Comments Add Comment

कट्टा हुने भयो प्रहरीको तलब

२६ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने भएको छ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने उद्देश्यले नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाले रकम जम्मा गर्न निर्देशन दिएको हो ।

कोरोना रोकथामका लागि लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त भत्ताको घोषणा गरेका बेला प्रहरी प्रधान कार्यालयले तलब कट्टा गर्ने निर्णय गरेको जनाइएको छ ।

आर्थिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाद्वारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कोषमा जम्मा गर्नुपर्ने भनिएको छ ।

कसको तलब कति काटिन्छ ?

जम्मा गरिएको रकमको भौचर प्रतिलिपि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय वा प्रदेश प्रहरी कार्यालयमा संकलन गरी आर्थिक महाशाखामा बुझाउन भनिएको छ । पत्रमा बैशाख महिनाको तलबबाट कोषमा रकम जम्मा गर्न भनिएको छ ।

पत्रमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) ले तीन दिन, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) ले पाँच दिन, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) ले ७ दिनको तलब कट्टी गरी कोषमा दाखिला गर्नुपर्ने भनिएको छ ।

जसअनुसार असईले दुई हजार छ सय ५८, सईले दुई हजार आठ सय २० रुपैयाँ कोषमा दाखिला गर्नुपर्नेछ । इन्स्पेक्टरले छ हजार, डीएसपीले छ हजार सात सय ३० र एसपीले सात हजार दुई सय ४५ रुपैयाँ जम्मा गनुपर्ने भनिएको छ । एसएसपीले ११ हजार ५३, डीआईजीले ११ हजार ९ सय, एआईजीले र आईजीले १४ हजार १ सय ६१ रुपैयाँ जम्मा गर्नुपर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment