
६ असोज, काठमाडौं । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्राको नाम विवादमा आएपछि एकाएक काटिएको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी थिइन् ।
उनीसँगै मन्त्रीका लागि सिफारिस भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई राष्ट्रपति पौडलले सोमबार दिउँसो शपथ खुवाए । तर अन्तिम समयमा आएर डा. मिश्राको नाम भने काटियो ।
नवनियुक्त मन्त्रीहरूको शपथ आइतबार राति नै गर्ने तयारी थियो । तर, अकस्मात शपथ रोकियो । प्रधानमन्त्री कार्यालय स्रोत अनुसार नवनियुक्त मन्त्रीमा डा. मिश्राको नाम विवादमा परेपछि शपथको समय एकदिन पर सारिएको हो । प्रधानमन्त्री कार्कीबाट शपथ आजका लागि ‘होल्ड’ गर्न राष्ट्रपति कार्यालयलाई खबर गरिएको थियो ।
‘डा. मिश्राको नाम विवादमा आएपछि प्रधानमन्त्री कार्यालयबाट ‘होल्ड’ गर्नुभन्ने जानकारी प्राप्त भयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘ उहाँमाथि मेडिकल उपकरण खरिद लगायत अन्य फाइल पनि अख्तियारमा छानबिनकै क्रममा रहेकाले आज नाम काटिएको हो ।’
डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा कतिपय निर्णयमाथि परेको उजुरी विचाराधीन छ । खासगरी स्वास्थ्य उपकरण खरिदका निर्णयमाथिको फाइलमा अनुसन्धान चलिरहेको छ र टुंगिएको छैन ।
अख्तियारका एक अधिकारीले भने, ‘यो नितान्त आयोगको आन्तरिक विषय हो । मैले अनुसन्धानको विषयमा थप बोल्न मिल्दैन ।’
डा. मिश्राको नियुक्ति नहुनुको पछाडि ६ महिनाभन्दा लामो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएको विषयलाई पनि प्रमुखताका साथ हेरिएको छ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा डा. मिश्राले म्यामोग्राम मेसिनविनाको बक्सा मात्र हस्तान्तरण गरेर रकम भुक्तानी लिएको र मेडिकल उपकरण खरिदका अन्य फाइलबारे पनि अख्तियारले अनुसन्धान गरिरहेका कारण उनको नाम काटिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
त्यसैगरी ११औं तहमा नियुक्तिको समयमा लोकसेवा आयोगमा फर्जी विवरण पेस गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।
मन्त्री बन्ने भनेर अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् मिश्राले
स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।
उसो त उनी स्वास्थ्य सचिव हुन नपाएपछि ६ महिना बिदामा बसेकी थिइन् ।
जेनजी आन्दोलनका कारण स्वास्थ्य मन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औं तहकी अतिरिक्त सचिव डा. मिश्रा गत बिहीबार मात्रै मन्त्रालय फर्किएकी थिइन् ।
उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्ष २१ फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् ।
वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै असन्तुष्ट बनेकी डा. मिश्राले निरन्तर बिदा थप्दै ६ महिनासम्म बिदामा बसिन् ।
डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिसकेकी छिन् ।
स्वास्थ्य सचिव नियुक्त गर्दा वरिष्ठता मिचेर डा. देवकोटालाई सचिव बनाइएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि अहिलेसम्म सुनुवाइ भएको छैन ।
गत ८ जेठमा अनलाइनखबरले कहिले मन्त्रालय फर्किनुहन्छ भन्ने प्रश्नको जवाफमा उनले सरकारले गल्ती स्वीकार गरेर सम्मानजनक व्यवस्थापन गरे काममा फर्किने बताएकी थिइन् ।
‘सरकारले गल्ती गरेपछि केही व्यवस्थापन गर्यो भने ठीकै छ । भएन भने अन्य कुरा सोचौंला,’ उनले अनलाइनखबरसँग तीन महिना अगाडि भनेकी थिइन् ।
चिकित्सा सेवामा २०५७ सालमा सेवा प्रवेश गरेको र एक वर्ष काम गरेर जागिर छाडेकी थिइन् । त्यसपछि अध्ययन र निजी संस्थाहरूमा काम गरेकी डा. संगीता २०७० सालमा ११औं तहबाट फेरि स्वास्थ्य सेवाम प्रवेश गरेकी हुन् ।
कोरोना महामारीमा कोशी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेकी डा. मिश्राले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक र स्वास्थ्य विभागको महानिर्देशक बनिन् ।
स्वास्थ्य मन्त्रालयमा चतुर खेलाडीको रूपमा डा. मिश्रा चिनिन्छिन् ।
‘हिजो कर्मचारीको रूपमा मन्त्रालयमै हुनुहुन्थ्यो । ६ महिनासम्म बिदामा बसेर मन्त्रालयलाई पूरै असहयोग गर्नुभयो,’ मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘मन्त्री हुने संकेत मिलेपछि हाजिर भएको दुई दिनमा राजीनमा दिनुभयो ।’
ती उच्च अधिकारीका अनुसार डा. मिश्रामा बढी महत्त्वाकांक्षा देखिन्छ । ‘उहाँमाथि कतिपय प्रश्न उब्जिएका छन् । त्यसलाई छिनोफानो नगरी मन्त्रालयको नेतृत्व लिन जानु हुँदैनथ्यो’ ती अधिकारी भन्छन्, ‘यस्तो व्यवहारले स्वास्थ्य मन्त्रालय र उनी माथि हेर्ने दृष्टिकोण नराम्रो बन्न जान्छ ।’
प्रतिक्रिया 4