Comments Add Comment

युएईमा नेपाली महिलाको मृत्यु, यतै अन्त्येष्टि गरिने

२७ चैत, युएई । संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । रुपन्देही देवदहकी विनु पराजुलीको मृत्युको कारणबारे अझै प्रष्ट छैन ।

बरदुवईको अल रफ्फा प्रहरी चौकीले उनको मृत्युको कारणमा कोरोना भाइरस उल्लेख गरेको छ । तर दुवईकै अल रसिद अस्पतालले उनको मृत्युको कारणमा ‘नयाँ केस’ उल्लेख गरेको छ ।

उनको गत शुक्रबार नै मृत्यु भए पनि अस्पतालले गत सोमबार मात्र जानकारी दिएको हो । उनको मृत्युबारे नेपाली दूतावासले समेत कुनै जानकारी नआएको बताएको छ । दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले पराजुलीको मुत्युको कारणबारे भने आधिकारिक जानकारी नआएको  अनलाइनखबरलाई बताइन् । युएईमा कोरोना संक्रमित ११ जना नेपालीको सुचीमा पराजुलीको नाम थिएन ।

कसरी भयो मृत्यु ?

पराजुली १० वर्षदेखि दुवईमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । गएको बिहीबार राति स्वास्थ्यमा समस्या देखिन थाल्यो । सँगै रहेका श्रीमान डोलराज र नाताले दिदीको छोरा पर्ने हेमराज भण्डारीलाई जानकारी गराइन् ।

बिहीबार नेपालमा समेत परिवारका सदस्यसँग कुरा गरेर सुतेकी उनमा मुटु र पेट दुख्ने समस्या देखिन थाल्यो । शुक्रबार अबेरसम्म नउठेपछि उनलाई दुवईको रसिद अस्पताल पुर्‍याइएको थियो । तर अस्पतालले उनलाई मृतक घोषणा गर्‍यो । उनी पर्यटक भिसामा युएई आई भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन् ।

यतै अन्त्येष्टिको गर्ने तयारी

कोभिड १९ का कारण अहिले नेपाल र युएई दुवैतर्फका हवाई उडान ठप्प छ । त्यसकारण पनि उनको शव नेपाल लगेर अन्त्येष्टि गर्न सक्ने अवस्था छैन । उनका श्रीमान यतै भएकाले उनको अन्त्येष्टि यहीँ गर्न नेपाल एसोसिएसनले नेपाली दुतावास र यहाँको निकायसँग समन्वय गरिएको छ ।

उनको युएईमै अन्त्येष्टिका लागि समन्वय गरिदिन देवदह नगरपालिकाले समेत दुतावासलाई आग्रह गरेको छ। नगपालिकाले दुतावासलाई सम्बोधन गरेर पठाएको पत्रमा युएईको कानुन बमोजिम श्रीमान डोलराजको रोहवरमा उनको अन्त्येष्टि गरिदिन उल्लेख गरिएको छ ।

यसका लागि नेपाल एसोसिएसनले समेत समन्वय गरिरहेको म्यानेजिङ डाइरेक्टर रमेश श्रेष्ठले जनाए । साथै मृतक परिवारलाई क्षतिपुर्ति दिलाउन रोजगारदातासँग पहल भइरहेको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment