Comments Add Comment

यस्तो छ बुटवलमा तयार कोरोना विशेष अस्पताल

९ चैत, बुटवल । बुटवलमा कोरोना भाइरसको सम्भावित संक्रमितको उपचारका लागि विशेष अस्पताल तयार पारिएको छ ।

बन्द रहेको बुटवल धागो कारखानाको भवनमा अस्पताल तयार पारिएको हो । बुटवल उपमहानगरपालिका – १० मा बन्द अवस्थामा रहेको उक्त कारखानाका दुई कोठा र परिसरलाई व्यवस्थित गर्दै आइसोलेसन अस्पतालका रुपमा तयार पारिएको हो ।

दुई कोठामा ४० वटा शैय्यासहितको अस्पतालको आइतबार बेलुका शुभारम्भ गरिएको छ ।

कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएका विरामीलाई रुपन्देहीका अस्पतालले जाँच गर्न नमानेको गुनासो आएका बेला कोरोनाको सम्भावित संक्रमितको उपचारका लागि अस्पताल तयार भएको हो ।

 अस्पताल सञ्चालनका लागि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी संयोजक र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई सहसंयोजक रहने गरी समिति गठन गरिएको छ । सदस्यहरुमा अरु विभिन्न अस्पताल, सुरक्षा निकाय र निजी क्षेत्रका संस्थाहरु रहेका छन् ।

बुटवलमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा दैनिक ४÷५ जना विभिन्न अस्पतालमा पुग्ने गरेका छन् । यद्यपि अहिलेसम्म प्रदेश ५ मा कसैलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छैन ।

यहाँका स्वास्थ्य संस्था, निजी क्षेत्र र सरोकारवालाको सहकार्यमा प्रकोप पूर्वतयारीलाई तीव्रता दिंदै आएको र सोही क्रममा क्वारेन्टाइनका लागि कोठा निर्माण गर्नुका साथै अस्थायी रुपमा आइसोलेसन अस्पताल निर्माण भएको छ ।

आइसोलेसन वार्डमा अक्सिजन, सलाइन, औषधि, उपकरणसहितको व्यवस्था छ । अति जोखिममा रहनेलाई भेन्टिलेटरमै राखेर उपचार गर्न मिल्नेसम्मको व्यवस्था मिलाइएको छ ।

डब्लूएचओका प्रतिनिधिद्वारा निरीक्षण

बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण गरेको आइसोलेसन अस्पतालको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले निरीक्षण गरेका छन् ।

उक्त संगठनका प्रतिनिधि डा. श्रुति नेपालको टोलीले आइतबार अपरान्ह आइसोलेसन कक्षको निरीक्षण गर्दै उपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

आइसोलेसन कक्ष निर्माणको यहाँका राजनीतिक दलले स्वागत गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सय कोठाको क्वारेन्टाइन तयार

बुटवलमा क्वारेन्टाइनका लागि हाल बिदा भएका र एसईईको केन्द्रसमेत नतोकिएका सामुदायिक विद्यालयका करिब एक सय कोठाहरुलाई प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ ।

बुटवल उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनालका अनुसार एक सय कोठालाई तयारी अवस्थामा राखिएको छ ।

ती स्थलमा उपयुक्त शौचालय, स्नानागार, भान्सा कोठादेखि उपयुक्त विस्तारासम्मको व्यवस्था मिलाउने काम भएको खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment