Comments Add Comment

कोरोनाले विश्वभरका सवा एक अर्बको रोजगारी संकटमा

२६ चैत, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीले मानव जीवनका सबै अङ्ग-प्रत्यङ्ग प्रभावित बनाएको छ । यसमध्ये पनि सबैभन्दा ठूलो संकट सिर्जना भएको छ, रोजगारीको क्षेत्रमा ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर सवा एक अर्ब मानिसको रोजगारी प्रभावित हुने जोखिम औंल्याएको छ । उनीहरुमध्ये धेरैको तलब कटौती हुने र कतिले रोजगारी नै गुमाउने आईएलओको आकलन छ ।

मंगलबार सार्वजनिक गरिएको नयाँ अध्ययनको प्रतिवेदनमा आईएलओले विश्वभरका एक अर्ब २५ करोड मानिसको रोजगारी, तलब र कम गर्ने समयमा कटौती हुनसक्ने भविष्यवाणी गरेको हो । साथै, धेरै मानिसलाई कम तलब दिइने र क्षमताभन्दा तलको रोजगारी दिनसक्ने प्रतिवेदनमा उल्लेख छ ।

क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै जोखिम अमेरिकाको रोजगारीमा देखिएको छ । प्रतिवेदनअनुसार अमेरिकाको ४३ प्रतिशत रोजगारीमा समस्या आउन सक्नेछ । अफ्रिकामा भने २६ प्रतिशतमा मात्र यो अवस्था आउने बताइएको छ ।

‘तर, अफ्रिकामा अनौपचारिक क्षेत्र धेरै भएकाले विभिन्न किसिमका आर्थिक र सामाजिक चुनौतीहरु थपिने छन्,’ प्रतिवेदनमा भनिएको छ ।

विश्वभर दुई अर्ब मानिसहरु अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरुमध्ये धेरैजसो उदीयमान र विकासशील अर्थतन्त्र भएका मुलुकमा छन् । उनीहरुको रोजगारी गुम्ने वा तलब कटौती हुने जोखिम उच्च रहेको आइएलओको निस्कर्ष छ ।


आईएलओको प्रतिवेदनले अहिले विश्वभर पूर्ण वा आंशिक रुपमा लगाइएको लकडाउनको कारण करिब दुई अर्ब ७० करोड कामदारहरु प्रभावित भइरहेको उल्लेख गरेको छ । यो संख्या विश्वको समग्र जनशक्तिको ८१ प्रतिशत हो ।

प्रतिवेदनले औंल्याएका महत्वपूर्ण तथ्यहरु

–  विश्वभरका व्यवसायले उल्लेख्य मात्रामा नोक्सानीको सामना गर्नु पर्नेछ । यसले उल्लेख्य कर्मचारीको तलबमा कटौती हुन सक्ने र उनीहरुलाई बिदा दिइन सक्नेछ । सबैभन्दा ठूलो जोखिम अनौपचारिक क्षेत्रमा काम गर्ने कर्मचारीमा छ ।

– अहिले पनि धेरै मुलुकमा कर्मचारी कटौतीको काम सुरु भइसकेको छ । अन्य तथ्यांक उपलब्ध नभए पनि काम गर्ने समयमा परिवर्तन आएसँगै यसले कर्मचारी कटौती वा अस्थायीरुपमा काम गर्ने समयमा कटौतीलाई संकेत गरेको छ ।

– विश्वभर काम गर्ने समय (वर्किङ आवर) सन् २०२० को दोस्रो त्रैमासमा ६ दशमलव ७ प्रतिशत घट्न सक्नेछ । यो कटौती १९ करोड ५० लाख फुल टाइम कर्मचारी कटौती बराबर हो ।

– अधिकांश रोजगारीमा कटौती तथा वर्किङ आवर घटाउने काम भाइरसको कारण सबैभन्दा प्रभावित क्षेत्रहरुमा हुनेछ । भाइरसको कारण उच्च जोखिम देखिएका क्षेत्रमा अहिले एक अर्ब २५ करोड कर्मचारी काम गर्छन् । यो संख्या विश्वको समग्र जनशक्तिको ३८ प्रतिशत बराबर हो, जसमा व्यापार, खाद्यान्न सेवा र उत्पादनमूलक क्षेत्र लगायतका क्षेत्र छन् ।

– विशेषगरी कमजोर र मध्यम आय आएका मुलुकको सबैभन्दा प्रभावित क्षेत्रमा अनौपचारिक कामदारहरु धेरै छन् । साथै, उनीहरुको स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा पहुँच पुगेको छैन।

यस्तोमा उनीहरुले आगामी दिनमा गरिबीको सामना गर्नुपर्ने र सामान्य जीवनमा फर्किन ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment