
२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएका नेपालीहरूलाई स्वघोषणा गरेर जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा जान आग्रह गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि विदेशबाट फर्किएकाहरूलाई सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो।
तेस्रो मुलुकसँगै भारतबाट ठूलो संख्यामा मानिसहरू आएका छन् । उनीहरूमध्ये केही मात्र क्वारेन्टाइनमा छन् भने कतिपय सरकारको सम्पर्कमा आएका छैनन् ।
मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रहलाई ध्यान नदिएकाले चिन्ता थपिएको बताएका छन् ।
उनले भने, ‘उहाँहरूलाई पुनः आग्रह छ, स्वघोषणा गरेर जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीको सम्पर्कमा जानुहोस् । तपाईंहरूको लापरवाही स्वयं तपाईंको परिवार र सिङ्गो समुदायका लागि निकै महँगो पर्नसक्छ।’
प्रधानमन्त्री ओलीले नेपाल–भारत सीमा नजिक आइपुगेका नेपालीहरूले भोग्नु परेको अप्ठ्यारोलाई सरकारले बुझेको बताए ।
सङ्क्रमणको जोखिमलाई न्यून गर्न अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता रहेको भन्दै उनले भने, ‘लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो ।’
उनकाअनुसार दुई हजार एक सय ४७ नेपाली भारततर्फ क्वारेन्टाइनमा छन् भने नेपालर्फ करिब सात सय भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
सीमा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर भित्र्याइने उनले बताए ।
प्रतिक्रिया 4