Comments Add Comment

काेराेनाबारे केही तथ्यहरू

अमेरिकी विश्वविध्यालय जोन हप्किन्सको कोरोना श्रोत केन्द्रका अनुसार अप्रिल ५ सम्ममा विश्वभर झण्डै १३ लाख व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमिता भैसकेका छन् । गत केही महिनामा कोरोनाले देखाएको चुनौती मानवजातिका अगाडि नि:सङ्कोच २१औँ शताब्दीकै सबैभन्दा ठूलो हो । सिङगापुरस्थित DUKE-NUS Medical School को सरुवा रोग विभागका प्रमुख डा लिन्फा वाङ्ले केही बर्षअघी नै दिएको भाइरल महामारी (pandemic) को चेतावनी हेर्दाहेर्दै आज वास्तविकता बनेको छ ।

कोरोना को सङ्क्रमण दर हेर्ने हो भने अझै धेरै अत्यासलाग्दो छ ।अमेरिका जस्तो विकसित देशमा पनि सङ्क्रमित सङ्ख्या हरेक ४-५ दिनमा दुगुना हुँदै छ । यद्यपि धेरैजसो सङ्क्रमित व्यक्तिहरु केही हप्तामै ठीक हुन्छन्, यो भाइरसको मृत्युदर पनि सानो छैन । विशेषगरी रोगका लक्षणहरु नदेखिएका व्यक्तिहरुबाट अन्जानमै पनि यो भाइरस अरुमा सर्न सक्ने भएकोले यसको रोकथाम अझै कठिन भएको छ । दर्जनौं देशहरु अनिश्चित कालका लागी बन्द हुँदा जनमानसमा मच्चिएको त्रास एकातर्फ छँदैछ, त्यसमाथि सामाजिक सन्जाल र कतिपय संचार माध्यमहरुमा फैलिरहेका कुतथ्यले कोरोनाको आतङ्क अझै बढाएको छ ।

एक गैरआवासीय नेपाली तथा क्यान्सरको उपचार चाँडो पत्ता लाउन खोज्ने अनुसन्धानमा समर्पित वैज्ञानिकका हैसियतले म यस लेखमार्फत सामान्य नेपाली जनतामाझ अद्यावधिक एवम् प्रमाणित सत्य-तथ्यहरु ल्याउन चाहन्छु । आशा राख्दछु कि विश्व्-प्रसङ्गको सफा चित्रण र जानकारी सबैमा भएपछि नेपालमा प्रारम्भिक चराणमै कोरोनाको रोकथाम गर्न सकिनेछ । लेख लामो छ तर कृपया पुरै पढ्नु होला । तपाईंलाई भएको जानकारिले तपाईंका परिवार र छिमेकी को बचावट हुन सक्छ ।

एक सिक्काका दुई पाटाझैं कोरोनाको प्रभावले मानव सौहार्दता र सहकारितका लुकेका बिउ नअङ्कुराएका होइनन् । सारा मानवजाति एकजुट भै नयाँ प्रविधिको विकासमा लागेको छ । आफ्नो समाज र विश्वप्रतिको नव-जिम्मेवारिको साथसाथै आफ्नो स्वास्थ्यको महत्वको बोध गराएको छ कोरोनाले । प्रदूषण घटेको छ, अनि अन्य विरुवा तथा पशुपन्क्षीका प्रजातिहरु पृष्ठभूमिमा फस्टाएका छन् ।

कोरोना तीव्र गतिमा दौडिरहेछ । अनुसन्धानकर्ताहरुका अनुसार पहिलो सङ्क्रमित बिरामी (Patient Zero) नोवेम्बर २०१९ मा सङ्क्रमित भएका थिए, तर जनवरी २०२० मा मात्रै विश्वलाई चिनियाँ सङ्क्रमणबारे जनकारी भएको थियो । चार महिना नपुग्दै १३ लाख जनालाई सारीसक्यो । हामीले चाँडै सुरु गरेनौं भने हाम्रो विशाल क्षती निश्चित छ, तर पहिले हाम्रो सङ्क्रमणको भयलाई पुनर्विचार गरौं । कोरोनाबारे तथ्यहरू अनलाइन छ्याप्छ्याप्ती पाइन्छन्, तर यस्तो गम्भीर परिस्थितिमा विज्ञहरुद्वारा प्रकाशित, आधिकारिक र निष्पक्ष जानकारीहरु पाउन अत्यन्त जरूरी छ ।

कोरोना कसरी सर्छ ?

पहिले भाइरससँग परिचित हौं । Covid-19 रोग नयाँँ कोरोना भाइरसका कारण लाग्ने रोग हो । यो एक व्यक्तिबाट अर्कोमा हाच्छ्युँ गर्दा अथवा खोक्दा निस्कने छिटाहरु मार्फत सजिलै सर्दछ, सङ्क्रमितबाट अरुको शरीरमा सोझै अथवा हातले छुँदा अथवा अन्य सतहहरु मार्फत । धातु र प्लास्टिकको सतहमा यो भाइरस केही दिनसम्म बस्न सक्छ । नयाँ प्रमाण अनुसार यो भाइरस सामान्य श्वासप्रश्वासमार्फत पनि हावामा (aerosol) केही घन्टासम्म बस्न सक्छ र बन्द कोठामा सँगै रहेको अर्को स्वस्थ  व्यक्तिमा सर्न सक्छ । सङ्क्रमणको सम्भावना भने सङ्क्रमित सँगको बिताएको समयअवधि र हावामा भाइरसको घनत्वमा भर पर्दछ । तर, यसबारे विवाद र थप अनुसन्धान जारी छ र आगामी दिनहरुमा अर्को निष्कर्ष पनि निस्कन सक्छ । जब यो भाइरस हाम्रो श्वास्प्रश्वास प्रणालीमा पुग्छ, त्यहाँ भएका कोशीकामा आफ्नो अणुवंश (DNA) प्रयोग गरी असंख्य अरु भाइरस बनाउन सक्छ । यसरी ‘कोशीका-अपहरण’ वा सङ्क्रमण भएको २ देखि १४ दिनसम्म रोगका लक्षणहरु देखिन सक्छन् । जब भाइरसका अणुहरुको चाप निकै बढ्दछ, कोभिड-१९ का लक्षणहरु ज्वरो, सुखा खोकी, र श्वास्प्रश्वासमा कठिनाता देखिन थाल्दछन् । भाइरसको बाहुल्यता बढ्दै गएमा निमोनिया पनि हुन सक्छ ।

लक्षण बिना नै सङ्क्रमण

सङ्क्रमितहरु मध्ये धेरैमा भने रोगका कुनै पनि लक्षण देखिदैनन, अथवा धेरै ढिला र विस्तारै देखिन्छन । यो भिन्नाता सङ्क्रमित व्यक्तिको उमेर, स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली (immune system) मा भर पर्दछ । आइसल्याण्ड देशबाट भर्खरै आएको एउटा तथाङ्कअनुसार कोरोना पोसिटिभ देखिएका १ प्रतिशतको आधा व्यक्तिमा कुनै पनि लक्षण देखिएनन् । यो तथ्य चिन्ताजनक छ, किनकि हजारौं स्वस्थ युवाहरुले जानीनजानी अस्वस्थ र विशेषगरी ६० भन्दा माथिका वृद्धहरुमा कोरोना भाइरस सार्न सक्छन् (asymptomatic transmission)। यो कुरा नेपाली समाजमा अझै सान्दर्भिक छ जहाँ ३ पुस्ता एकै घरमा बस्छन् । बिरामीको दिसा-पिसाबमा पनि केही मात्रामा भाइरस देखिएको भए पनि श्वास्प्रश्वास बाहेक अन्य माध्यमबाट (जस्तै आमाको दूध, विर्य वा वमन) भाइरस सर्छ कि सर्दैन भन्ने प्रश्नमा थप अनुसन्धान हुन बाँकी छ ।

परीक्षण, भ्याक्सिन र उपचार

कोरोनाको परीक्षण गर्ने प्रविधिमा भने तीव्र विकास भएको छ । उपचारका विकल्पहरुमा पनि आशाको किरण देखिएकै छ । PCR Based Genetic Testing प्रविधिले केही मिनेटदेखि केही दिनभित्रै नतिजा दिन सक्छ । Abbott Laboratories, USA द्वारा निर्मित एक प्रविधिले ५ मिनेटभित्र नाक र घाँटीमा कोरोना भाइरस पोजेटिभ नतिजा र १३ मिनेटभित्र नेगेटिभ नतिजा देखाउन सक्छ, जुन अमेरिकी अस्पतालहरुमा लागू भैसकेको छ । शीघ्र परीक्षण गर्ने क्षमताले रोग रोकथामका योजनाहरु बनाउन मद्दत गर्दछ । पीसीआर परीक्षण गर्ने उपकरणले कैलेकाँही त्रुटि पनि गर्न सक्छ । सङ्क्रमित व्यक्तिलाई नेगेटिभ (False Negative) देखाउन सक्छ । False Negative को परिणाम अति नै भयावह हुन सक्छ किनकि त्यसले सङ्क्रमित व्यक्तिलाई फेरि अरुमाझ ल्याउँछ । नेपाल र अफ्रिकी मुलुकहरुमा अति नै संवेदनशील (High Sensitivity) प्रविधिमा लगानी गर्न आवश्यक छ जसले कम त्रुटि गर्छन् ।

Cellex/ Mayo Clinic/ Stanford University, USA ले रगत परीक्षणको विकास गरेको छ।  जसले कोरोना भाइरसका antibody हरुको उपस्थिति लक्षण देखिएका (symptomatic) र नदेखिएका (asymptomatic) सबै बिरामीहरुको रगतमा पत्ता लाउन सक्छ । रगतमा भएका antibody हरुले भविष्यमा त्यही भाइरसको सङ्क्रमण्हरुबाट बचावट गर्छन् । त्यसैले Covid-19 बाट निको भैसकेका व्यक्तिहरुको रगतको plasma सिरियस बिरामीहरुमा प्रयोग गरेर उपचारात्मक प्रयोगमा ल्याइएको समेत छ । चीनमा भएको एउटा सानो परीक्षणमा plasma transfusion गरिएका ५ जनामध्ये ३ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने २ जना को स्तिथिति सामान्य छ । अन्य देशहरुमा ठुलो सङ्ख्यामा यो प्रविधिको प्रभावकारिताको जाँच हुने तयारी छ । सम्भावित vaccine हरुको परीक्षण पनि हुँदैछ, तर सामूहिक रुपमा विश्वभर vaccine चालु गर्न वर्षौं लाग्न सक्छ ।

रोगको उपचार खोज्ने क्रममा एचआईभि एड्स र इबोलाको लागि दिइएका औषधिहरु परीक्षण हुँदै छन् र कुनै सफल vaccine आउनु अगावै ती मध्ये कुनै औषधि Covid-19 का लागि प्रयोग हुन सक्ने सम्भावना जिवित भए पनि नेपालजस्ता तेस्रो मुलुकमा औषधिको आपूर्ति हुने सम्भावना फितलो छ ।

सामाजिक दूरी र लकडाउन 

भाइरसको त्रासमै गुजृरहेको अहिलेको समयमा सामाजिक दूरी कायम राख्नु नै सबैभन्दा सशक्त रणनीति हो ।अत्यावश्यक कामभन्दा बाहेक अरु कुराका लागी आफ्नो घरको परिधिबाट निस्कनु बुद्धिमानी देखिदैन । सान फ्रान्सिस्को र सिएटलजस्ता अमेरिकी शहरहरु उदाहरण छन् जहाँ पहिला चरणहरुमै सामाजिक दूरी अपनाइएको थियो र फलस्वरूप नयाँ सङ्क्रमण हुने दर निकै कम देखियो। अर्कोतर्फ न्यू योर्क सिटी जहाँ विशाल जन्-घनत्व र समयमै लक-डाउन नगरेर भाइरस छिटो-छिटो फैलिएको छ । स्पेन र इटाली जस्ता मुलुकहरुमा त झन् मृत्युदर १० देखि १२% (अमेरिकाभन्दा ४ देखि ५ गुना) देखिएको छ । केही चीनका शहरहरु भने संसारलाई आशावादी बनाउँदै प्रगतिपथतर्फ लम्केका छन् मुख्यत: गणित र तथ्यङ्कशस्त्र विश्लेषण मार्फत । वुहान शहरबाट १०० किलोमिटर जति टाढा रहेको छियान्जियाङ नामक एक ठूलो शहरले जनवरी १७ देखिनै लकडाउन सुरु गरेपछि चीनका बाँकी शहरभन्दा निकै कम सङ्क्रमण देखिएको थियो ।

अरु देशहरुका गल्तिबाट निश्चय नै हामी धेरै पाठ सिक्न सक्छौं । सरकारले गर्न सक्ने कुराहरु सिमित मात्र छन् । हामी जनता स्वयंले यो लडाइ लड्न नसके विजय सम्भव छैन । त्यसैले हामी सबैमा कोरोना भाइरस सङ्क्रमणको गति र त्यसको गम्भीरता को आभाष हुनु अत्यन्त जरूरी छ । एक जना सङ्क्रमित व्यक्तिले औसतमा जती जनालाई रोग सार्न सक्छ, त्यो सङ्ख्यालाई महामारी विज्ञानको भाषामा Basic Reproductive Number अथवा R0 भनिन्छ । उदाहरण्का लागि २००३ को SARS रोगको R0 मान २.७५ थियो र लकडाउन पछि केही महिनामै एकभन्दा तला झरेको थियो । कोरोनाको R0 मा अझै अनुसन्धान हुँदै भए पनि SARS भन्दा धेरै बढी हुने वैज्ञानिक सहमति छ, त्यसैले सामजिक दूरी कायम राख्न हामिले अझै धेरै अनुशासित हुनुपर्ने देखिन्छ ।

अरु सरुवा रोगहरुका दाँजोमा कोरोनाको सर्ने दर निकै नै धेरै र सर्ने तरिका पनि सजिलो भएकोले नेपाल जस्ता परीक्षणको अभाव भएका धेरै देशमा आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी सङ्क्रमित भैसकेका हुन सक्छन् र लकडाउन अवज्ञा धेरै भएको भए त झन् हजारौंको सङ्ख्या मा । त्यसैले सबै नागरिकहरुले आफ्नो जिम्मेवारी पूरा गर्दै राज्यले लागू गरेको लक्डाउन पालना गर्न नसके यो युद्ध महिनौंसम्म लम्बिन सक्छ । सरकारले पनि एस्तो जटिल समयमा जनाताको विश्वास जित्न पूर्ण पार्दर्शीता अपनाउन जरूरी छ ।

दैनिक ज्यालामा बाँच्ने मजदूरलगायत निम्न आम्दानीका परिवारहरुलाई लक्डाउनले आर्थिक समस्या ल्याउन सक्छ, र अहिले उनिहरुलाई सकेसम्म राहत पुर्‍याउनमा सरकारको ध्यानाकर्षण पनि हुनै पर्छ । चीन र भारतसँगको विदेश नीति र आवश्यक सहयोगको आपूर्ति पनि अहिलेका समयमा महत्वपूर्ण रहनेछ । कोरोना राहतका लागि प्राप्त अनुदानलाई सही ठाउँमा सदुपायोग गर्न सञ्चार र माध्यमको पनि अहम् भूमिका हुनेछ । सामाजिक व्यवस्था कायम राख्न सरकारले आफ्ना नागरिकहरुमा कडा निगरानी पनि राख्नु पर्ने हुन सक्छ । कुनै मुलुकहरुमा drone camera , contact tracing तथा geolocation tracking पद्दतिहरु समेत अपनाइदै छन् । हामी सबैको सामूहिक भलाइका लागि त्यस कदमलाई सकारत्मक रुपले हेर्न सक्नुपर्छ ।

अन्तत: ,चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु महमारीको समयका सैनिक हुन् । तीनलाई हामी सबैबाट माया र सद्भाव मिल्नु पर्छ र राज्यले पूर्णतया आवश्यक सुरक्षा सामग्री को व्यवस्था गर्नुपर्छ ।

लकडाउन र मानसिक स्वास्थ्य

महामारीका बेला सबैले व्यवस्ता गरेको एक महत्वपूर्ण पक्ष भनेको हामीमाथिको मनोविज्ञानिक प्रभाव हो । दिनभर घरमै बस्नुपर्ने बाध्यता, एक्लोपना,आर्थिक दबाबमाझ निरन्तर खबरहरुको प्रवाहले तनाव बढ्नु स्वभाविकै हो । हामीमध्ये धेरैजसो कोरोनाका प्रत्यक्ष शिकार नबनौंला तर यसले निम्त्याउने भावनात्मत कठिनाइका शिकार बन्न सक्छौं । यसबेला हाम्रो पूर्वी सभ्यताले लामो समयदेखि अभ्यास गर्दै आएका अध्यात्मवादलाई गुहार्न सक्छौं, विशेष गरी योगा र ध्यानलाई । आधुनिक विज्ञानले पनि मस्तिष्कको चित्रण गरेर ध्यान गर्नुका अचूक फाइदाहरु भएको पुष्टि गरेको छ । ध्यान गर्न कुनै विशेष स्थान पनि चाहिँदैन, जहाँ बसेर पनि गर्न सकिन्छ । ध्यानले हाम्रो तनाव नियन्त्रण गर्नुका साथै हामिलाई अनावश्यक अत्यासबाट पनि मुक्त गराउँछ र शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ, र सबैभन्दा महत्वपूर्ण कुरा शरीरको रक्षा प्रणालीलाई मजबुत बनाउँछ ।

लक्डाउनको कुनै सकारात्मक पक्ष छ भने त्यो हो हामीमा यसले मानव मुल्य र मान्यताहरुको चेतना जगाउँछ । हाम्रो अहमलाई शान्त गराउँछ र हामिलाई एकजुट बनाउँछ ।

केही महिनामा कोरोनाभाइरस सुस्ताउला पनि, अथवा सामान्य मौसमी बिमारी भएर निस्केला। तर अहिलेको वास्तविकता यही हो र यसलाई स्वीकार गरौं । सबै मिलेर सामाजिक दुरीको अभ्यास गरौं । सबैले सँधै सुन्दै आएको २० सेकेन्ड साबुन पानीले हात धुन र उपयुक्त ठाउँमा मास्कको प्रयोग गर्न नबिर्सौं । २१औं शताब्दीको आधुनिक प्रविधिको सदुपायोग गर्दै सामाजिक बनौं । आउने पिँढीहरुका लागि उदाहरण बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment