Comments Add Comment

बार्सिलोना, रियल र एट्लेटिकोलाई प्रशिक्षण दिएका एन्टिकको निधन

२५ चैत, काठमाडौं । स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडको पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनको तीन ठूला क्लबको प्रशिक्षण सम्हाल्ने उनी एक्ला व्यक्ति हुन् । ७१ वर्षको उमेरमा उनको सोमबार निधन भएको हो ।

सर्वियाका एन्टिकले एट्लेटिकोमा हुँदा ठूलो सफलता हात पारेका थिए । जहाँ उनले सन् १९९५/९६ को सिजन ला लिगा र कोपा डेल रे को उपाधि जितेका थिए । प्रशिक्षण करियर शुरु गर्नुअघि एन्टिकले स्लोबोदा उजिस, पार्टिजन बेलग्रेड, फेनरवाचे, रियल जारागोजा र लुटन टाउनलाई खेलेका थिए । सेन्टर ब्याकमा खेल्ने उनले युगोश्लाभियाका लागि समेत एक खेल खेलेका थिए ।

पार्टिजनमा सहायक प्रशिक्षकको रुपमा काम गरेपछि एटिकले सन् १९८८ देखि १९९० सम्म रियल जारागोजाबाट मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हाले ।

जारागोजालाई युइएफए कपमा पु¥याएपछि एन्टिन अल्फ्रेडो डे स्टेफानोलाई रिप्लेस गर्दै १९९१ मा रियल मड्रिडको प्रशिक्षक बने ।

शुरुमा उनको प्रशिक्षणमा रियल युइएफ कपमा छनोट भएको थियो । तर अर्को सिजन बर्खास्तीमा परे ।

त्यसपछि उनी रियल ओभिएडोमा दुई वर्ष प्रशिक्षक बने । पुनः एट्लेटिको मड्रिड फर्किएका उनले १९९५/९६ मा लिग र कप दुवै जिताए ।

सन् २००३ मा लुइ भान गाललाई बर्खास्त गरेपछि एन्टिक बार्सिलोनाको प्रशिक्षक बने । जहाँ उनको प्रशिक्षणमा बार्सिलोना सातौँ भएको थियो र युइएफए कपमा छनोट भएको थियो । त्यसपछि लगत्तै उनी सेल्टा भिगोको प्रशिक्षक बने ।

ला लिगामा चार क्लबको प्रशिक्षक बनेर छाडेपछि एन्टिक अन्तर्राष्ट्रिय  प्रशिक्षणमा लागे । सन् २००८ देखि २०१० सम्म उनी सर्वियाको प्रशिक्षक बनेका थिए । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा उनले सर्वियाको प्रशिक्षण सम्हालेका थिए । उक्त विश्वकपमा सर्विया समूह चरणबाटै आउट भयो । २०१० को सेप्टेम्बरमा उनी बर्खास्तीमा परे ।

यसपछि एन्टिकले चिनियाँ क्लब शान्दोङ लुनेङ र हेबेई फर्चुनको प्रशिक्षण सम्हाले ।

खेलाडी र प्रशिक्षक बाहेक एन्टिकले कमेन्टेटरको काम पनि गरे । उनले सेडेना एसइआर, कोपे र रेडियो मार्कामा कमेन्ट्रीको काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment