
२६ चैत, विराटनगर । ओखलढुंगाको बेतनी नगरपालिकाबाट चैत १० गते ढककुमारी धमला काम खोज्दै मधेस झरिन् । छोरा–छोरीको परीक्षा सकिएका कारण एक महिना काम गर्न पाइने आशामा १२ वर्षीया छोरी संगीता र ८ वर्षीय छोरा संगीतलाई लिएर ४० वर्षीया ढककुमारी धरान आइन् ।
घर चलाउन उनले साहुको ऋण लिएकी थिइन् । त्यसैले ऋण तिर्ने पैसा कमाउन मधेस झर्दै गर्दा उनलाई कोरोना भाइरसको चर्चा चलेको जानकारी थिएन । तर धरान झरेको भोलिपल्टै देश लकडाउन भयो । श्रम गरेर साहुको ऋण तिर्ने उनको सपना पनि पूरा हुन पाएन ।
लकडाउन खुल्छ र घर जान पाइएला भन्दै उनी केही दिन आफन्तकोमा बसिन् । तर लकडाउन खुल्ने त कहाँ हो कहाँ झन् लम्बिँदै गयो । अझै पनि लकडाउन कहिले खुल्छ ठेगान छैन ।
दुई छोरा–छोरीसहित आफन्तको घरमा कति दिन बसिराख्नु ? धेरै दिन बसिरहँदा आफन्तले अप्ठ्यारो मान्ने हुन् कि भन्ने ठानेर उनी बोरामा आफ्ना सामान बोकेर सडक पेटीमा आइन् ।
मंगलबारयता भने उनी इटहरीको विराटनगरलाइन राधाकृष्ण मन्दिरको धर्मशाला बाहिर बसिरहेकी छन् । खर्च नभएकाले खाना खान पनि नपाएको उनको भनाइ छ । ‘बेलुकासम्म त खाजा थियो, बुधबार बिहानदेखि भोकै छौं,’ उनले भनिन्, ‘घर जान नपाए, कतै बस्न र खान पाए हुन्थ्यो ।’
अपरिचित भएकाले कसैले बास नदिएको बताउँदै उनले भनिन्, ‘छोरा–छोरीसँगै धर्मशाला बाहिरै रात कटाइयो । ओढ्ने–ओछ्याउने नभएकोले रातभरि मच्छड (लामखुट्टे)ले टोक्यो ।’
प्रतिक्रिया 4