Comments Add Comment

‘शताब्दी यताकै ठूलो आर्थिक संकुचन, १७० देशमा प्रतिव्यक्ति आय घट्छ’

२७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२० मा विश्व अर्थतन्त्रमा शताब्दीयताकै ठूलो आर्थिक संकुचन देखिने चेतावनी दिएको छ ।

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएभाले सन् १९३० को दशकमा देखिएको आर्थिक संकुचन पछिकै ठूलो संकुचन आउनसक्ने चेतावनी दिएकी हुन् । सन् २०२१ मा भने विश्व अर्थतन्त्रमा केही सुधार हुन सक्ने उनको भनाइ छ । केही सातामा नै कोरोना भाइरस (कोभिड–१९)ले कारण विश्वको सामाजिक र आर्थिक क्षेत्रमा ठूलो असर पारेको जोर्जिएभाले बताइन् ।

उनकाअनुसार अहिलेसम्म विश्वभरका सरकारहरुले ८० खर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरिसकेको छ । तर यसलाई अझै बढाउनुपर्ने उनले बताएकी छिन् ।

उनकाअनुसार कोरोनाको धेरै असर दीयमान बजार र विकासशील मुलुकमा पर्नेछ । त्यस्ता मुलुकहरुलाई अर्बौं डलरको विदेशी सहयोग आवश्यक पर्न सक्ने अनुमान छ ।

आईएफकी प्रमुखले यसवर्ष विश्वका एक सय ७० मुलुकका मानिसको प्रतिव्यक्ति आय घट्न सक्ने बताएकी छिन् । जबकी तीन महिनाअघि मात्र आईएमएफले एक सय ६० मुलुकका मानिसको प्रतिव्यक्ति आय बढ्ने अपेक्षा गरेको थियो ।

यस वर्षको पछिल्लो छ महिनामा यो महामारी साम्य भए सन् २०२१ मा अर्थतन्त्रमा केही सुधार आउनेछ । तर अवस्था अझै खराब बन्न सक्ने जोर्जिएभाको भनाइ छ । आईएमएफले आगामी मंगलबार विश्वको आर्थिक प्रक्षेपण सार्वजनिक गर्नेछ ।

जोर्जिएभाका अनुसार अहिले कोभिड–१९ को महामारीले विकसित र अल्प विकसित मुलुकहरु प्रभावित बनिरहेका छन् । तर कमजोर स्वास्थ्य प्रणालीको कारण अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका मुलुकहरु धेरै प्रभावित बन्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment