Comments Add Comment

लकडाउनमा फसेकालाई पशुपतिमा निःशुल्क भोजन

२४ चैत, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले लकडाउनमा फसेकाहरुको लागि निःशुल्क भोजनको व्यवस्था गरेको छ । कोरोना भाइसर (कोभिड–१९)को महामारीविरुद्ध सरकारले गरेको लकडाउनको समयमा बेखर्ची भएकाहरुको लागि दिनको एक पटक निःशुल्क भोजनको व्यवस्था गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

खाना खुवाउने बेला सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु बताउँछन् ।

पशुपति क्षेत्र भित्र १२ दिन अघिदेखि सुरु भएको सो भोजन वितरण कार्यक्रममा अहिले दैनिक औसतमा चार सय जनाले भोजन गर्ने गरेको डा.ढकालले जानकारी दिए । भोजन गर्नको लागि मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ ।

कोषले विभिन्न दाताहरुको सहयोगमा यो खानाको व्यवस्थापन मिलाएको हो । भोजनको व्यवस्था पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको सुमार्गी भवनको छेउमा गरिएको छ ।

ढकाल भन्छन्, ‘यसमा कोषले पनि पैसा खर्च गर्ने गर्छ । यस बाहेक पनि कहिले दाताहरुमध्ये कसैले दाल, कसैले चामल त कसैले अरु तरकारीहरु ल्याएर दिने गरेका छन् ।’

कोरोनाको जोखिम कम गर्न तीन फिटको दुरी समेत कायम गरिएको छ । साथमा त्यहाँ आउनेहरुले अनिवार्य साबुनपानीले मिचिमिची हात धोएर मात्रै प्रवेश पाउने गर्छन् । भोजनस्थल, शौचालय र त्यस वरपरको क्षेत्रमा बेला बेलामा डिस इन्फेक्सन स्प्रे पनि गरिने ढा. ढकाल बताउँछन् ।

भोजन वितरणको लागि सुनिल वैद्यलाई संयोजक तोकिएको छ । जसमा कोषका सदस्य राजु खत्री, कार्यकारी निर्देशक घनश्याम खतिवडा लगायतको समेत सहभागिता रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment