल गर्दै आएका छौं, तर मृतक परिवारको तर्फबाट सरकारले पूरा गर्न नसक्ने खालका माग पनि उठेकाले सहमति हुन सकेको छैन,’ पहाडीले भने,‘जे भएपनि सरकारले उदारता देखाएर भएपनि एउटा सहमतिमा आएर शव उठ्ने वातावरण बनाउनैपर्छ ।’

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले थापाको उपचारमा लापरवाही नभएको दावी गरेका छन् । उनले कोरोना विशेष अस्पतालमा सीसीटीभी जडान गरिएको तर फुटेज हेर्न मिल्ने–नमिल्नेबारे आफू मात्रै बोल्न नमिल्ने बताए ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालले चैत १७ गते नै शव बुझ्न आउन मृतक परिवारलाई भनेको तर लकडाउनका कारण शव लिन नआएको हुन सक्ने प्रतिक्रिया दिए ।

नेपाली कांग्रेस, समाजवादी पार्टी, राट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत थापाको मृत्यु अस्पतालको लापरवाही र आवश्यक उपचार उपकरणको अभावमा भएको दाबी गर्दै घटनाको छानबिन गर्न र पीडित परिवारलाई राहत दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment